अविश्वासको प्रस्तावमा छलफल हुने भएपछि प्रदेश १ मा ओली समूहले आजको संसद बैठक बहिष्कार गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री शेरधन राई र सरकारका मन्त्री एवं केपी ओली निकट सांसदहरू आज बस्ने भनिएको प्रदेश एकको प्रदेश सभा बैंठकमा उपस्थित नहुने निर्णय गरेका छन्।
यस्तै सत्ता पक्षले आजको बैठकमा उपस्थित नहुनेबारे लिखित राय संसद सचिवालयमा दर्ता गराउने निर्णयसमेत गरेको छ। अहिलेकाे परिवेशमा संसद चल्न नसक्ने निर्णय निकाल्दै बैठकमा नजाने निर्णय गरेका हुन्।
आइतबारका लागि बोलाइएको प्रदेश सभा अघि मुख्यमन्त्री शेरधन राईले मन्त्री र आफू निकट सांसदलाई बोलाएर यस्तो निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए।
‘सरकारले निर्णय गरेरै आजको बैठकमा नजाने भएको हो’, उनले भने,‘यो छलफलबाट मुख्यमन्त्रीले कारबाही गरेका १६ जना सांसदलाई निलम्बन गर्न सभामुखलाई पुनः पत्राचार गर्ने पनि निर्णय भएको छ।’
सभामुख प्रदीपकुमार भण्डारीले यसअघिनै मुख्यमन्त्रीले सांसद निलम्बन गरिनु नियम संगत नभएको बताएका थिए।
आइतबार मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वसाको प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो।
यससअघि आजको संसद् बैठक रोक्न सभामुख प्रदीपकुमार भण्डारीलाई मुख्य मन्त्री राईले दबाब दिएका थिए। आजै बिहान भएको छलफलमा मुख्यमन्त्री राईले यस्तो दबाब दिएका हुन्। तर सभामुखले भने अस्वीकार गर्दै कार्यसूचीसमेत प्रकाशन गरेका थिए।
मुख्यमन्त्रीले बैठक रोक्न र अविश्वास प्रस्ताव खारेज गर्न सभामुखलाई दिएको दबाब नमानेपछि सरकारले यस्तो विकल्पको खोजी गरेको हो।
मुख्यमन्त्री पक्षले प्रदेशसभा अवरोध गर्दै आएको छ। यसलाई विपक्षी दलहरुले सरकारको आयु लम्ब्याउने प्रयास भएको बताएका छन्।
आज दुई बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक अझै सुरू भएको छैन। यसअघि माघ २५ को बैठकमा अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची थियो। सरकारी पक्षका सांसदको अवरोध भएपछि सभामुखले १४ दिन संसद् स्थगन गरेका थिए। त्यसयता मुख्यमन्त्रीले अविश्वास प्रस्ताव खारेज गर्न सभामुखलाई दबाब दिनेदेखि नेकपाको प्रचण्ड नेपाल पक्षलाई प्रस्ताव फिर्ता लिन अनुनय गरेका थिए।
तर, सभामुख र अर्को पक्षले मुख्यमन्त्रीको प्रस्ताव नमानेपछि बैठकमा सरकारी पक्षले अवरोध गर्दै आएको छ।