नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पद छाड्दा राम्रो हुने बताएका छन्।
सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गरेकोले ओलीले कि त प्रतिनिधि सभामा बहुमत पुर्याउनुपर्ने नभए छोड्नुपर्ने देउवाको भनाइ छ।
‘अदालतको निर्णयपछि ओलीजीले संसदमा कि त बहुमत पुर्याउनुपर्यो होइन भने त छोड्दा राम्रो हुन्छ। तर उहाँलाई यसो गर उसो गर हामीले भन्ने होइन। उहाँको पार्टीको कुरा हो,’ देउवाले भने।
देउवाले पार्टी संसदीय दलको बैठक पनि राख्ने बताएका छन्। ‘हामीले पार्टीमा पनि सल्लाह गर्नुछ अब कसरी जाने भनेर,’ उनले भने। प्रतिनिधि सभा बाँचेकोले खुसी हुनुपर्ने उनले बताए।
कांग्रेससँग संसदमा कम सिट रहेको देउवाको भनाइ छ। कांग्रेससँग ६३ सिट छ।
‘संसदमा यति कम सिट छ हाम्रो। पक्ष पनि हुँदैन, विपक्ष पनि हुँदैनजस्तो छ। विपक्षी पार्टी पनि नहुनेजस्तो छ,’ देउवाले भने, ‘उनीहरू मिले भने हामी विपक्षी पार्टी होला। उनीहरूको पार्टी के हुन्छ।’
उनले पार्टीलाई रोग लागेको पनि बताए। पार्टीमा झगडा गर्ने पुरानै रोग नहटेको पनि उल्लेख गरेका छन्। उनले महाधिवेशन भदौमा जसरी पनि गर्नुपर्ने बताए।
उनले अब प्रतिनिधि सभा सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए। देउवाले कांग्रेसले केही गरेन भन्नेहरूले नै अहिलेको अवस्थामा कांग्रेसलाई खोजिरहेको बताएका छन्।
कांग्रेसले केही गर्दैन भनेर विरोध गरिरहेकाहरू अहिले कांग्रेसलाई खोज्न थालेको देउवा बताउँछन्। कांग्रेसबाट केही आशा गर्नु राम्रो पक्ष भएको देउवाको भनाइ छ।
महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा बुधबार भएको विचार गोष्ठीमा देउवाले भने, ‘भोट दिने बेला कांग्रेसलाई नदिने अहिले कांग्रेस चाहियो?’
उनले मानिसहरूले कांग्रेसलाई खोजिरहेको पनि बताए। जनता, वुद्धिजीविहरू र पत्रकारले कांग्रेस कता छ भनेर खोजेकोले उनले धन्यबादसमेत दिए।
उनले नेकपाभित्र दुइटा समूह देखिएको तर पार्टी कानुनी रूपमा एक नै रहेको बताए। ‘उहाँहरूका बीचमा झगडा भयो। अहिले दुइटा समूह छ। पार्टी एकै छ। हामी कुनै पार्टी फुटोस् भन्ने चाहना पनि छैन,’ उनले भने।
सर्वोच्चले प्रतिनिधि सभा विघटनबारे अन्तरिम आदेश नदिएकोले आफूले पुनर्स्थापना र चुनाव दुबै जे भए पनि स्वीकार गर्छौं भनेको देउवाको भनाइ छ।
‘सर्वोच्चले स्टे अडर देला भनेको दिएन। त्यसपछि के होला के होला भन्ने लाग्यो मलाई। शंका थियो। त्यही भएर मैले पुनर्स्थापना र चुनाव जे भए पनि स्वीकार गर्ने बताएको हुँ,’ देउवाले भने।