प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि नेपाली राजनीतिको केन्द्रमा फेरि नेपाली कांग्रेस आइपुगेको छ। अब बन्ने सरकारको नेतृत्व आफैंले गर्ने, सरकार बनाउन अरूलाई सहयोग गर्ने कि प्रतिपक्षकै भूमिकामा बस्ने भन्नेबारे कांग्रेसभित्र र बाहिर बहस चलिरहेको छ।
अब कांग्रेस कसरी अगाडि बढ्छ? भावी राजनीतिमा उसको भूमिका कस्तो रहन्छ? यिनै प्रश्नको सेरोफेरोमा कांग्रेस केन्द्रीय सदस्य गगन थापासँग सेतोपाटीका प्रशन्न पोखरेलले गरेको कुराकानीको सम्पादित अंश:
नेकपाका दुबै पक्षले अहिले कांग्रेससँग सहयोग मागिरहेका छन्, के सहयोग मागेका हुन्?
हामीले पनि सहयोग मागेको भन्नेमात्र सुनेको हो। अनुमान लगाउँदा सत्ता समीकरणमा सँगै बसौं। सरकारमा सँगै बसौं भन्ने नै होला भन्ने अनुमान लगाउन सकिन्छ।
प्रचण्ड-नेपाल नेकपाको एउटा समूह छ। बेग्लै पार्टी छैन। यसलाई तपाईंले कसरी हेर्नुभएको छ?
हाम्रो लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा अहिले पनि एउटै छ। नेकपाभित्र विवाद छ। सडकमा विवाद छताछुल्ल भएको छ। पुस ५ पछि विवादले सीमा नाघेको थियो। वैधानिक रूपमा नेकपा एउटै छ भन्ने ख्याल कांग्रेसले राखेर त्यसका आधारमा धारणा बनाउनुपर्छ। सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि त पुस ५ अघिकै अवस्थामा नेकपा छ।
पार्टी बेग्लाबेग्लै नभएसम्म सहयोग, छलफल र अफरका केही अर्थ छन् र?
हामी प्रयोग भइरहेका छौं कि भनेर पहिले पनि मैले भनेको थिएँ। अहिले पनि नेकपाका एउटा समूहले अर्को समूहलाई आफ्ना कुरा स्थापित गर्न र भेटघाटबाट एकअर्कालाई तर्साउन खोजेकोजस्तो देखिन्छ।
नेकपाका लागि हामी प्रयोग भइरहेका छौं भन्ने कांग्रेसलाई लागेको छ कि छैन?
कांग्रेसले संविधानको रक्षा गर्ने र विधिको शासन कायम गर्न कुरामा केही चुक्यौंजस्तो लाग्छ। यता काजु उता किसमिस भनेर बस्यौं भने फेरि त्यसकै निरन्तरता हुन्छ। हामी अप्ठेरोबाट बाहिर निस्केका छौं, देशलाई निकास चाहियो। नेकपाले निकास दिन सक्दैन भने कांग्रेसको भूमिका आउँछ, हामीले निकास दिने हो।
निकास दिनेबारे हाम्रो भूमिका हुन्छ तर सरकार चलाउने वा सरकारमा बस्ने हामीलाई म्याण्डेट नै छैन। यो अवधि नेकपाले खेर फाल्यो, कांग्रेसले प्रतिपक्षी भूमिका खेल्ने र निर्वाचनको तयारी गरेर निराश भएका जनतालाई कांग्रेसले नयाँ योजना, कार्यक्रम, सोच र संकल्पका साथ जानुपर्छ। जनमतपछि एकमनाको सरकार पाँच वर्ष चलाउँछौं भन्ने सोच कांग्रेसले राख्नुपर्छ। यता हो कि उता हो कि भनेर झिंगे दाउका पछि लाग्न हुन्न।
सभापति शेरबहादुर देउवाले नेकपा भित्रको झगडाको असर कांग्रेसमा पर्यो भन्नुभएको थियो। केही संकेत पाउनु भएको छ?
कांग्रेसमा यसबीचमा प्रष्ट मतभिन्नता देखियो। ढाकछोप गर्नु जरूरी छैन अलमलमा पर्न हुँदैन्थ्यो। प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भनेर हामीले निर्णय गरेपछि त्यहीअनुसार जानुपर्थ्यो चुनाव हुन्छ-हुन्छ भन्न हुन्नथ्यो।
अर्को कुरा हामी सरकारमा जानेबारे च्याँखे दाउ हान्न हुन्न। जनताले हामीलाई त्यो म्यान्डेट दिएकै छैन। बरू हामीले अर्को आमनिर्वाचनको तयारी गर्नुपर्छ।
निर्वाचनको कुरा गर्नुभयो। कुन सरकारले निर्वाचन गराउँछ?
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीमा निरन्तरता दिने योग्यता सबै गुमाइसक्नुभयो। यो संसदले कुनै न कुनै सरकार त बनाउँछ। हामी सरकारमा जाने होइन। हामीले नेतृत्व गर्ने होइन तर निकास दिनुपर्ने हुन सक्छ। के गर्दा संविधान जोगाउने कुरामा मद्दत पुग्न सक्छ भन्ने हामीले हेर्ने हो।
पहिले नेकपाले आफ्नो कुरा टुंग्याउनुपर्छ। नेकपा नै आत्मआलोचना गरेर देशी विदेशी शक्तिको षड्यन्त्र थियो, क्रान्तिकारी कमरेडहरू एक हुनुपर्छ भनेर लड्डु खाँदै नाच्दै गाउँदै आउनुभयो र हामी एक भयौं भन्नुभयो भने अहिलेदेखि कांग्रेस यता जाने उता जाने भनेर बेकारमा टाउको किन दुखाउने?
