नेकपा एमालेका बाग्लुङका अध्यक्ष इन्द्रलाल सापकोटा माओवादीसँग एकता भएपछि बनेको नेकपाको पनि जिल्ला अध्यक्ष भए।
गण्डकी प्रदेशसभाका सांसद समेत रहेका सापकोटा पहिल्यैदेखि एमालेमा माधव नेपालको लाइनमा थिए। प्रदेश सभामा नेपालको लाइनबाट उनी एक्ला सांसद हुन्। सर्वोच्चले पूर्ववत् पार्टीको अवस्था फर्काइदिएपछि फेरि उनी एमाले बाग्लुङका अध्यक्ष बनेका छन्।
अब एमालेको अध्यक्ष भएर काम गर्न उनलाई सजिलो छैन। नेकपाको प्रचण्ड–नेपाल पक्षमा लागेर आन्दोलनमा होमिएका घटना ताजै छ।
संसददेखि सडकसम्म उनले बोलेका शब्दहरू ‘रेकर्ड’मा छन्। नेपाल पक्षका भनेर उसै त ओली गुटका नेता, कार्यकर्ताले उनलाई हियाउने गरेका थिए, अब झन् गर्ने स्पष्ट छ।
यसका लागि सापकोटाले पनि मानसिक रूपमा तयारी गरेका छन्। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पार्टी एकता गरेर लत्याइदिएका कारण एकता जोगाउन आफूहरूले प्रयास गरेको उनको तर्क छ।
‘हामी निश्चित विधि, मूल्य, मान्यता र संस्कारको राजनीति गर्नुपर्छ भनेर आएका हौं। केपी ओलीले एमाले विघटन गरेर नेकपा बनाए। हामीले त्यसलाई स्वागत नै गर्यौं। उहाँले आफूले जन्माएको सन्तानलाई बेवारिसे छोडिदिनुभयो, गलत गर्नुभयो त्यसकारण आजको आवश्यकता कम्युनिष्ट पार्टीको एकतै हो भनेर त्यसलाई हामीले बोक्यौं,’ सापकोटाले भने।
पार्टी एकता गरेर राम्रो गरे पनि ओलीले नै पार्टी विघटन गरेको उनले आरोप लगाए।
उहाँले नेकपा छोडेर हिँड्नुभयो।
‘अलिअलि झस्को लाग्यो, अल्पमतमा परें भन्ने लाग्यो’, उनले भने, ‘आफैंले जन्माएको नेकपा आफैं ‘किल’ गरेर हिँड्नुभयो।’
प्रचण्ड–नेपाल पक्षमा लागेर आफूहरूले नेकपा 'किल' गर्न पाउनुहुन्न भनेर ओलीलाई भनेको सापकोटाले बताए।
अदालतको फैसला बाध्यात्मक रूपमा स्वीकार गरेको भन्दै उनले अब एमाले पार्टी ब्युँतिएपछि एमालेकै भूमिकामा रहने उनले बताए।
‘एमाले त हामीले बनाएको पार्टी हो नि, नेकपा एमाले अरु कसैले बनाएको पार्टी हो र ?’ उनले प्रश्न गरे।
ओली पक्षका कतिपय नेता–कार्यकर्ता भने तल्लो तहसम्म प्रचण्ड–नेपाललाई व्यंग्य कसिरहेका छन्। उनीहरूसँग लागेका कार्यकर्तालाई समेत कुन मुख लिएर पार्टीमा फर्केलान् ? भनिरहेका छन्।
सापकोटाले यी सब घटनाक्रम आफूले हेरिरहेको बताए।
‘यिनका चुरीफुरी कति दिन रहन्छ र! निष्ठाको राजनीति गर्नुस्। निश्चित मूल्य-मान्यताभित्र अघि बढेपछि यी चिज अस्थायी हुन्छन्। बदलिन्छन्। कास्की लगायत केही ठाउँमा उहाँहरू (ओली पक्ष)को दमन उत्पीडन सहेकै हुन् साथीहरूले। अब यसकाविरूद्ध विस्तारै वातावरण बनाउँदै जाने हो,’ सापकोटाले भने।
पार्टीभित्र विधी, मूल्य र मान्यतासहित लड्ने भन्दै उनले कहिलेकाहीँ अल्पमतमा परें भनेर नआत्तिने बताए।
