प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा संसदीय दलको बैठकका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाललागयत सबै सांसदहरूलाई 'एसएमएस' पठाएको छ।
नेकपाले संसदीय दलको बैठकमा बोलाउन सांसदहरूलाई एसएमएस पठाउने गरेको छ।
प्रधानमन्त्री ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले प्रचण्डसहित सबै सांसदहरूलाई २२ गते संसदीय दलको बैठकमा उपस्थित हुन म्यासेज पठाइएको बताए।
'हामीले सबै सांसदहरूलाई एसएमएस पठाएका छौं', भट्टराईले सेतोपाटीसँग भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल पक्षमा लागेका देव गुरूङलाई हटाएर भट्टराईलाई प्रमुख सचेतक बनाएका थिए।
तर नेकपाको प्रचण्ड नेपाल पक्षले भने दलका नेता केपी शर्माा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी र भट्टराईलाई कारबाही गरेको जानकारी संसद सचिवालयमा दिएको छ।
भट्टराईलाई ओलीले प्रमुख सचेतकको जिम्मेवारी दिए पनि सभामुख अग्नि सापकोटाले अहिलेसम्म भट्टराईलाई भेट्न समय दिएका छैनन्।
'मैले सभामुखलाई भेट्ने अवसर पाएको छैन। सायद उहाँको समय नमिलेर होला', भट्टराईले सेतोपाटीलाई भने।
नेकपाकै ओली पक्षका अर्का एक सांसदले भने भट्टराईको पटकपटकको प्रयासपछि पनि सभामुखले भट्टराईलाई नभेटेको बताए।
'सभामुखले भट्टराईलाई मान्यता नदिए जस्तो देखिन्छ', ती सांसदले भने, 'सभामुखले अचाक्ली गर्नु भएको छ।'
संसद सचिवालयले भने भट्टराईलाई दलको प्रमुख सचेकतका रूपमा कार्यकक्ष, सवारी साधन लगायतको व्यवस्था गरिसकेको छ।
भट्टराईले भेट्न समय नदिए पनि सभामुख सापकोटाले देव गुरुङलगायत प्रचण्ड-नेपाल पक्षका सांसदहरूसँग भने नियमित भेटघाट गरिरहेका छन्।