पोखराको आकाश शनिबार दिनभरि खुलेन। हुस्सुले नजिकै पनि देख्न सकिएन। साँझ पर्दा-नपर्दै पानी पर्न थाल्यो। दुई वर्षअघि २०७५ फागुन १५ गते ताप्लेजुङको मौसम सायद यस्तै थियो कि, जुन दिन तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टरले सामुन्नेको डाँडा ठम्याउन सकेन।
विमानस्थल निर्माणबारे अध्ययन गर्न ताप्लेजुङ पुगेका मन्त्री अधिकारी हेलिप्टरमाार्फत् नै त्यहाँको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर पुगेको थिए। पोखरामा शनिबार देखिएको जस्तै हुस्सु र कुहिरोले ढाकिएको आकाश र हिमपात सुरू भएपछि उनको टोली काठमाडौं फर्कन हेलिकप्टर चढ्यो। हेलिकप्टर उडेको केही समयमै ताप्लेजुङकै तारेढुङ्गा भिरमा गएर हेलिकप्टर ठोक्कियो।
उक्त अप्रत्याशित दुर्घटनामा परेर मन्त्री अधिकारी, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, यति एयरलायन्सका अध्यक्ष आङछिरिङ शेर्पा, हेलिकप्टर पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरेले ज्यान गुमाए।
पोखराबाट उठेर राजनीतिमा प्रभावशाली बन्दै गएका मन्त्री रवीन्द्र सवार हेलिकप्टर दुर्घटनाको त्यो खबरले देश स्तब्ध भयो, उनका गृहनगर पोखरा नहुने कुरै भएन। रवीन्द्रका परिवार भने अझै स्तब्ध छन्। उनका बहिनी विमला अधिकारीका अनुसार परिवारले अहिले पनि चाडपर्व मनाउन सकेका छैनन्।
‘दाइ(रवीन्द्र)ले हामीलाई समय दिन पाउनु हुन्थेन, हामी बस्ने नै त्यही चाडवाडमा हो’, विमलाले भनिन्, ‘दशैं, तिहार र तीजमा भेटघाट हुन्थ्यो, २ वर्ष भयो, कुनै चाड मनाउन सकेका छैनौं, परिवारमा कुरा गर्न सकेका पनि छैनौं।’
मन्त्री रवीन्द्र यसरी दुर्घटनामा पर्लान् भनेर कसैले चिताएकै थिएनन्। उनका बुबा इन्द्रप्रसाद अहिले पनि काठमाडौंस्थित मन्त्री क्वार्टरबाट घर फर्कँदा छोरा रवीन्द्रले राम्रोसँग जानु भनेको याद गर्छन्।
‘काठमाडौंको मन्त्री क्वार्टरबाट ल बाबु हामी अब घर जान्छौं भनेको थिएँ, ल राम्रोसँग जानु बा भनेर हामीलाई बिदा दिए, हामी पोखरा आएको ७ दिनमै त्यस्तो भयो,’ उनले भने।
यता, रवीन्द्र पत्नी विद्या भट्टराई भने अहिले पनि भ्रममा बाँचिरहेकी छिन्। रवीन्द्र अधिकारी बितेर गए भनेर उनको मनमा अहिले पनि विश्वास छैन। ‘उहाँ यहीं हुनुहुन्छ जस्तो लाग्छ, म जुन भ्रममा बाँचिरहेको हुन्छु, होइन भन्ने भएपछि पीडा हुन्छ,’ उनले भनिन्।
उनले रवीन्द्र आफ्नो श्रीमानभन्दा पनि असल साथी भएको बताइन्। रवीन्द्रले पनि विद्यालाई साथीको व्यवहार गर्थे। उनीहरू विवाह गर्नुपूर्व दुबै जना राजनीतिमा थिए। जब विवाह भयो, सल्लाह गरेर नै विद्याले प्राध्यापन पेशा रोजेकी थिइन्।