अर्कालाई खिसिट्युरी गर्ने ओली पक्षको खेल भन्दै उनले पार्टी विभाजन हुँदा आफूलाई २ दिनदेखि निन्द्रा नपरेको बताए।
‘पार्टी फुट्दा खुसी हुने पनि यो संसारमा कोही मान्छे हुन्छ ? आज नेपाल कम्युनिष्ट पार्टी विभाजन हुँदा सबभन्दा दु:खी म छु’, उनले भने, ‘दुई दिनदेखि मलाई निन्द्रा परेछैन।’
राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री ओली, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ लगायतलाई अहिलेको ‘पोजिसन’मा पुर्याउन माओवादीको योगदान हेर्नुपर्ने उनले बताए।
माओवादीले यसका लागि ४० प्रतिशत योगदान दिएको उनको दाबी छ।
आफू एउटा समृद्ध कम्युनिष्ट पार्टी बनाउन, मुलुक बदल्न र समाजवाद ल्याउन लागेको भन्दै कम्युनिष्ट पार्टी फुट्दा त्यो लक्ष्य सम्भव नहुने उनको निष्कर्ष छ।
पार्टी एकता पद पाउनका लागि मात्र गरेको भनेर उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई प्रश्न गरे।
‘हामी त आन्दोलनका लागि समाजवाद ल्याउने, मुलुकमा एउटा समृद्ध पार्टी बनाउने, देश समृद्ध बनाउने, राजनीतिक स्थायित्व कायम गर्ने, भनेर एकता गरेको थियौं । यसैका लागि लौ जनसमुदाय भोट हाल्नुस् भन्यौ त्यही भोटले जितेको मान्छे हो नि ।’ सापकोटाले भने।
नेकपा एकता गर्दा केपी ओलीले माधव नेपाल र झलनाथ खनाललाई साक्षी मात्र बनाएको उनले बताए।
‘आजै एमाले बनाउने रहर भएका सथाीहरूलाई हिजै एमाले छँदै थियो त किन एकता गर्न पर्याथ्यो ? एकता कल्ले गरेको केपी ओलीले होइन ?,’ सापकोटोले भने, ‘माधव नेपाल र झलनाथ खनाल त साक्षी बसेका हुन्। ओली आफैंले जन्माएको संस्था 'किल' गरेर हिँड्नुभयो। उहाँले सडकमा फालिदिएको सन्तान स्याहारेको मात्र हो हामीले त।’
एमाले बनाउन आफूहरूले धेरै दु:ख गरेको भन्दै उनले धेरै मानिसको रगत र पसिना बगेको बताए।
एमालेको गत महाधिवेशनमा अध्यक्ष पदका लागि भएको निर्वाचनमा ४३ मतको मात्र अन्तर भएको भन्दै उनले यो सानो संख्याको अन्तर भएको बताए।
महाधिवेशनमा वामदेव गौतमले साथ दिएकाले ओलीले अध्यक्ष जितेको उनको भनाइ छ।
जनमतमा पनि ओली पहिलो नभएको उनको जिकिर छ। ओली जालझेल र षडयन्त्रमा मात्र अगाडि रहेको सापकोटोको विश्लेषण छ।
‘जनमतमा पनि उहाँ यो पार्टीको फर्स्ट मान्छे होइन। जालझेल र षडयन्त्रमा चाहिँ उहाँलाई भेट्न धेरै मान्छेलाई गाह्रै पर्छ। हामीलाई केपी ओलीको आशा चाहिएको छैन। हामी पार्टी भनेर लागेको हो, केपी ओली भनेर लागेको होइन। हामी केपी ओलीको आशीर्वाद खान पार्टीमा लागेको होइन। म पार्टीमा लाग्दा केपी ओली कहाँ हुनुहुन्थ्यो चिन्दा पनि चिन्दिनथें,’ उनले भने।
प्रधानमन्त्री ओलीले पार्टी पोलेर खाएको र गल्ती गरेको सापकोटाले आरोप लगाए।
आगामी दिनमा एमालेभित्रै रहेर ओली प्रवृत्तिसँग लड्ने उनले स्पष्ट पारे।