बरू कांग्रेसले आफ्नो पोजिसन तय गर्नुपर्छ। हामी जुनसुकै परिस्थितिमा सरकारमा जानौं। कसैलाई सहयोग गरौंला। तर हामी जानौं। हामी अर्को निर्वाचनको तयारी गर्छौं। अहिले सबैजना कांग्रेस के गर्छ भनिरहेका छन्। अहिले नेकपा कसरी जान्छ भन्ने कुरा महत्वपूर्ण हो।
फागुन २४ मा प्रतिनिधि सभा बैठक बस्दैछ। नेकपा यही अवस्थामा संसदमा गयो भने परिदृश्य के होला?
अनुमान गर्न गाह्रो छ। उहाँहरूले एकअर्कालाई कारवाही गरेको दलबाट निकालेको अवस्था छ। यी सबै कुरा निरूपण नभई संसदमा आयो भने ठ्याक्कै अनुमान लगाउन गाह्रो छ। यसबीचमा प्रचण्ड-नेपालले निर्वाचन आयोगमा राखेका माग पूरा गरिदियो भने यी सबै कुरा हामीले हेर्ने हो।
नेकपा भित्रबाटै ओलीलाई प्रधानमन्त्रीलाई हटाएर अर्को प्रधानमन्त्री बन्ने अवस्था देख्नुहुन्छ कि हुन्न?
त्यो हुन सक्छ। हामी प्रतिपक्षमा बस्ने हो। हेर्ने हो।
केही गरी नयाँ सरकार बनेन भने ओलीकै नेतृत्वमा चुनावमा जान कांग्रेस तयार हुन्छ कि हुँदैन?
प्रधानमन्त्री ओलीले अब प्रधानमन्त्री ओलीका रूपमा काम गर्ने वैद्यता केही पनि राख्नुहुन्न भन्ने मेरो ठहर हो। प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ। नेकपाले अविश्वास प्रस्ताव ल्याउने र प्रधानमन्त्री बदलिने अवस्था छ।
प्रधानमन्त्री ओलीले छुट्टै पार्टी बनाउनुभयो भने त्यसबेला कांग्रेस सरकारको नेतृत्व पाए लिन्छ कि लिँदैन?
हामी सरकारमा जान तयार हुनुहुन्न। प्रधानमन्त्री ओलीले शासन गर्ने वैधता गुमाइसक्नुभएको छ। उहाँसँग फाइदा हुन्छ भनेर हामी समीकरणमा गयौं भने त त्यो आत्मघाती हुन्छ। पार्टीलाई दीर्घकालीन क्षति हुन्छ।
नेकपाभित्र विवाद भएको मौकामा कांग्रेसले किन फाइदा नलिने भन्ने मत पनि छ नि!
हो फाइदा लिनुपर्छ। फाइदा लिने भनेको नेपालमा कम्युनिष्टको संख्या घटाएर कांग्रेसको संख्या बढाउने। कम्युनिष्ट पार्टी एक नै होओस् त्यसलाई परास्त गर्न संगठन निर्माण र जनविश्वास निर्माण गर्ने बेला हो यो। केही मन्त्रालय लिएर लुटुपुटु गरेर आठ महिना प्रधानमन्त्री भएर पार्टीलाई फाइदा हुन्न।
अबको चुनावपछि सरकार चलाउने भन्न खोज्नुभएको हो?
हो। प्रतिनिधि सभाको यो बाँकी रहेको दुई वर्ष अवधिमा सरकारमा जानेबारे सोच्दै नसोच्ने हो। फाइदा हुन्छ भन्ने नठान्ने। अहिलेदेखि नै अब आउने चुनावबारे तयारी गर्ने हो।
प्रतिनिधि सभा बैठक सुरू भएको कति समयमा मुलुकले निकाश पाउँला?
केही समय लाग्छ। एक महिनाजति लाग्छ कि भन्ने लाग्छ। त्यसपछि एउटा बाटो समात्ला।
किनभने, प्रतिनिधि सभा मार्ने र बचाउनेको भेट संसदमा हुँदैछ
प्रतिनिधि सभा विघटनलाई बदर भइसकेको अवस्थामा पनि विघटन गर्ने निर्णय ठिक थियो भन्ने हठका साथ उहाँहरू आउँदै हुनुहुन्छ। त्यो निर्णयबारे लालुपाते कुरा गरेको संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङको त दु:खसाथ भन्नुपर्छ, यतिखेर आएर फेरि बोलेर उहाँले थप आफूलाई हल्का बनाउने कुरा हो। उहाँले अध्यक्षको मर्यादा राख्न सक्नुभएन। तनावपूर्ण अलिअलि भइहाल्छ तर निकास निस्कन्छ।
महाधिवेशनको पनि कुरा गरौं। अब तपाईं के पदमा उठ्ने?
साथीहरूसँग कुराकानी भइरहेको छ। महामन्त्रीमा जिम्मेवारी लिनुपर्छ भन्नेखालको कुरा पनि छ। अब तीन चार महिना हेरौं अनि मात्र भनौंला। १३ औं महाधिवेशनकै टिम हामी एकै ठाउँमा उभिन्छौं। हाम्रो निर्णय एकै हुन्छ। यही टिम उठ्ने भन्ने होइन हामीले गर्ने निर्णय एउटै हुन्छ। महाधिवेशनमा त्यो निर्णय निर्णायक हुनुपर्छ भन्ने हो।