‘विवाहपछि सल्लाह गरेरै म अर्को क्षेत्रमा गएँ, उहाँले आफ्नो पहिचान आफैं बनाउनुपर्छ भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘मलाई गाह्रो परेको बेला उहाँले भनेको त्यही कुरा सम्झन्छु।’
रवीन्द्र अधिकारीको निधन भएपछि उनी राजनीतिमा आइन्। रवीन्द्रको क्षेत्र कास्की-२ बाट विद्याले प्रतिनिधि सभाको उपनिर्वाचन जितेकी थिइन्।
रवीन्द्र अधिकारी दुर्घटनामा परेको दिन ‘शुभयात्रा’ भन्न नपाएकोमा विद्याको मनमा अहिले पनि थकथकी छ। दुर्घटना भएको दिनभन्दा अघिल्लो साँझ रवीन्द्रसँग भएको कुराकानी उनले सम्झिन्। पर्सिपल्ट अर्थात २०७५ फागुन १६ गते रवीन्द्र एउटा कार्यक्रममा भाग लिन जर्मन जाने योजना थियो। विद्याले सुटकेस मिलाउन पर्यो भनिन्।
‘म भोलि उता (ताप्लेजुङ) जानुछ, आएपछि मिलाउँला नि, दुई जना भएर’, रवीन्द्रले भनेका थिए, ‘एकैछिनमा भइहाल्छ।’
त्यही दिन रवीन्द्रले ‘होलबडी चेक’ गरेका थिए। स्वास्थ्यमा केही खराबी नदेखिएपछि रवीन्द्र खुसी भएका थिए। ताप्लेजुङ जाने दिन बिहानै उठेर रवीन्द्रले विद्यालाई भनेका थिए, ‘आज म एकदम फ्रेस छु नि है।’
विद्याले उनको कुरामा सही थापिन्।
दुई वर्षअघि फागुन १५ गते बिहान रवीन्द्रले भनेका थिए- आज म ताप्लेजुङ जान्छु, १ बजेर फर्केर आएपछि मन्त्रालय जान्छु, ३ बजे क्वार्टर आउँछु।’
विद्याले म पनि युनिभर्सिटीबाट ३ बजे आउँछु भनिन्। रवीन्द्रले उसो भए खाजा सँगै खाउँ है भने। विद्याले हस् भनेर स्वीकृति जनाइन्।
यता रवीन्द्र भने ताप्लेजुङ जाने तयारीमा लागे। उनीहरूका सानो छोरा स्वराज बिहानै स्कुल जाने। स्वराजले त्यो दिन बाबा म स्कुल गएँ भन्न बिर्सेछन्। फर्केर आए। बाबाले ‘हग’ पनि गर्नुभएन, ‘किस’ पनि गर्नुभएन भन्यो। रवीन्द्रले कान्छो छोरा स्वराजलाई अँगालो हालेर किस गरे। स्कुल पठाए। रवीन्द्र दम्पती हाँसे।
रवीन्द्रसँगै चिया खाएर विद्या किचनतर्फ लागिन्। रवीन्द्रलाई जहिले पनि घर बाहिर निस्कँदा उनले राम्रोसँग जानु है, शुभयात्रा भन्थिन्। विद्या किचनमा अलमलिँदा रवीन्द्र हिँडिसकेछन्। रवीन्द्रको त्यो यात्रामा भने विद्याले शुभयात्रा भन्न पाइनन्।
‘सधै बाहिर जानेबेला शुभयात्रा भन्थें, त्यो बेला मैले शुभयात्रा भन्न नपाएको कुरा सधै मनमा खट्किन्छ, अन्तिम अनुहार मैले देखिनँ त्यतिबेला’, उनले भनिन्।
रवीन्द्रका बुबा इन्द्रप्रसादलाई पनि छोराको बाल्यकाल बढी याद आउँछ। रवीन्द्रलाई पढाउन पोखरादेखि तनहुँ र काठमाडौं लगेको, उनलाई खेलाएको याद आउने गरेको उनले बताए। रवीन्द्र राजनीतिमा लागेको त जेल गएपछि मात्र थाहा पाएको उनले बताए।
