नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर कुराकानी गरेका छन्।
बुधबार दिउँसो २० मिनेट देउवाको निवास बुढानिलकण्ठमा उनीहरूबीच छलफल भएको हो। १:१५ मा देउवा निवास पुगेका प्रचण्ड-नेपाल १:३५ बजे त्यहाँबाट बाहिरिएका थिए।
देउवाका सहयोगी भानु देउवाका अनुसार विकसित राजनीतिक घटनाक्रम र अब कसरी अगाडि जाने भन्नेबारे सभापति देउवासँग प्रचण्ड-नेपालको छलफल केन्द्रीत रह्यो।
‘आ-आफ्नो पार्टीमा छलफल गरेर अगाडि बढ्नेबारे कुरा भएको छ,’ देउवाले सेतोपाटीसँग भने। आन्तरिक छलफल गरेर फेरि बैठक गर्ने सहमति उनीहरूबीच भएको छ।
प्रचण्ड-नेपालले समझदारी गरेरै अगाडि जानेबारे देउवासँग कुराकानी गरेका थिए। देउवाले पार्टीमा छलफल गरेपछि मात्रै आफू निर्णयमा पुग्ने बताएका छन्।
यससँगै सभापति देउवाले पार्टी पदाधिकारी बैठक पनि बोलाएका छन्। बिहीबार अपरान्ह ३ बजे पदाधिकारी बैठक बोलाइएको उनले जानकारी दिए।
वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं उपत्यकाबाहिर छन्। उनी आज साँझ काठमाडौं आइपुग्ने पौडेलको सचिवालयले जानकारी दिएको छ।
प्रचण्ड-नेपालले पौडेलसँग पनि टेलिफोनमा कुराकानी गरेका थिए। पौडेलको सचिवालयले दिएको जानकारीअनुसार आज बिहान प्रचण्ड र नेपालले पौडेलसँग कुराकानी गरेका हुन्।
प्रचण्ड-नेपाल पक्ष पनि आन्तरिक छलफलमा जुटेको छ। पेरिसडाँडामा स्थायी कमिटीको अनौपचारिक बैठक बसेको छ भने आजै अपरान्ह ४ बजे संसदीय दलको पनि बैठक बस्दैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेस र नेकपाका प्रचण्ड-नेपाल पक्ष आन्दोलनमा थियो।
मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको कदमलाई बदर गरिदिएको थियो। प्रतिनिधि सभा पुनर्स्थापनासँगै अब बन्ने नयाँ सरकारको पनि चर्चा भएको छ।