प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ठिक ढंगले चलेका कारण आफूमाथि प्रहार तीब्र गतिमा केन्द्रित भएको बताएका छन्।
उनले यस्तो प्रहार आफूमाथि शारीरिक हमला नै हुन सक्ने आँकलन गरेका छन्।
‘तपाईहरु अनौठो नमान्नु होला। म माथि शारिरीक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने पनि तलमाथि नमान्नुहोला। तर यस्तो हुन दिइहने छैन हामी सतर्कता अपनाउँछौ,’ उनले भने।
पोखरामा आइतबार आयोजित कार्यकर्ता भेलालाई संवोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन्। तर कोबाट आफूमाथि शारीरिक हमला हुँदैछ भन्नेबारे खुलाएनन्।
उनले अगाडी बढेर भने– ‘म रहिन भने पनि केही छैन। आन्दोलन छ, पार्टी छ। यस आन्दोलनले प्रतिक्रियावादी तत्वहरु र तिनका मतियारसँग घुँडा टेक्न हुँदैन। देश बनाउने पार्टीको भविश्य अन्धकारमा जान दिनुहुँदैन। पार्टीलाई तल माथि पर्न दिनुहुँदैन।’
प्रधानमन्त्री ओलीले अहिलेको लोकतन्त्र आफूहरुले लडेर ल्याएको भन्दै यसको रक्षाको लागि जस्तोसुकै परिस्थितिको सामना गर्ने बताए।
‘हामी हरेक परिस्थितिको सामपना गर्छौ, हामीले पूर्ण रुपमा हामीले लडेर ल्याएको लोकतन्त्रको रक्षा गर्छौ, हामी सही तरिकाले व्यवहारमा उतार्छौ, हाम्रो आचरण व्यवहार पूर्ण लोकतान्त्रिक हुन्छ,’ उनले भने।
संसद विघटनअघि फागुन १५ गते पोखराको अमरसिंह चौरमा एक लाख कार्यकर्ता उतार्ने गरी नेकपा ओली पक्षले आमसभाको तयारी गरेको थियो।
संसद विघटन सर्वोच्च अदालतले बदर गरिदिएपछि उक्त सभा रोकिएको थियो। सभाको तयारी गरेका कार्यकर्तालाई संवोधन गर्न प्रधानमन्त्री आइतबार पोखरा आएका हुन्। उनले प्रचण्ड–नेपाल पक्षलाई इङ्गित गर्दै अपराधी तत्वसँग लडेको दाबी गरे।
‘हामी अपराधी तत्वहरुसँग लडिरहेका छौ, सामना गरिरहेका छौ’, ओलीले भने, ‘जालझेल षडयन्त्र तिकडम बाहेक उनीहरुसँग राजनीति पनि छैन।’
प्रचण्ड–नेपाल पक्षसँग लोकतान्त्रिक मुल्य–मान्यता नभएको भन्दै उनले कसरी अपमान गर्नसकिन्छ त्यो मात्र देखिएको बताए।
‘मेरो अपमान कसरी गर्न सकिन्छ, झुटा लाञ्छाना कसरी लगाउन सकिन्छ, झुटा लाञ्छानालाई कसरी प्रचारित गर्न सकिन्छ, त्यो काम उनीहरुले विधिवत १९ पृष्ठ लामो झुटा पुलिन्दा तयार गरेर विश्वव्यापी रुपमा प्रचारित गरेको तपाईहरुले देख्नुभयो। त्यो किन गर्नुपर्यो। झुटा लाञ्छानाको पुलिन्दा किन?’ ओलीले भने।
उनले आफू एकजना व्यक्ति मात्र भएको भन्दै त्यो लाञ्छाना आफूमा मात्र केन्द्रित नभएको बताए।
‘यो हाम्रो आन्दोलनलाई समाप्त पार्ने, पार्टी समाप्त पार्ने कुरासँग सम्बन्धित छ’, उनले भने।
आन्दोलनमा उतारचढाव हुने भन्दै कार्यकर्तालाई अलमलमा नपर्न समेत उनले आग्रह गरे। प्रधानमन्त्री ओलीले पार्टी शुद्धिकरण र सुदृढिकरण आजको आवश्यकता भएको भन्दै कार्यकर्तालाई आनीबानी र व्यवहार परिवर्तन गर्नुपर्ने बताए।