‘स्कुलमा सात कक्षा पढ्दै राजनीतिमा लागेछ, हामीलाई त थाहै दिएन’, इन्द्रप्रसादले भने, ‘पञ्चायतकालमा जेल गएपछि पो थाहा पाको मैले।’
रवीन्द्र अधिकारी दुर्घटना हुनुभन्दा तीन दिनअघि कान्छो छोरा स्वराजको जन्मदिन थियो। त्यतिबेला बहिनी विमला पनि काठमाडौं थिइन्। मन्त्री क्वार्टरमा स्वराजको जन्मदिन मनाउन लागिएको थियो। रवीन्द्र ढिला गरी क्वार्टर आइपुगे।
‘आज छोराको ‘बर्थडे’ हो, साथीले जाउँ भनेर आको म त,’ रवीन्द्र क्वार्टर छिरेर भनेका थिए। त्यतिबेला स्वराजले के गिफ्ट दिनुहुन्छ? भनेर रवीन्द्रलाई सोधेका थिए। बाबुलाई के चाहियो भनेर रवीन्द्रले जिज्ञासा राखे। स्वराजले माग गरे– ‘भिडियो गेम।’
रवीन्द्रले भने– ‘होइन, त्यत्ति महँगो नभन न छोरा, अलि सानो भन।’
स्वराजले त्यसो भए चुप्प गर्नु भने। रवीन्द्रले किस गरेर कान्छो छोराको त्यो जन्मदिन मनाएको रवीन्द्रका बहिनी विमलाले बताइन्।
वाइडवडी र एनसेल प्रकरणमा प्रश्न
तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीमाथि त्यतिबेला वाइडबडी जहाज खरिद गर्दा भ्रष्टाचार गरेको आरोप लागेको थियो। संसदीय छानविन समितिले वाइडबडी खरिदमा अनियमितता भएको ठहर गरेको थियो। उनलाई जहाँतहीँ वाइडबडीलाई लिएर प्रश्न सोधिन्थ्यो।
यसबारे घरमा पनि रवीन्द्रले वाइडबडीको यो विषयमा जवाफ दिनुपरेको थियो। विद्याले त्यतिबेला वाइडबडी प्रकरणलाई लिएर प्रश्न गरिन्। वाइडबडीको वास्तविकता के हो त? रवीन्द्रले त्यतिबेला विद्यालाई भनेका थिए: नेपालमा काम गर्न यति गाह्रो भइसकेछ। काम नगर्दा ठिकै छ, काम गर्दा उमाथि धेरै प्रहार हुँदो रैछ। मैले केही परिवर्तन गर्न खोजें। परिवर्तन गर्न खोज्दा मैले यो सजाय भोगें। यो किसिमले प्रहार गरे।’
रवीन्द्रका जेठा विराज त्यतिबेला अध्ययनका लागि भारत गएका थिए। झण्डै १ वर्ष भएको थियो बुबासँग भेट नभएको। रवीन्द्र एक पटक कार्यक्रमका लागि भारतको मुम्बई पुगे। विराज त्यतिबेला बैंगलोर बसेर ‘कम्प्युटर एप्लिकेसन’ पढ्दै थिए। मुम्बईमा बुबालाई भेट्न जान खोज्दा रवीन्द्रले नै छोरालाई भेट्न नआऊ, म व्यस्त हुन्छु भनेर रोकेका थिए।
त्यसपछि विराजको स्नातकोत्तर पहिलो सेमेष्टरको नतिजा आयो। बुबासँग उनको फोनमा कुराकानी भयो। विराजले बुबालाई भने– ‘मेरो ए ग्रेड आयो।’
रवीन्द्रले जिस्काएर सोधे– ‘त्यो भन्दा माथि के छ ?’ विराजले अर्को पटक भने। नभन्दै विराजले दोस्रो समेष्टरमा ए प्लस ग्रेड ल्याए। तर बुबालाई सुनाउन पाएनन्।
