घरमै तान लगाएर गलबन्दी, स्वेटर, टोपीजस्ता कपडा बुन्थिन् हिता रूपाखेती। 'मैले पहिला यस्तो बुन्थेँ,' गलामा लगाएको ढाकाको गलबन्दी देखाउँदै उनले भनिन्।
पोखरामा विन्ध्यावासिनी ढाका उद्योगमा बुन्ने काम गरेकी हिता पछि आफ्नो गाउँ थुम्की फर्किन्। फर्किँदा एक्लै गइनन्, चार वटा ढाका बुन्ने तान पनि लगिन्। घरमा दिदीलाई बुन्न सिकाइन्। गाउँमै ढाका बुनेर बजारमा बेच्न थालिन्।
मकै, कोदो लगायत अन्नबाली र पशुपालनलाई पनि निरन्तरता दिइन्। अहिले पनि सात वटा माउ सुँगुर र पाँच छाउरा उनले पालेकी छन्। ढाका बुन्दै, खेतिपातीमा लाग्दालाग्दै उनी विभिन्न सामाजिक संस्थासँग जोडिइन्।
दोस्रो जनआन्दोलनपछि गाउँमा राजनीतिक कार्यकर्ताको चहलपहल बढ्दै थियो। एकदिन हितालाई तत्कालीन एमाले कार्यकर्ताले गाउँकै एउटा चौतारामा बोलाए। माओवादी युद्धका कारण कांग्रेस, एमाले लगायत पार्टी पहिले गाउँ छिर्न सकेका थिएनन्। जनआन्दोलनपछि उनीहरू संगठन बनाउन गाउँ आए।
चौतारामा पुगेकी हितालाई एमालेले सदस्यता दियो, कार्यकर्ता बनिन्।
'कसलाई कुन पदमा राख्ने भनेर सल्लाह भयो, मलाई सदस्यमा राखे,' उनले भनिन्।
पार्टी राजनीतिमा यसरी जोडिएकी हिता पछि गाउँ कमिटीकी उपाध्यक्ष बनिन्। यसबीच संविधानसभाका दुइटा निर्वाचन भए। संविधान जारी भएपछि राज्यको पुनर्संरचना भयो, स्थानीय तह बने। हिताको थुम्की गाउँ कास्की, रूपा गाउँपालिका वडा नं. २ मा पर्यो।
स्थानीय निर्वाचन हुने भएपछि दलहरू 'जित्ने' उम्मेदवार खोजीमा लागे। प्रत्येक वडामा एक दलित महिला सदस्य अनिवार्य हुनुपर्ने प्रावधानअनुसार एमालेले हितालाई रूपा–२ बाट उम्मेदवार उठायो।
पार्टीले उम्मेदवार उठाउँदासम्म हितालाई यसबारे थाहै थिएन। गाउँगाउँमा चुनावी गर्मी बढ्दै जाँदा वडाध्यक्षका कांग्रेस उम्मेदवार हरिकृष्ण ओझाले यसबारे जानकारी दिए।
चुनावअघि हितालाई भेट्न गएका हरिकृष्णले सोधेछन्, 'दिदी तपाईं राम्रो मान्छे, किन एमालेमा जानुभएको?'
उनले 'तपाईं हामीसित हुनुपर्छ' भनेर कांग्रेसबाट चुनाव लड्न प्रस्ताव गरेको हिता सम्झिन्छिन्। एमाले राजनीतिमा लागिसकेकी हिताले प्रस्ताव अस्वीकार गर्दै भनिछन्, 'राम्रो मान्छे कुन पार्टीमा चाहिएको छैन र?'
