गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले नयाँ सरकार बनाउने विकल्पले समस्याको समाधान नगर्ने बताएका छन्।
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर देशलाई अस्थिरतातर्फ धकेलेको दाबी गर्दै उनले फैसलापछि दुई वटा विकल्प रहेको बताए।
‘पहिलो विकल्प विभाजित आफ्नै पार्टी नेकपाभित्र सहमति खोज्ने। वैमनश्यताले दुईतिर फर्किएको पार्टीलाई एकैतिर फर्काउन के/के विकल्प हुन सक्छन् ? कसरी फेरि एकै ठाउँमा ल्याउन सकिन्छ भन्ने विकल्पको खोजमा छौं। पहिलो विकल्प यही नै हो,’ उनले भने।
उनले दोस्रो विकल्पका रूपमा कांग्रेससँग समर्थन खोज्ने भएको बताए।
‘नेपाली कांग्रेसको समर्थनमा केपी ओलीकै सरकार बनाउन सक्ने विकल्प रहन सक्छ। या नेपाली कांग्रेसकै समर्थनमा प्रचण्ड–माधव समूहको सरकार बन्न सक्ने अवस्था पनि रह्यो। वा प्रचण्ड–माधवकै समर्थनमा नेपाली कांग्रेसको सरकार बन्न सक्ने सम्भावना पनि सक्ने देखिन्छ। केपी ओलीकै नेतृत्वको दलले नेपाली कांग्रेसलाई समर्थन गरेर अर्को सरकार बन्ने सम्भावना पनि त्यत्तिकै छ,’ उनले दोस्रो विकल्प पेश गरे।
तर यी दुबै विकल्पले समस्याको समाधान नगर्ने उनले बताए।
‘यी विकल्प समस्या समाधानका विकल्प भने होइनन्’, उनले भने, ‘तत्कालका लागि सिर्जित संसदको अवस्थालाई कमसेकम अन्त्य गर्ने र सरकार निर्माण गरेर जनतालाई अभिभावक दिने हो।’
सर्वोच्च अदालतको संसद पुनर्स्थापना गर्ने फैसलाले पार्टी-पार्टीमा विभाजन ल्याइदिएको उनले दाबी गरे।
‘नेकपामा विवाद छँदै थियो, भावनात्मक रूपमा दुई वटा पार्टी भइसकेका छन्,’ उनले भने, ‘नेपाली कांग्रेसभित्र पनि दुई धारमा विवाद देखिन्छ। जनता समाजवादी पार्टीभित्र पनि साविक राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीबीच देखिने गरेर विवाद सुरू भइसकेको छ। देखिने गरी गुटबन्दी देखिन्छ।’
मुलुकमा देखिएको राजनीतिक समस्याको समाधान निर्वाचन नै रहेको उनले दाबी गरे।
‘हामी चुनावको पक्षमा थियौं। तर, सर्वोच्चले एउटा फैसला गरिदियो, चुनावमा जाँदा देश स्थिरतातिर जान्छ’, उनले भने, ‘चुनाव भनेको अस्थिरताको बाटो होइन। चुनाव समस्या समाधानको बाटो हो।’
प्रदेश खोप भण्डारण गृहको शिलान्यास गर्दै मुख्यमन्त्री गुरूङले उक्त कुरा बताएका हुन्।
नेकपा ओली पक्षका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज समेत रहेका गुरूङले संसद पुनर्स्थापनापश्चात सांसदको खरिद विक्री सुरू भएको दाबी गरे।
‘यी सबै गुटबन्दीमा खेल्ने ठाउँ, हर्स ट्रेडिङ, सांसद खरिदविक्रीको ठाउँ सुरू हुने, तानातान हुने अवस्था सिर्जना हुन्छ भनेर चुनावमा जाने भनेका थियौं। तर, नेपाल सरकारको सिफारिसलाई सर्वोच्चले उल्ट्याइदिएका कारण नेपाली राजनीति नयाँ कोर्समा खोजेको छ,’ उनले भने।
४० लाख खोप भण्डारण गर्न भण्डारण गृह
कोरोना महामारी रोकथाम गर्न खोप लगाउन सुरू भइसक्दा समेत खोप भण्डारण गृह थिएन। गण्डकी प्रेदशमा पहिलो चरणमा १८ हजार जनालाई कोरोना विरूद्धको खोप ‘कोभिसिल्ड’ लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत महाशाखा प्रमुख डा. रामबहादुर केसीले जानकारी दिए।
कोरोना महामारीविरूद्ध खटिएका स्वास्थ्यकर्मी, स्वयंसेविका, सुरक्षाकर्मी, संचारकर्मी लगायतले पहिलो चरणमा खोप लगाएका छन्। अब आइतबारदेखि ५५ वर्षमाथिका नागरिकलाई खोप लगाउने अभियान सुरू हुने डा. केसीले जानकारी दिए।
गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या १६ हजार १०७ जना छन्। जसमा १५ हजार ७०१ जना निको भइसकेका छन् भने अझै २०१ जना संक्रमित छन्।
यस्तै, कोरोनाकै कारण गण्डकी प्रेदशमा २०५ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले बताए।
खोप अभियान सुरू भएसँगै ठूलो परिमाणमा खोप भण्डारण गर्न खोप भण्डारण गृह बनाउन लागेको शर्माले बताए।
प्रदेश स्वास्थ्य तालिम केन्द्रको हातामा बनाउन लागिएको भण्डारण गृह दुई महिनामा निर्माण सक्ने लक्ष्य राखिएको छ।
उक्त गृहमा ४० लाख खोप भण्डार गर्न सकिने डा. शर्माले जानकारी दिए।
‘अहिले पनि हाम्रो १२ वटा रेगुलर खोप छन्, तिनको पनि भण्डारण गर्नुपर्छ’, उनले भने, ‘ठूलो मात्रामा खोप सुरक्षित रूपमा भण्डारण गर्न यो चिस्यान केन्द्र बनाउन लागेका हौं।’
अहिलेसम्म थोरै संख्यामा मात्र खोप भण्डारण गर्ने क्षमता रहेको उनले बताए।
खोप भण्डारण गृह बनाउन १ करोड १२ लाख रुपैयाँमा स्टिमेट भए पनि टेण्डरमार्फत ७५ लाख रुपैयाँमा ठेक्का लागेको प्रदेशको आपूर्ति तथा भण्डारण शाखा प्रमुख खिमबहादुर खड्काले जानकारी दिए।
कोरोनाविरूद्धको खोप २ देखि ८ डिग्री सेल्सियसमा राख्नुपर्ने भएकाले उपयुक्त तापक्रम मिलाएर राख्न भण्डारण गृहको आवश्यकता परेको खड्काले बताए।