उनको बुबासँगको अन्तिम संवाद नै त्यही हुन पुग्यो। अहिले भने भारतमै उनले ‘साइकोलोजी’ पढ्दैछन्। अहिले पोखराबाट अनलाइन कक्षा लिएको उनले बताए।
विराजले पनि पहिलो पटक बुबासँग ‘टेबल टक’ वाइडबडी प्रकरणकै विषयमा भएको सम्झन्छन्।
‘म फष्ट टाइम होला बुबासँग यसरी कुरा गरेको, मैले सोधें, खासगरी वाइडबडीमा के हो ?,’ बुबाले फर्काएको जवाफ भन्दै विराजले भने, ‘भन्नेले भन्छन्, मनबाट साँचो हुनुपर्छ, केही हुँदैन।’
बहिनी विमलाले पनि रवीन्द्रसँग यही विषयमा कुरा गरेकी रहिछिन्।
‘मैले केही गरेको छैन। तिमीहरू ढुक्क हुनु। राजनीतिक उचाइ अलि ‘हाइट’मा गयो भनेर हो। तिमीहरू पीर गर्नुपर्दैन। मैले केही गल्ती गरेको छैन। मैले जवाफ दिन्छु। तिमीहरू आत्तिनु पर्दैन। कामले दिने हो जवाफ,’ रवीन्द्रले दिएको जवाफ विमलाले सम्झिन्।
वाइड बडी प्रकरणको छानविन अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएर अड्किएको छ। उक्त छानविन कति भयो अहिलेसम्म अख्तियारले बताएको छैन। रवीन्द्र पत्नी विद्या भने वाइडबडीका बारे छानविन हुनुपर्ने र सत्यतथ्य बाहिर आउनुपर्ने बताउँछिन्। ‘वाइड बडीमा जो-जो दोषी छन्, तिनीहरूलाई कारबाही हुनुपर्छ’, उनले भनिन्, ‘यो मुद्दा छिटो टुङ्गो लागोस्।’
रवीन्द्र अधिकारी संसदको विकास समितिको सभापति हुँदा पनि एनसेललाई फोरजी सेवा सञ्चालन गर्न दिएको अनुमति विवादित बन्न पुगेको थियो। त्यो विषयमा पनि आफूले सोधेको विद्या बताउँछिन्।
‘घरभित्र त म श्रीमती हो, उहाँको काममा हस्तक्षेप त गरिन, जब कुनै कुरा बाहिर आउँछ, मैले सोध्थें,’ उनले भनिन्।
‘एनसेलको बारेमा विवाद आ’छ त्यो नगरेको भए के हुन्थ्यो ?’ विद्याले रवीन्द्रलाई सोधिन्। रवीन्द्रले जवाफ दिए- ‘त्यो त कर उठ्ने कुरा थियो, मैले मेरो स्वार्थले गरेको निर्णय होइन।’
यसका अलवा रवीन्द्रले ‘समृद्ध नेपाल’ किताब लेख्ने बेला विद्यासँग सुझाव मागेका थिए। रवीन्द्रले किताबमा विकासका बारेमा लेख्दा विद्याले नै समाजशास्त्रीय आँखाबाट लेख्दा राम्रो हुन्छ भनेर सुझाव दिएको बताइन्।
त्यतिबेला रवीन्द्रले जहिल्यै जीवन भनेकै संघर्ष भनेर भन्ने गरेको थिए। संघर्षसँग कहिल्यै डराउन हुन्न। लाञ्छाना, आरोप भन्ने कुरा जीवनमा आउँछ। त्यो कुराले नै मान्छेलाई बलियो बनाउँछ। त्यही भएर विचलित हुन हुन्न। मान्छे एक्लै पनि बाँच्नुपर्छ भनेर विद्यालाई भनेका थिए। उनलाई रवीन्द्रका यस्ता कुराले अहिले बिझाउँछ।
‘मलाई कहिलेकाहीँ किन त्यस्तो भन्नुभएको होला भनेर सोच्थें, तर कहिल्यै सोधिनँ’, उनले भनिन्, ‘अहिले लाग्छ, यस्तै हुनलाई त्यसो भन्नुभएको हो कि ?’
