सर्वोच्च अदालतले राजनीतिक फैसलामार्फत ब्युँताइदिएको एमालेभित्र केपी ओली र माधव नेपाल पक्षका कार्यकर्ता आपसमा भिड्न थालेका छन्।
सुनसरीको इनरुवास्थित जिल्ला पार्टी कार्यालयमा मंगलबार ओली र नेपाल पक्षका नेताहरुबीच एमाले लेखेको बोर्ड झुन्ड्याउने होड चलेको थियो। त्यसक्रममा नेपाल पक्षका नेता रमेश बस्नेतसहितको टोलीले पहिले बोर्ड राखेको थियो।
माथिल्लो भागमा ‘जनताको बहुदलीय जनवाद जिन्दाबाद’ लेखिएको बोर्डमा ‘नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी–लेनिनवादी’ भनेर पार्टीको ठूला अक्षरमा लेखिएको छ। कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर पनि बोर्डको बायाँ कुनामा राखिएको छ।
नेपाल पक्षले बोर्ड झुन्ड्याएको केहीबेरमा ओली पक्षका जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी, प्रदेश १ का मन्त्री जगदिश कुसियैत लगायतको टोलीले अघिल्लो बोर्ड झिकेर अर्कै बोर्ड झुन्ड्याएको थियो।
ओली पक्षले झुन्ड्याएको बोर्डमा पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीसहित दायाँ भागमा ओलीको फोटो पनि राखिएको छ।
ओलीको फोटोसहितको बोर्ड टाँगेको समूहले आफूले राम्रो बोर्ड राखेको दाबी गरेको छ। ‘उहाँहरुले भन्दा हामीले राखेको बोर्ड राम्रो भएकाले फेरेका हौं’, संविधानसभा सदस्यसमेत रहेका भण्डारीले भने ‘अरु कुनै कारण होइन।’
नेपाल पक्षका नेता रमेश बस्नेतले बोर्ड हटाएको जानकारी पाएको र त्यसको कारण खोजिरहेको बताए। ‘यदि फोटोकै कारण बोर्ड हटाएको हो भने त्यो गलत भयो’, बस्नेतले सेतोपाटीसँग भने ‘कम्युनिष्ट पार्टीमा कुनै पनि व्यक्तिको देवत्वकरण गर्ने कुरै हुन्न। केन्द्रकै पार्टी कार्यालयमा पनि फोटो राख्ने चलन छैन।’