‘हाम्रो बोली अनुशरणीय हुनुपर्छ, अरुले हाम्रो बोलीबचनबाट शिक्षा लिउन्, प्रेरणा लिउन,’ उनले भने, ‘जनतालाई प्रेमपूर्वक सही कुरा बुझाउने गर्नुपर्छ।’
केन्द्रिय कमिटीमा प्रचण्ड–नेपालको पक्षमा रहेको बहुमत आफुले नोटकपीमा लेखेर दिएको प्रधानमन्त्री ओलीले दाबी गरे।
‘त्यो बहुमत त मैले नै दिएको हो एकताका निम्ती, मेरो नोटकपीमा नाम लेखेर केन्द्रिय कमिटी बनाएको हो’, उनले भने, ‘उहाँहरु षड्यन्त्रपूर्ण ढंगले बेस्सरी बार्गेनिङ गर्दै हुनुहुन्थ्यो, त्यो बेला किन भनेको त पार्टी विगार्ने, देश बिगार्ने योजना त लुकेकै रैछ त्यो बेला।’
आफू अध्यक्ष हुँदा आफैले बहुमत राख्न सक्ने एपनि एकताका लागि नराखेको उनले दाबी गरे।
‘पार्टी एकता सक्ने वित्तिकै पार्टी कब्जा गर्ने, आन्दोलन समाप्त पार्ने, देश बर्बाद पार्ने र देशमा ‘कम्फर्टेबल’ सरकार बनाइदिने योजना रहेछ उनीहरुको’, ओलीले भने।
प्रचण्ड नेपालले देश बनाउने, देशको विकास गर्ने र जनताको सेवा गर्ने नभए कसैलाई कम्फर्टेबल सरकार बनाउन खोजेको ओलीले आरोप लगाए।
केन्द्रिय कमिटीमा जुन हातले नाम लेखेको हो, त्यो हातले नाम काट्न सक्ने र नियुक्ती दिनेले नियुक्ती बदर गर्न सक्ने ओलीले तर्क छ।
‘त्यसैकारण मुख्य सचेतक बनाएको थिए देवप्रसाद गुरुङलाई, अस्तीका दिन मैले हटाइदिए,’ उनले भने, ‘मैले बनाएको मैले हटाइदिए, अर्को मुख्य सचेतक नियुक्त गरें।’
प्रचण्ड-नेपाल पक्षलाई केन्द्रिय कमिटीको बैठकमा आउनसमेत ओलीले आग्रह गरेका छन्।
‘अहिलेसम्म उहाँहरुलाई मैले चलाएको छैन है, उहाँहरु सामना गर्न नसक्नु, मुख देखाउन नसक्नु, लाजले भाग्नु एउटा कुरा हो। बदमासी देखिएपछि भाग्नु एउटा कुरा हो। तर उहाँहरुको मैले केही पनि चलाइदिए छैन। आउनुस न त, अध्यक्ष हुँदै हुनुहुन्छ,’ उनले भने।
पार्टी बैठकबाट विधी र प्रक्रिया अनुसार पार्टी अध्यक्ष र संसदीय दलको नेता बन्न ओलीले प्रचण्ड–नेपाललाई चुनौती दिए।
‘बाटामा अध्यक्ष भए भनेर, माइतिघर मण्डलामा अध्यक्ष भए भनेर, कार्की ब्याकुटमा अध्यक्ष भए भनेर, कतै दलको नेता छानिए म भनेर, तिनीहरु त आफै अध्यक्ष छान्छन्, आफै लड्डु खान्छन्, आफै माला लाउँछन्, मैले सुनेको एक जना आफै अध्यक्ष छानिए रे, अर्को दलको नेता छानिए हरे,’ उनले भने।
प्रचण्ड–नेपाल पक्षले विधी, पद्धती र प्रक्रियाका कुरा गर्ने गरेपनि अहिले उनीहरुको छर्लङ्गै देखिएको ओलीले टिप्पणी गरे।
‘अध्यक्ष छान्ने, दलको नेता छान्ने विधी पद्धती प्रक्रिया कहाँ रहेछ? पार्टी फोडेर हिड्ने कहाँ रहेछ विधि पद्धती प्रक्रिया? केन्द्रिय कमिटी बोलाएको ठाउँमा किन उहाँहरु आउनुभएन? ओलीले प्रश्न गरे।
प्रचण्ड नेपालको पक्षमा रहेको केन्द्रिय कमिटीको बहुमत पनि पुष्टि नभएको उनले बताए।