राजनीति घोचपेच
पोखरा महानगरले शहरका चोक–चोकमा रहेका राष्ट्रिय विभुति र शहिदको शालिक मेथलाङको डाँडामा लगेर ‘राष्ट्रिय विभुति तथा शहिद पार्क’ बनाएको छ। त्यही पार्कमा रवीन्द्रको शालिक पनि ठडिएको छ। त्यही सालिकमा माल्यार्पण गरेर प्रतिष्ठानले रवीन्द्रको स्मरण गर्यो। रवीन्द्रको स्मरण कार्यक्रममा नेकपाका दुबै पक्षका नेता, कार्यकर्ता सहभागी भए।
रवीन्द्रको स्मरण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रवीन्द्रलाई ‘समृद्धिका सारथी’ भने। नेकपाको विभाजनतर्फ संकेत गर्दै उनले भने- नेकपा हाम्रो रगतमा छ। हामीले जनतालाई जवाफ दिनुपर्छ। यो पार्टी हाम्रो पसिना पनि हो। लाखौं लाख कार्यकर्ताले रगत पसिना बनाएको पार्टी हो। लोकतान्त्रिक आन्दोलनको मूलधार हो।
नेकपा विभाजनमा प्रधानमन्त्री ओलीलाई साथ दिएका मुख्यमन्त्री गुरुङले पार्टी विभाजन हुँदा रवीन्द्रलगायतले बगाएको रगत र पसिना खेर जाने अवस्था आएको बताए। रवीन्द्रको शालिक अगाडि उभिएर उनले भने-हामीले भोलि जनतालाई जवाफ दिनुपर्छ।
रवीन्द्र पत्नी विद्या प्रतिष्ठानको अध्यक्ष छिन्। विद्या अहिले ओली पक्षमा छन् भने प्रतिष्ठानका महासचिव धनराज आचार्य प्रचण्ड–नेपाल पक्षमा छन्। विभाजित नेकपाका दुबै समूहका नेता पहिलो पटक यही कार्यक्रममा एकै थलोमा देखिए।
अहिले रवीन्द्र बाँचेका भए नेकपाको विभाजनमा उनी कता लाग्थे होलान्? रवीन्द्र पत्नी विद्या भट्टराइसँग पनि यो प्रश्नको स्पष्ट जवाफ छैन।
‘उहाँ भएको भए कता हुनुहुन्थ्यो, यसै भन्न सकिन्न,’ उनले भनिन्, ‘मलाई लाग्ने के भने हामी दुबै जना राजनीतिमा द्वन्द्व गरौं भन्ने होइन। मिलनविन्दु खोज्नुपर्छ भन्ने हो। तर सधैँ हाम्रो सामर्थ्यले पुग्दैन।’
रवीन्द्रले राजनीतिमा संयोजनकारी भूमिका खेल्ने गर्दथे। कहीँकतै द्वन्द्व हुँदा यसरी जाउँ भनेर मध्यमार्ग देखाउँथे। अहिले त्यो क्षमता राजनीतिको दोस्रो र तेस्रो पुस्तामा नदेखिएको विद्या बताउँछिन्।
‘पार्टीको द्वन्द्व चरम अवस्थामा पुग्दा एकातिर लाग्नुपर्ने त हुन्थ्यो नै, त्यतिबेला व्यक्तिगत भूमिका त्यति प्रभावशाली नहुन पनि सक्छ। तर आन्तरिक द्वन्द्व हुँदा जहिले पनि उहाँको संयोजनकारी भूमिका हो। कसैलाई नमीठो व्यवहार नगर्ने। सबैसँग मिठो तरिकाले बोल्ने र समाधान खोज्ने हो’, उनले भनिन्।