पोखराको जिरो किलोमिटरमा सोमबार विवेकशील साझा पार्टीका युवाहरू जम्मा भए।
उनीहरूले हरेराम, हरेकृष्ण लेखिएको पहेंलो वस्त्र ओढेका थिए।
ती युवाहरूले बाँसमा एउटा सांकेतिक शव राखे। जमिनबाट शव उठाएर काँध हाल्नासाथ प्रहरीले उनीहरूलाई हस्तक्षेप गर्यो।
त्यो शवमा उनीहरूले संसदको हत्या भयो, लोकतन्त्रको हत्या भयो, दुई तिहाइको सरकारको हत्या भयो, जनताका आशा र भरोसाको हत्या भयो जस्ता नारा लेखिएको पम्प्लेट टाँसिएका थिए।
प्रहरीले शव बोक्न नदिने भनेपछि पार्टीका गण्डकी प्रदेश सदस्य अशोक खड्काले आफुहरु शान्तिपूर्ण कार्यक्रम गर्न लागेको भन्दै हस्तक्षेप नगर्न प्रहरीलाई आग्रह गरे।
‘हामी प्रधानमन्त्री मुर्दावाद भन्दैनौं, शान्तिपूर्ण रुपमा शवयात्रा गर्न दिनुस्,’ खड्काले प्रहरीलाई भने, ‘हामी यहाँबाट पृथ्वीचोक पुगेर कोण सभा गरेर समापन गर्छौं, यो शव जलाउँदैनौं।’
तर, प्रहरी मान्दै मानेन। युवाहरूले शव उठाएर काँधमा राख्ने वित्तिकै प्रहरीले शव खोसे। ‘माथिको आदेश छ, यो लैजान पाइँदैन,’ प्रहरीले आन्दोलनकारीलाई भने।
शव खोस्न खोज्दा प्रहरीले युवाहरूलाई धकेले, लछारपछार पारे। जसरी पनि शव खोसेर लगेपछि युवाहरू प्रहरीले जबरजस्ती गरेको भन्दै आक्रोशित बने। पूर्वनिर्धारित कार्यक्रम गर्न नदिएपछि उनीहरूले प्रधानमन्त्री केपी ओलीविरूद्ध नाराबाजी गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध विवेकशील साझा पार्टीले विगत सात दिनदेखि पोखरामा लगातार प्रदर्शन गर्दै आएको छ।
प्रदर्शन गर्नेहरूले प्रहरी हस्तक्षेपविरूद्ध केपी पुलिस मुर्दावाद, नेकपा पुलिस मुर्दावाद, केपी तिम्रो पाराले, दु:ख पाए साराले, लोकतन्त्र मिच्न पाइँदैन, विधिको शासन कायम गर, जस्ता नारा लगाए।
‘हामीले यस्तो नारा नलगाउने नीति लिएका थियौं, सरकारले शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरेर बाध्य बनाए,’ खड्काले भने, ‘प्रहरी पूरै दमन गर्ने मुडमा उत्रियो।’
प्रदर्शनमा उत्रिएका युवाहरू पहेंलो बस्त्र ओढेर पृथ्वीचोक पुगे र कोणसभा गरेका थिए।
पार्टीको शान्तिपूर्ण अभियानमाथि प्रहरीले दमन गरेको भन्दै विवेकशील साझाका गण्डकी प्रदेश संयोजक महेश भण्डारीले घटनाको भर्त्सना गरे। आवागमन रोकेर ‘केपी बा, आइ लभ यु’ भन्नेलाई सुरक्षा दिने प्रहरीले आवागमन र पैदलयात्रा पनि नरोकी गरिएको शान्तिपूर्ण जुलुसलाई हस्तक्षेप गरेको उनले बताए।
‘सरकार लाससँग पनि डरायो, त्यही पनि सांकेतिक लाशसँग,’ भण्डारीले भने, ‘सांकेतिक शवयात्रा भनेको नाटक हो, सरकार नाटक बुझ्दैन, यो निन्दा गर्न लायक छ।’
लोकतन्त्रमा जनताले आफ्नो कुरा शान्तिपूर्ण र सांकेतिक रुपमा राख्न पाउने भन्दै प्रहरीले सुरक्षा दिनुपर्ने भण्डारीले माग गरे।
‘सरकारले शान्तिपूर्ण अभियानको सुरक्षा दिनुपर्छ, दमन गर्ने होइन,’ उनले भने, ‘जसले शान्तिपूर्ण अभियानमा विश्वास गर्छ, तिनैमाथि अवरोध गर्नु भनेको सरकार अत्तालिएको हो।’