प्रधानमन्त्री केपी शर्मा ओली जस्तोसुकै प्रतिकूलतामा पनि आत्मविश्वासपूर्वक बोल्ने नेताका रुपमा चिनिन्छन्। शनिबार विराटनगरको आमसभामा आफू डराएको सन्देश पनि उनले आत्मविश्वासी शैलीमै दिए।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधिन मुद्दाको बहस सकिएलगत्तै प्रदेश १ को राजधानी आएर उनले आफ्नो कदम सदर नगर्न ‘सेटिङ’ भइरहेको हुनसक्ने मात्रै बताएनन्, प्रधानमन्त्रीले आन्दोलनकै चेतावनी पनि दिए।
सर्वोच्च अदालतसँग ओलीको ‘सेटिङ’ रहेको भन्दै आशंका धेरैले गरिरहेका बेला प्रधानमन्त्रीले नै ‘सेटिङ’को चिन्ता गरेका हुन्।
‘चुनाव हुने निश्चित छ, म सबैलाई आत्मविश्वासी बन्न आग्रह गर्छु,’ सभास्थलमा समर्थकमाझ उनले भने, ‘यदि कुनै किसिमको जालझेल, सेटिङ, तिक्डम गरेर देश र जनताको विपक्षमा फैसला हुन्छ भने त्यसका विरुद्ध फेरि पनि आन्दोलन हुनेछ।’
चुनाव जनताको इच्छा भएको र त्यो चुनावमा आफैंले जित्ने उनको दाबी थियो। आफूले जित्ने दाबी गरेका ओलीले कसैले दायाँ-बायाँ गर्नै नपाउने दाबी पनि गरेका थिए।
शनिबार १२ बजे नै विराटनगर आइपुगेका ओली कार्यक्रमस्थलमा ढिलो आइपुगेका थिए। त्यसअघि बोल्दै नेता सुवास नेम्वाङले प्रधानमन्त्रीले कुनै नयाँ सन्देश ल्याउने बताएका थिए।
सरकारको सुशासन र विकासको बाटोमा अवरोध सिर्जना भएपछि चुनावमा जाने निर्णय लिएको भन्दै प्रधानमन्त्री ओलीले चुनाव आफ्नै दलले जित्ने जिकिर गरे। उनले भने, ‘अवरोधहरू पन्छाएर अगाडि बढिन्छ, काग कराउँदै गर्छ पिना सुक्दै जान्छ।’
सरकारलाई अवरोध गर्नेहरू पार्टी छोडेर हिँडेपछि मात्र सरकारले जनताको पक्षमा काम गर्न पाएको भन्दै उनले त्यसपछि मात्र आयोगहरू गठन गर्न सम्भव भएको बताए।
आयोग गठन गरेर सुकुम्बासीहरूलाई भूमि उपलब्ध गराउने तयारी गर्दा प्रचण्ड-माधवकुमार नेपालहरूले नेपाल बन्द गरेको आरोप लगाए।
उनले सरकार आधुनिक प्रविधिको विकास गर्न ध्यान दिइरहेको भन्दै वादप्रतिवादमा अल्झिन जरुरी नरहेको उनले बताए। प्रचण्ड र माधवकुमार नेपालको विरोधमा लामै समय खर्च गरेका प्रधानमन्त्री ओलीले सिद्धिसकेका प्रचण्डलाई आफूले सिङ र जुरो हालिदिएको बताए। उनले भने, ‘मैले जुरो हाल्दिएँ, जुरो ठूलो भएको सुहाएन भनेर लामो सिङ पनि हाल्दिएँ। तर, त्यसपछि उनको ताकत बढेछ। तर, उनलाई अब असफलता बाहेक केही हात लाग्देन। उनको नियति असफलताबाहेक केही छैन।’
उनले प्रचण्डलाई फर्केर आउन र चुनावमा सहभागी हुन आग्रह गर्दै उनले नत्र ‘राम भन्न मात्र सकिन्छ’ भने।
प्रधानमन्त्री ओलीले व्यङ्ग्य गर्दै भने, ‘प्रचण्डलाई पहिले वैद्यले छोडे डाक्टरलाई च्यापे, डाक्टरले पनि छोडे अहिले उहाँलाई झाँक्रीको मात्र सहयोग छ। झाँक्रीले बचाउन सक्नेवाला छैन।’