नयाँ सरकार बनाउनेबारे निर्णय गर्ने आँकलन गरिए पनि जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै नबसी स्थगित भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीइतरको गठबन्धन बनाउन इच्छुक नेपाली कांग्रेस र माओवादी केन्द्रले जसपाको निर्णय पर्खेका थिए।
माओवादी केन्द्रका नेता वर्षमान पुनले पुस ५ को जसपा बैठकपछि कांग्रेस, माओवादी केन्द्र र जसपा गठबन्धनमा सरकार बन्ने दाबी गरेका थिए, तर त्यसो भएन।
तयारी नपुगेको बताउँदै जसपाले केन्द्रीय कार्यकारिणी बैठक स्थगित गरिदिएको छ। अध्यक्ष उपेन्द्र यादवले सरकार बनाउन अझै समय परिपक्क भइनसकेको बताए।
उनले प्रधानमन्त्री पदमा ओलीलाई निरन्तरता दिने पक्षमा आफूहरू नरहेको प्रतिक्रिया दिएका छन्।
‘ओलीजस्ता प्रतिगमनकारी शक्ति विरूद्ध उभिन्छौं,’ बैठक स्थगित भएपछि पत्रकारहरूसँग यादवले भने, ‘ओलीसँग लगनगाँठो बाँध्न सकिँदैन। परिस्थिति परिपक्क पनि भइसकेको छैन। ओलीसँग सहकार्य गर्दा मधेश आन्दोलनमाथि धोका हुन्छ।’
ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिनुले संघीयता खारेजीलाई सहयोग पुग्ने उनको भनाइ छ।
जसपाका एक जना नेताका अनुसार आज निश्चित एजेन्डा नै नभएकोले बैठक बस्न नसकेको हो।
‘सरकारमा जानुअघि एकसरो ओली, देउवा र प्रचण्डसँग कुराकानी गरिसकिएको छ,’ ती नेता भन्छन्, ‘हाम्रा नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्तासम्म गर्न ओली तयार हुनुभएन। संविधान संशोधनलगायत माग छ, ओली र देउवा कसैले पनि अहिलेसम्म माग पूरा गर्न ठोस प्रतिवद्धता जनाएका छैनन्।’
जसपामा मुख्यगरी दुइटा धार देखिन्छ। अध्यक्ष महन्थ ठाकुरलगायत ओलीलाई नै सहयोग गरेर जान सकिन्छ भनिरहेका छन् भने अर्का अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीइतर गठबन्धन बनाउनुपर्नेमा छन्।
‘ओलीसँग सहकार्य गर्नुपर्छ भन्नेहरूले हाम्रा मागबारे ओलीका ठोस प्रतिवद्धता पेश गर्न सकेका छैनन्। देउवासँग वा ओलीइतर नै गठबन्धन बनाउनुपर्छ भन्नेहरूले पनि हाम्रा माग पूरा हुने खाका पस्किन सकेका छैनन्। यस्तो अवस्थामा केन्द्रीय कार्यकारिणी बैठक के भनेर बस्ने? तयारी पुगेन, स्थगित गरियो,’ जसपाका एक केन्द्रीय नेताले भने।
ती नेताका अनुसार कांग्रेस सभापति देउवा नयाँ गठबन्धन बनाउन आतुर देखिएका छैनन्।
‘उहाँले सरकार बनाउने अग्रसरता नै देखाउनु भएन। हाम्रा मागमा अहिलेसम्म अनौपचारिक रूपमा पनि यो गर्छु त्यो गर्छु भन्ने प्रतिवद्धताका शब्दसमेत खर्चनु भएको छैन,’ उनले भने।
अर्कोतर्फ प्रधानमन्त्री ओली र उनको दल नेकपा एमालेसँग कार्यदल नै बनाएर छलफल गरे पनि मधेश आन्दोलनका क्रममा लागेका मुद्दासमेत फिर्ता गर्न ओली तयार भइसकेका छैनन्।
‘हाम्रा कार्यकर्तामाथि लागेका कुटपिटजस्ता मुद्दा फिर्ता लिन ओली तयार भएको देखिएन,’ उनले भने, ‘यस्तो अवस्थामा कसलाई सहयोग गर्ने निर्णय कसरी बैठकबाट गर्न सकिन्छ र?’
जसपा आफैँले सरकारको नेतृत्व गरेर जानुपर्नेबारे पार्टीभित्र आवाज उठे पनि अहिलेसम्म संसदीय दलको विधान र नेता चयन गर्ने काम नै नसकिएको उनी बताउँछन्।
‘राजपा र संघीय समाजवादी पार्टीबीच एकता हुँदा राजेन्द्र महतोलाई जसपा संसदीय दलको नेता बनाउने अनौपचारिक सहमति थियो,’ ती नेताले भने, ‘उक्त सहमतिमा उपेन्द्र यादवले थाहा नभएको प्रतिक्रिया दिनुभएको छ। दलको नेता को हुन्छ थाहा छैन।’
अर्कोतर्फ आफ्नो नेतृत्वमा सरकार बन्ने अवस्था नभएमा संसदीय दलको नेताले पार्टीबाट गठबन्धनको सरकारको नेतृत्व गर्न नहुने तर्क पनि उठेका छन्।
‘निश्चित एजेन्डा नै तयार नभई बैठक बसेर के अर्थ, तयारी नपुगेकोले आज बैठक नराखिएको हो,’ ती नेताले भने।
राजपा नेता केशव झा पनि तयारी नपुगेकोले बैठक स्थगित गर्नुपरेको बताउँछन्।
‘सरकारमा जानेबारे अझै प्रष्ट खाका बनिसकेको छैन,’ उनले सेतोपाटीसँग भने, ‘सरकारबारे आज छलफल गर्ने एजेन्डा थिएन। बरू समायोजनका कामबारे केही निर्णय गर्नुपर्ने थियो, तयारी नपुगेकोले बैठक स्थगित गरियो।’
अर्का नेता मोहम्मद इस्तियाक राईले दलहरूसँग सहकार्यबारे खाका तयार भइनसकेको बताए। ‘कोसँग कसरी र कस्तो सहकार्य गर्ने भन्ने खाका तयार भइसकेको छैन,’ उनले सेतोपाटीसँग भने।
जसपासँग ३४ मध्ये अहिले ३२ जना सांसद छन्। दुई सांसद निलम्बनमा छन्।
कांग्रेससँग ६३ मध्ये अहिले ६१ सांसद छन्। दुई जना निलम्बनमा परेका छन्।
माओवादी केन्द्रसँग ४८ सांसद छन्। संसदमा बहुमत पुर्याउन १३८ सांसद चाहिन्छ। यी तीन दल गठबन्धन गरे भने एमाले अध्यक्ष ओलीइतरको सरकार बनाउन संख्या पुग्छ।
तर प्रधानमन्त्री ओली पनि अविश्वास प्रस्ताव फेस गर्न आफू तयार रहेको बताइरहेका छन्।
जसपाका माग पूरा गरेर १२१ सांसद रहेको एमालेले बहुमतको सरकार बनाउने पनि धेरैको आँकलन छ। तर जसपाले कसलाई सहयोग गर्ने भन्नेबारे निर्णय गर्न सकेको छैन।