कार्की ब्याङ्केटमा भोज खान बोलाएर आएका जति सबैलाई केन्द्रिय सदस्य भनेको ओलीको टिप्पणी छ। कार्की ब्याङ्केटमा बसेको केन्द्रिय समिति बैठकबाटै नेकपा प्रचण्ड–नेपाल पक्षले माधव नेपाललाई पार्टीका अर्का अध्यक्ष तोकेका थिए। उनीहरुले अहिले प्रधानमन्त्रीको खोजी गरिरहेको समेत उनले बताए।
‘तपाईहरुले देख्नुभएको छ प्रधानमन्त्रीको खोजी कत्रो भइराखेको छ। कोही गित गाउँछन्। दिए खान्थे मायाको दाहिने हातले भन्छन्। साथीहरुले मान्दिए म पनि हुन्छु भन्छ। त्यही हो दिए खान्थे मायाको दाहिने हातले भनेको। त्यसको एउटा विधी छ पद्धती छ। कानुन छ। संसदीय परिपाटी छ। त्यस अन्तर्गत आउनुस्। यदी उहाँहरु अपराधै गर्न सफल हुनुभयो भने पनि विधी प्रक्रियाबाट आउनुस्। हामी मान्छौं,’ ओलीले भने।
प्रधानमन्त्री ओलीले डेढ वर्ष प्रतिपक्षमा बस्न आफू तयार रहेको समेत बताए।
‘विधि प्रकृयाबाट आउनुहोस् हामी मान्छौं, मानेर केही बिग्रदैन। डेढ वर्षसम्म हामी प्रतिपक्षमा बस्छौं’, प्रधानमन्त्रीले भने,‘डेढ वर्ष प्रतिपक्षमा बसेपछि दुई तिहाईको बहुमतसहित हामी फेरि फर्केर जान्छौं।’
डेढ वर्ष पछि फेरि दुई तिहाई मत लिएर आउने उनले दाबी गरे।
‘हामीलाई कुनै छलछाम गर्न छैन, तिकडम गर्नु छैन, देश बनाउने हाम्रो परिकल्पना हो’, उनले भने, ‘यो हाम्रो उदेश्य हो, हाम्रो सपना हो, यसका लागि जनतालाई अघि सार्छौ, फेरि दुई तिहाईका साथ फर्कन्छौं।’
आफूलाई अघिल्लो पटक प्रधानमन्त्री पदबाट हटाएका पनि माधव नेपाल, प्रचण्ड र झलनाथ खनाल भएको उनले बताए।
एउटै पार्टीमा रहेर पनि माधव नेपाल र झलनाथ खनालले प्रचण्डलाई उकासेर आफूलाई हटाएको ओलीले दाबी गरे।प्रधानमन्त्रीलाई गलहत्याएर होइन, अविश्वासको प्रस्ताव राखेर हटाउन उनले प्रचण्ड–नेपाललाई चुनौती दिए।
‘उहाँहरुलाई बलियो छु भन्ने लाग्दछ भने प्रधानमन्त्रीसँग कुस्ती खेल्ने, जसले जित्छ उहीँ प्रधानमन्त्री,’ उनले भने।
गलहत्याउने परिपाटीले दिनमा दुई तीन पल्ट प्रधानमन्त्री फेरिने उनले दाबी गरे। यो भन्दा कुस्तीकै नियम ठिक भएको र तीन तीन महिनामा प्रतियोगिता आयोजना गर्न सकिने प्रधानमन्त्री ओलीको तर्क छ।
प्रचण्ड–नेपालले सरकारलाई काम गर्न नदिएपनि धेरै काम बलजफती गरेको ओलीले बताए।
सर्वोच्चले बदर गरिदिएको संसद विघटनको कदम ठिक भएको भन्दै ओलीले आफ्नो कदमको बचाउ गरे।
‘चुनाव भएको भए अहिलेसम्म देश चुनावको एउटा गतिमा जान्थ्यो, देश फेरी अन्यौलमा फस्यो, जे भएपनि सर्वोच्चले एउटा फैसला गर्यो हामी मान्छौं, त्यसको कार्यान्वयन गर्छौ’, उनले भने, ‘२३ गते प्रतिनिधी सभाको बैठक बस्छ। त्यसका लागि आज विहान मात्र मन्त्रिपरिषदको बैठक बसेर २३ गतेका लागि राष्टपति समक्ष सिफारिस गरेका छौं २३ गते प्रतिनिधि सभाको बैठक गरि पाउँ भनेर।’