यदि संविधानमा वडा समितिमा दलित महिला सदस्य अनिवार्य नभनिएको भए पनि आफू उम्मेदवार हुनेमा उनी आशावादी थिइन्। पार्टी राजनीतिमा लाग्नुअघिदेखि नै सामाजिक रूपमा उनको सक्रियता देखेरै एमालेले भित्र्याएको थियो।
'सामाजिक काममा सक्रिय थिएँ। योभन्दा अर्को मान्छे छैन भनेर मलाई नै उठाउँथे हालान्। दलित कोटा आयो, झन् सजिलो भयो। कोटा नभएकै भए पनि मैले मौका पाउँथे होला,' उनले भनिन्।
वडाका पाँच सदस्यमध्ये अध्यक्षमा उनै कांग्रेस उम्मेदवार हरिकृष्ण र बाँकी चार जना एमाले उम्मेदवार निर्वाचित भए। दलित महिला सदस्यका रूपमा निर्वाचित ४६ वर्षीय हिता भने अहिले कार्यवाहक वडाध्यक्ष छिन्। वडाध्यक्ष हरिकृष्णले निर्वाचित भएको तीन महिनामै हितालाई कार्यवाहक वडाध्यक्ष बनाएका हुन्।
कामको सिलसिलामा पोखरा बस्नुपर्ने भएपछि वडाध्यक्षले आफूलाई कार्यवाहक सुम्पिएको उनी बताउँछिन्।
पछि हिताले हरिकृष्ण गाउँ आएका बेला 'अब तपाईं नै चलाउनुस्' भनिन्।
'उहाँले तपाईंले धेरै राम्रो काम गर्नुभएको छ, तपाईं नै चलाउनुस् भन्नुभयो,' हिताले सुनाइन्।
स्थानीय तह निर्वाचन भएको चार वर्ष पुगिसक्यो, अर्को वर्ष फेरि निर्वाचन आउँदैछ। हरिकृष्णले यो चार वर्षमा पटक–पटक गरी एक वर्ष मात्र वडाध्यक्षका रूपमा काम गरे। बाँकी अवधि हिताले नै कार्यवाहक भएर चलाइन्। गत दसैंसम्म नेपालमै रहेका वडाध्यक्ष हरिकृष्ण अहिले जापान पुगेको हिताले बताइन्।
'हामीलाई भनेर त जानुभएको छैन। तर गाउँतिर सबैले उहाँ जापान जानुभयो भन्छन्,' उनले भनिन्, 'उहाँले मलाई कार्यवाहक वडाध्यक्ष लेखेर दिएको कागज बोकेर हिँडेकी छु।'
रूपा गाउँपालिकामा वडा बैठक कम्तीमा महिनामा दुईपटक बस्छ। योजना छनौटदेखि समीक्षा, अनुगमन लगायत काम हुन्छन्। हिताले यो सबै प्रक्रिया आफ्नो अध्यक्षतामा पूरा गरेकी छिन्। वडा तहमा योजना छान्न उनी टोलभेला गर्छिन्। आएका योजना वडाका अरू राजनीतिक पार्टीका प्रतिनिधिसँग सल्लाह गरेर गाउँपालिका पठाउँछन्। गाउँपालिकाले प्राथमिकता आधारमा योजना छनौट गरेर बजेट विनियोजन गर्छ।
रूपा गाउँपालिकामा सबभन्दा धरै खट्ने वडाध्यक्षमध्ये कार्यवाहक वडाध्यक्ष हिता नै अगाडि रहेको गाउँपालिका अध्यक्ष नवराज ओझा बताउँछन्।
'उहाँ यति धेरै खट्नुहुन्छ, घरघरै पुगेर सेवा गर्नुहुन्छ,' ओझाले भने, 'उहाँका योजना ठूला हुँदैनन्, तर सामान्य नागरिकका जीवनस्तर सुधार्ने खालका हुन्छन्। उहाँ आफ्नो योजना पास गराउन लागि पर्नुहुन्छ।'
हिताले गाउँपालिकासँग १३ लाख रूपैयाँ बजेट मागेर आफ्नो वडामा 'दलित भवन' बनाउन लागेकी छन्। भन्छिन्, 'हामी दलितलाई बस्ने ठाउँ थिएन। मिटिङ पनि बुटामुनि बस्नुपर्थ्यो।'
हिताले आफ्नै बलबुतामा वडामा केही काम गरेकी छिन्। वडाका दलित परिवारको आर्थिक अवस्था उकास्न प्रत्येक वर्ष दस घरलाई सुँगुर वा बंगुरका बच्चा वितरण गर्ने उनको कार्यक्रम छ। वडामा अहिले ६० घर दलित समुदायका छन्।
'हामी दलितको जीवन सुधार्न त्यो कार्यक्रम ल्याइयो,' उनले भनिन्, 'म कार्यवाहक वडाध्यक्ष हुन्थिनँ भने यो कार्यक्रम आउँथेन।'
उनका अनुसार रुपा–२ का सबै बालबालिका अहिले स्कुल जान्छन्। बच्चालाई स्कुल पठाउन घरघरै गएर आग्रह गरेको उनले बताइन्। आर्थिक अवस्था कमजोर भएकालाई स्कुल लैजान हिताले सहयोग पनि जुटाएकी छिन्। विभिन्न संघ–संस्थासँग सहकार्य गरेर उनले दलित बालबालिकालाई स्कुल ड्रेस र कापी, कलम जुटाइदिन्छिन्। माध्यमिक तहसम्म किताब त सरकारले नै दिन्छ।
