न्यायपरिषदले सर्वोच्च अदालतमा २ र उच्च अदालतमा १८ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।
शुक्रबारको बैठकले उच्च अदालतका बरिष्ठ मुख्य न्यायाधीशबाट कुमार चुडाल र नहकुल सुवेदीलाई सर्वोच्च अदालतमा नियुक्ति सिफारिस गरेको न्यायपरिषदले जनाएको छ।
उच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरिएका १८ मध्ये एकजना केही समयअघि सिद्धबाबालाई बलात्कार मुद्दाबाट सफाइ दिने न्यायाधीश अर्जुन कोइराला पनि छन्।
उनको हकमा न्यायपरिषद सदस्य रहने सर्वोच्चका बरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले 'नोट अफ डिसेन्ट' लेखेका छन्।
'नियुक्तिका लागि सिफारिस गरिएका अरूमा सहमति हो, अर्जुन कोइरालाको हकमा मेरो नोट अफ डिसेन्ट छ,' उनले सेतोपाटीसँग भने।
परिषद बैठकले उच्च अदालतमा न्यायसेवाका विशिष्ट अधिकृतबाट २ जना, न्यायाधीशबाट सात जना, न्यायसेवाका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतबाट २ जना र कानुनव्यवसायीबाट सात जना लाई नियुक्तिका लागि सिफारिस गरेको हो।
उच्च अदालतको न्यायाधीशका लागि सिफारिस हुनेहरूमा नायव महान्यायाधीवक्ता नारायणप्रसाद पौडेल र कानुनसचिव ऋषि राजभण्डारी, जिल्ला न्यायाधीशहरू जगतनारायण प्रधान, माधवेन्द्र रेग्मी, पुरूषोत्तम प्रसाद ढकाल, विष्णु सुवेदी,अर्जुन प्रसाद कोइराला, अमृतबहादुर बस्नेत र मोदिनि प्रसाद अधिकारी, उच्च अदालत पाटनको हेटौंडा इजलासका रजिष्ट्रार रामेश्वर रेग्मी,सर्वोच्च अदालतकी सहरजिष्ट्रार ममता खनाल, अधिवक्ताहरू, फुर्पा तामाङ, श्रीधराकुमारी पुडासैनी, जगदीश घिमिरे, पुनमसिंह चन्द, सागर विष्ट, गणेश ठाकुर र निर्मला शाक्य छन्।
सर्वोच्च अदालतमा सिफारिस भएका २ जनालाई संसदीय सुनुवाई समितिले अनुमोदन गरी राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ। उच्च अदालतको न्यायाधीशमा सिफारिस भएकालाई प्रधानन्यायाधीशले नियुक्ति गर्ने कानुनी व्यवस्था छ।
यो सिफारिसमा ३ महिला परेका छन्।