‘हाम्रो अध्यक्ष राम्रो हुँदा एकदम ग्रेट, सलुट, धन्यवाद कमरेड भन्यौं। पार्टी पोलेर खानुभयो। गल्ती गर्नुभयो। बेठिक गर्नुभयो। भन्यौं। अहिले पनि भन्छौं भोलि पनि भन्छौं’, उनले भने, ‘उहाँले गरेका गलत क्रियाकलापविरूद्ध पार्टीभित्र जमेर लड्छौं, कुरा क्लियर।’
पार्टीलाई अझै मजबुत बनाउन आफू लागिपर्ने समेत उनले बताएका छन्।
‘एमाले हाम्रो घर हो, अझै मजबुत बनाउँछौं। गलत क्रियाकलापविरूद्ध भिड्छौं। भागेर कहाँ हिँड्छौं र! उहाँहरूलाई भागेर हिँड्दिए हुन्थ्यो भन्ने उनीहरू (ओली पक्ष)लाई लागेको होला। लखेट्न पाएहुन्थ्यो भनेका होलान्। कहाँ भागेर हिँड्छौं, हामीले बनाएको घर ? हामीले बनाएको घरमा बसेर खाउलाउ थुपुक्क,’ उनले भने।
नेपाल पक्षबाट एमालेकै केन्द्रीय सदस्य बनेकी सीता ओली गिरीले कास्कीमा ओली पक्षले जहिल्यै दबावमा राख्ने गरेको बताइन्।
एमाले ब्युँतिएपछि माथिबाट कस्तो नीति आउँछ त्यही अनुसार आफू चल्ने उनले बताइन्।
ओली पक्ष भन्छ- उहाँहरूको गल्ती मानवीय, अन्यथा लिन्नौं
एमालेको ओली पक्षले नेकपाको नाममा रहेको कार्यालय धमाधम ‘नेकपा एमाले’ लेखिएको बोर्ड राखेका छन्।
पोखरामा रहेको नेकपाको गण्डकी प्रदेश कार्यालयमा मंगलबार एमाले लेखिएको बोर्ड राखिएको छ। यस्तै, लमजुङमा दुई महिनाअघि बन्द भएको कार्यालय सोमबार खुलेको छ।
नेकपा बनाउँदा लमजुङको अध्यक्ष माओवादीका मधुमाया अधिकारी चुनिएकी थिइन्। जब पार्टीमा खटपट सुरू भयो, उनलाई २ घण्टा पार्टी कार्यालयमै थुनेर ओली पक्षका कार्यकर्ताले अपमान गरेका थिए। त्यसयता बन्द भएको कार्यालय सोमबार खुलेको हो।
कार्यालय खुलेसँगै एमालेको पदाधिकारी बैठक बसेको एमाले लमजुङका अध्यक्ष धनञ्जय दवाडीले बताए।
पदाधिकारी बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल गरेको र पार्टी कार्यालय नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष दवाडीले बताए।
लमजुङमा नेकपा प्रचण्ड–नेपाल पक्षका सचिव बनेको हिरालाल विक पार्टी एकताअघि एमालेको जिल्ला सदस्य थिए। उनलाई पार्टीमै फर्केर निर्णय मान्न आग्रह गरेको अध्यक्ष दवाडीले बताए।
नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले विगतका कुरालाई लिएर पार्टीमा नेपाल पक्षका नेता, कार्यकर्तालाई तनाव नदिने बताए।
‘हिजोको कुरा हिजो सकियो, अब आजको कुरा आजबाट अघि बढ्छ’, उनले भने।
सर्वोच्चको फैसला अघिसम्म ओली पक्ष र प्रचण्ड-नेपाल पक्षको रस्साकस्सी सडकमा छताछुल्ल थियो।
गण्डकीमा बलियो संगठन रहेको ओली पक्षले प्रचण्ड-नेपाल समूहको भन्दा धेरै मानिस उतारेर देखाएका थिए। फैसलाअघि सडकमा देखिएका कुरालाई अन्यता नसोच्ने अध्यक्ष थापाले बताए।
‘हिजो उहाँहरूले हामीलाई गाली गर्नुभयो, मानवीय गल्ती भयो उहाँहरूको, उनले भने, त्यसलाई अब हामीले अन्यथा सोच्नुहुँदैन।’