ठाउँ–ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्णकदको तस्बिर अंकित फ्लेक्स राखिएका छन्। सहरभरी सुनिने गरी माइक जडान भएको छ। ती माइकहरुबाट बिहानैदेखि ‘स्वदेश गान’ घन्किरहेका छन्। छिनछिनमै आमसभामा भेला हुने आग्रह पनि माइकमा गुन्जिन्छ।
प्रदेश १ को राजधानी विराटनगरमा देखिएको यो तामझामले कुनै ठूलै राष्ट्रिय दिवस मनाउने तयारीको झल्को दिन्छ।
प्रधानमन्त्री ओली पक्षधर नेकपाले विराटनगरमा आयोजना गरेको आमसभास्थलमा उनले हात उठाएको फोटो राखिएको छ, जहाँ गएर मन्त्रीदेखि कार्यकर्तासम्मले उनलाई नमस्कार गरेका तस्बिरले सामाजिक सञ्जाल भरिएका छन्।
मन्च उस्तै भव्य बनाइएको छ। विराट नर्सिङहोम नजिकैको खुला ठाउँमा बनेको मन्चमा केही थान सोफा र धेरै कुर्सी राखिएका छन्। हँसिया हथौडा, सूर्य अंकित पार्टीको झण्डा र चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा पनि ठूलो संख्यामा राखिएका छन्।
अहिले ११ बजे श्री एयरको विमानबाट प्रधानमन्त्री ओली यही कार्यक्रमलाई सम्बोधन गर्न विराटनगर आउँदैछन्। संघीय सरकारका अधिकांश मन्त्रीहरु, प्रदेश सरकारका मन्त्रीहरु कार्यक्रमस्थलमा खटिरहेका छन्। ठूलो संख्यामा परिचालित स्वयमसेवकका टाउकामा सुर्य चिन्हभित्र ओलीको तस्बिर अंकित क्याप छन्। ‘ल तयारी भव्य रहेछ’, केहीबेर अघि मात्रै कार्यक्रमस्थलमा आइपुगेका पर्यटनमन्त्री भानुभक्त ढकालले कार्यकर्तासँग भने। उनैले त्यहाँ उपस्थित कार्यकर्तालाई प्रधानमन्त्री ११ बजे आउने जानकारी दिए।
यो आमसभामा १ लाख ३६ हजारभन्दा बढी सर्वसाधारण सहभागी हुने नेकपा ओली समूहका प्रदेश १ अध्यक्ष देवराज घिमिरेले दाबी गरेका छन्। कम्तीमा १५ सय गाडीले मान्छे आ्ेसार्ने उनको भनाइ छ। आज हुन लागेको कार्यक्रममा सरकारी कोष प्रयोग नभएको उनको दाबी छ। उनले सेतोपाटीसँग भनेका थिए ‘खर्च कार्यकर्ताबाट उठाउने हो, गाडी सित्तैमा, तेल सित्तैमा माग्ने हो।’ नजिकै आएको चुनावका लागि तयारी स्वरुप यो कार्यक्रम गरिएको उनको भनाइ छ। त्यस्तै अस्थिरता र विखण्डनविरुद्ध पनि जनता सूचित गर्न कार्यक्रम जरुरी भएको उनको दाबी छ।
काठमाडौंको नारायणहिटी गेटदेखि बुटवल हुँदै विराटनगरसम्मको प्रधानमन्त्रीको आमसभामा जतिसक्दो धेरै मान्छे भेला गर्ने, भेलालाई आकर्षक र भव्य तुल्याउने होड नै चलेको छ। राजनीतिशास्त्रका अध्येता प्राध्यापक कृष्ण पोखरेल यसलाई नेताको अनावश्यक देवत्वकरणको संज्ञा दिन्छन्। ‘यतिबेला प्रधानमन्त्री र उनको समूह कार्यक्रम, योजना र नीतिविहीन अवस्थामा छ’, पोखरेलले सेतोपाटीसँग भने ‘यस्तोबेलामा नेताको ग्लोरिफिकेसन अनिवार्य जस्तै हुन्छ। अहिले त्यही भएको हो।’
सम्बन्धित समाचार:
विराटनगरमा प्रधानमन्त्रीको आमसभा तयारी गर्नेहरू भन्छन् - १५ सय गाडी प्रयोग गर्छौं, तेल सित्तैमा माग्छौं