'दलित समुदायलाई माथि उठाउन त पहिला पढाउनुपर्यो नि,' उनले भनिन्।
वडाका टोलटोलमा उनले कृषक समूह बनाएकी छिन्। कृषक समूहलाई गाउँपालिकाले २० प्रतिशत अनुदान दिने नीति छ। उनले आफ्नो वडाका किसानलाई त्यो सुविधा लिन र कृषिमा लाग्न प्रोत्साहन गरेकी छिन्। वडामा तरकारी र बाख्रापालनका दुइटा पकेट क्षेत्र बनाइएको छ। हिताकै सक्रियतामा अहिले रूपा–२ मा विद्यालय भवन बनेको छ भने चार वटा खानेपानी आयोजना सकिएका छन्।
स्थानीय तह पुनःसंरचना गर्दा रूपा–२ नयाँ वडा बनेको थियो। सबै कार्यालयसँगै स्वास्थ्य चौकी पनि अर्कै वडामा पर्यो। अहिले उनको वडामा नयाँ स्वास्थ्य चौकी बनेको छ। वडा कार्यालय, सडक र सिँचाइका योजनामा पनि अन्तभन्दा छिटो काम भइरहेको छ।
वडाबासीको हितमा खटिएकी हिता अनुगमनमा पनि उत्तिकै जान्छिन्। वडाबाट पाएको सुविधा सदुपयोग भयो, भएन भनेर बुझ्न घरघरै पुग्छिन्।
'सुँगुरको बच्चा बाँडेपछि कतिले बेच्लान्, कतिले काटेर खालान् भनेर हेर्न गइराख्छु,' उनले भनिन्, 'कसैको घरमा कुनै समस्या पर्यो भने मलाई नै बोलाउँछन्।'
गाउँमै एसएलसीसम्म अध्ययन गरेकी हिता अविवाहित छिन्। उनी नौ वर्षकी हुँदै बुबा गुमाएकी थिइन्, १८ वर्षकी हुँदा आमा पनि बितिन्। एक दाजु र ६ दिदी भएकी उनी परिवारकै कान्छी छोरी हुन्।
दलित समुदायमा हुर्केकी उनलाई आमाले सानोमै 'अर्काको घरमा नबस, खानेबेला नजाऊ' भनेर सिकाएकी थिइन् रे। उपल्लो जातिबाट हुने दुर्व्यवहार र छुवाछुतबाट 'जोगिन'। कथित उपल्लो जातले दलित समुदायका बालबच्चालाई हेप्थे, छुवाछुत गर्थे। अहिले पनि गाउँघरमा त्यो चलन हटिसकेको छैन। तर आफू अहिले जनप्रतिनिधि भएपछि पहिलेजस्तो छुवाछुत महसुस नभएको उनले बताइन्।
'अहिले त सबै सँगै खाइन्छ, हिँडिन्छ। कसैले त्यस्तो व्यवहार गरेका छैनन्। पछाडि कुरा गर्नेको त के पछि लाग्नु छ र,' उनले भनिन्। गाउँमा छुवाछुत घटना पहिलेभन्दा कम भएको उनको अनुभव छ।
परिवारले उनको बिहेका लागि धेरै दबाब दिएका थिए। उनलाई भने रहरै नलागेको बताउँछिन्, 'मैले अर्काको घर जानुपर्छ भन्ने सोचै राखिनँ। सबैले दुःख पाउँछौ, बिहे गर्नुपर्छ भनेर सम्झाउँदा पनि मानिनँ। अहिले पनि कहिलेकाहीँ आफन्तले बिहेको कुरा गर्छन्।'
आफूलाई कहिल्यै एक्लो अनुभूति नभएको उनी बताउँछिन्। हितासँगै उनको घरमा अविवाहित ठूलीकान्छी दिदी र काँइली दिदी छन्। काइँली दिदीका श्रीमान परिवारप्रति उत्तरदायी नभएपछि दिदी आफूसँगै बसिरहेको उनी बताउँछिन्। तिनै दिदीका दुई छोरी स्नातकोत्तर अध्ययन गरिरहेका छन्।
'मैले नै पढाएकी हुँ छोरीहरूलाई,' हिताले भनिन्, 'मेरै सन्तान हुनुपर्छ भन्ने के छ र?'
राजनीतिमा अलि ढिलै प्रवेश गरेकी हिता अहिले आफ्नो नामझैं नागरिकको हितमा केन्द्रित छिन्। आगामी निर्वाचनमा पनि उठ्ने सोच बनाएकी उनी भन्छिन्, 'राजनीति त जिन्दगीभरको काम हो नि।'
दलित महिला सदस्यबाट कार्यवाहक वडाध्यक्ष बनेकी हिता आउँदा निर्वाचनमा वडाध्यक्षको टिकट पाउनेमा भने शंका गर्छिन्। भन्छिन्, 'मेरो काम जनताले पत्याउनु पर्यो, पार्टीले पनि मूल्यांकन गर्नु पर्यो। चुनावका बेला घच्ची त हान्ने हो नि।'