नेपाली कांग्रेसले नेकपाका दुइटा समूहका गतिविधिलाई सुक्ष्म ढंगले हेर्ने रणनीति लिएको छ।
तत्काल नेकपाका दुइटा समूहमध्ये कसलाई समर्थन गर्ने निर्णयमा कांग्रेस नपुग्ने भएको हो। नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल गरी दुइटा पक्ष देखिएका छन्।
निर्वाचन आयोगले यी दुई पक्षमध्ये कुनलाई आधिकारिकता दिन्छ वा यी समूहले कुनले बेग्लै पार्टी गठन गर्छ त्यसअनुसार निर्णय गर्ने तयारीमा कांग्रेस छ।
सभापति शेरबहादुर देउवाको निवासमा आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले तत्काल कसलाई समर्थन गर्ने वा आफ्नो नेतृत्वमा सरकार बन्ने अवस्था आए त्यसबेला के गर्ने भन्नेबारे कुनै निर्णय गरेन।
बरू फागुन २४ गते बस्ने प्रतिनिधि सभा बैठकसम्म नेकपाका दुई समूहका गतिविधिलाई सुक्ष्म ढंगले हेर्ने रणनीतिमा कांग्रेस छ।
सभापति देउवाले आजको बैठकमा नेकपाका दुवै समूहले सहकार्य गरेर जानुपर्ने भन्ने प्रस्तावका सन्दर्भमा धारणा राख्न पार्टीका नेताहरूलाई समय दिएका थिए।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेर देशलाई ठूलो संकटमा जानबाट बचाएको भन्दै बैठकमा धारणा राख्ने क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रक्रिया अगाडि बढ्नुपर्ने बताएका छन्।
‘संसदीय प्रक्रिया अगाडि बढिसकेको छैन। त्यसबेलासम्म हामीले गर्ने छलफल केही पनि छैन,’ पौडेलले भने। प्रतिनिधि सभा बैठक बसेपछि कसरी प्रक्रिया अगाडि बढ्छ त्यसपछि कांग्रेसले आफ्नो रणनीति लिनुपर्नेमा पौडेल छन्।
‘अहिलेदेखि नै सल्लाह गर्नुभन्दा पनि संसदीय प्रक्रिया अगाडि बढ्ने भएपछि त्यतिखेरै सल्लाह गर्ने हो,’ उनले भने।
पौडेलले अब बन्ने सरकारमा कसलाई सहयोग गर्ने वा प्रतिपक्षमै बस्ने भन्नेबारे प्रतिनिधि सभा बैठक सुरू भएपछि पार्टीले निर्णय लिनुपर्ने बताएका छन्।
कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत नेकपा अहिलेसम्म कानुनी रूपमा एक नै रहेकोले त्यसभित्रका कुन समूहलाई समर्थन गर्ने भन्नेतर्फ कांग्रेस नलाग्ने बताउँछन्।
‘नेकपा कानुनी रूपमा एउटै छ। संसदीय दलका नेता प्रधानमन्त्री ओली नै छन्। त्यसकारण नेकपाको कुन समूहलाई सहयोग गर्ने वा सरकारमा जाने कि नजाने भन्नेबारे कांग्रेसले अहिले केही सोचेको पनि छैन।’
नेकपाका समूहहरूसँग सहकार्य गर्नेबारे कांग्रेसले हतारो नगर्ने उनी बताउँछन्।
‘उहाँहरूले कानुनी आधार नै तय गर्नुभएको छैन अनि हामीले किन सहकार्यको कुरा गर्ने? ओलीजीलाई नै निरन्तरता दिनुहुन्छ कि के गर्नुहुन्छ त्यो उहाँहरूको कुरा हो,’ उनले भने।
पौडेलले जस्तै उनले पनि उचित समयमा कांग्रेसले परिपक्क निर्णय गर्ने बताए। नेकपाभित्र देखिएका आन्तरिक विवादको हल नभएसम्म कांग्रेसले पर्खने रणनीति लिएको छ।