सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकीकरण खारेज गरिदिएपछि पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल समूहले कानुन व्यवसायीसँग छलफल गरेको छ।
प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद भवनबाट बाहिरिँदै प्रचण्डले उक्त फैसलाको व्याख्याबारे कानुन व्यवसायीहरूसँग छलफल गर्न लागेको बताएका थिए।
'हामीले अहिले सिंहदरबारमा यो फैसलाको ब्याख्याबारे कानुन व्यवसायीसँग छलफल गर्छौं। त्यसपछि के गर्ने निर्णय गर्छौं,' प्रचण्डले भने।
अहिले सिंहदरबारमा भइरहेको छलफलमा प्रचण्ड-माधव समूहका नेतासहित कानुन व्यवसायीहरू शम्भु थापा, मुक्ति प्रधान, रमण श्रेष्ठ,टीकाराम भट्टराईलगायत छन्।
प्रचण्डले आफूहरूले आज संसद बैठक बहिष्कार गर्नुको कारण सरकारले ल्याएको अध्यादेश भएको बताए।
'हामी संसद छोडेर हिँडेका होइनौं। यो सरकारका मन्त्रीहरूले पाठ गरेको नाटक हेर्न सकिएन, त्यही भएर हामी निस्कियौं। कसको सरकार भन्ने नै टुंगो नलागेका मन्त्रीहरूको नाटक हेरेर बस्न सकिएन। त्यही भएर बैठक बहिष्कार गरेका हौं। त्यहाँ बस्नु कुनै दृष्टिले पनि लोकतान्त्रिक नहुने, राजनीतिक नहुने भएकाले निस्किएका हौं,' उनले भने।