प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी आमसभामार्फत घोषणा गरेको सप्तकोशीको खुवालुङ (ढुंगो) फुटाउने योजना नागरिक प्रतिरोधको बलमा तत्काललाई रोकिएको छ।
यद्यपि सरकारले खुवालुङबारे जे-जे विकल्पहरू सोच्दैछ, त्यो जस्ताको तस्तै कार्यान्वयन भए किराती इतिहासको अलिखित अभिलेख र आस्थाको केन्द्र मानिने यो ढुंगो पुरानै स्वरुपमा नरहने खतरा अझै बढेको छ। रेल र पानीजहाजकाबारे लगातार पैरवी गर्दै आएको सरकारले जसरी पनि ‘ढुंगोको बाधा’ हटाउने अड्डी लिइरहेको छ। त्यसका लागि प्रदेश सरकारले बजेट नै विनियोजन गरिसकेको छ। देशव्यापी रूपमा सरकारी तयारीको प्रतिरोध भएपछि तत्काललाई खुवालुङ फुटाउन अघि बढ्ने सरकारी कदम रोकिएको मात्रै हो, सरकार पछि हटेको होइन।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई खुवालुङ संरक्षणबारे सरकार गम्भीर रहेको दाबी गर्छन्। प्रधानमन्त्रीका योजनाको चौतर्फी विरोध भएपछि ढुंगो तत्काल नफुटाउन निर्देशन दिएका मुख्यमन्त्री राई खुवालुङबारे उत्पन्न विवाद साम्य पार्न सरकारले तीन वटा विकल्पमा छलफल अघि बढाउने तयारी गरेको बताउँछन्।
मुख्यमन्त्रीले सुनाएका तीन विकल्पमध्ये दुई वटा उपायले उनको दाबीलाई समर्थन गर्दैन। ‘हामी यसबारे दुई तीन वटा विकल्पमा छलफल गरिरहेका छौं’, मुख्यमन्त्री राईले सेतोपाटीसँगको कुराकानीमा भने, ‘पहिलो, त्यो ढुंगालाई क्रेनले सारेर, जस्ताको तस्तै उठाएर अन्यत्र राख्ने, दोस्रो ढुंगाको खास भागलाई अर्को ठाउँमा सार्ने र त्यो क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने।’
मुख्यमन्त्रीले भनेको तेस्रो विकल्प हो नदीको वहावलाई नै परिवर्तन गर्ने। ‘अहिले म काठमाडौं छु, बैठकको व्यस्तता धेरै छ’, मुख्यमन्त्रीले फोनमा भने, ‘म विराटनगर फर्केपछि सम्पदाविज्ञ, संरक्षणकर्मी र स्थानीयवासीसँग यी तीन विकल्पबारे छलफल अघि बढाउनेछु।’ उनले १५ दिनभित्र विज्ञसहितको टोली लिएर अरूण र तमोर मिसिएर सप्तकोशी बन्ने त्रिवेणीमा आफैं पुग्ने योजना रहेको पनि सुनाए।
अस्वीकार्य सरकारी विकल्प!
मुख्यमन्त्रीले भनेका तीनमध्ये पहिलो दुई विकल्पले खुवालुङको सौन्दर्य र अर्थमा प्रहार गर्ने अनुसन्धाता एवम् लेखक भोगिराज चाम्लिङ बताउँछन्। भइरहेको ठाउँबाट अन्यत्र सार्ने अथवा फुटाएर त्यसको खास भागलाई अर्कै ठाउँ लगेर स्थापित गर्न खोज्दा त्यो किरात समुदायका लागि अस्वीकार्य हुने उनको भनाइ छ। ‘खुवालुङ जुन ठाउँमा जस्तो अवस्थामा छ, त्यसको अर्थ र सौन्दर्य त्यहीँ मात्रै झल्कन्छ’, चाम्लिङले सेतोपाटीसँग भने, ‘यदि सरकार यतातर्फ अघि बढ्छ भने समुदायका लागि स्वीकार्य नहुने कुरा आइसकेको छ।’
मुख्यमन्त्रीले भनेजस्तो तेस्रो विकल्प अर्थात नदीको वहाव परिवर्तन सबैभन्दा उत्तम हुने चाम्लिङको भनाइ छ।
खुवालुङ संरक्षणबारे मुखर रूपमा अभियानमै रहेका भाषाशास्त्री डा. तारामणि राई पनि चाम्लिङको कुरासँग सहमत छन्। ‘सरकारले जे विकल्प अघि सारे पनि उसले ढुंगो फुटाउन बजेट नै छुट्याइसकेको छ’, डा. राई भन्छन् ‘तर, त्यसमध्ये सबैभन्दा उपयुक्त विकल्प भनेको नदीको वहाव परिवर्तन नै हो। त्यो असम्भव योजना होइन।’
जलस्रोत विज्ञ अजय दिक्षित भने ढुंगा फुटाउने र नदीको वहाव परिवर्तन गर्नेभन्दा यथास्थितिकै अवस्था रहन दिनु राम्रो हुने बताउँछन्। ‘जहाज नै चलाउने हो भने ढुंगाको दायाँबायाँतिरबाट चलाउन सकिन्छ’, दिक्षितले भने ‘सप्तकोशी धेरै ठूलो नदी हो वहाव परिवर्तन गाह्रो हुनसक्छ।’ उनले नदीबीचमा रहेको ढुंगो फुटाउने काम प्राकृतिक र साँस्कृतिक दुवै दृष्टिले गलत हुने उल्लेख गरे।
प्रदेश १ का तीन जिल्ला भोजपुर, उदयपुर र धनकुटाको सीमास्थलमा रहेको त्रिवेणीमा रहेको यो ढुंगो (खुवालुङ) केही समययता सरकारी तारोमा परेको छ। सप्तकोशीमा चल्ने स्टिमरका लागि बाधक रहेको भन्दै प्रधानमन्त्री ओलीले ‘क्रेन लगाएर फुटाउने तयारी भइरहेको’ जानकारी विराटनगरमा दिएका थिए। फागुन ८ मा भएको सरकारी आमसभामा उनले यस्तो अभिव्यक्ति दिएपछि सम्पदा संरक्षणमा जुटेकाहरू, किराती समुदायका अध्येताहरू र स्थानीयबासीले पनि विरोध गरेका थिए।
त्यसयता खुवालुङ संरक्षण समिति बनाएर किरात समुदायका स्थानीयबासीले खुवालुङ क्षेत्रमा आन्दोलन अघि बढाएका छन्। प्रतिगमनविरुद्ध वृहत नागरिक आन्दोलन, लेखक, संरक्षणकर्मी, सम्पदाविद्हरुले ढुंगोलाई तारो बनाउने सरकारी कदमविरुद्ध निरन्तर विरोध गरिरहेका छन्। संरक्षण समितिले प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन बुझाएर नफुटाउन माग गरिसकेको छ। संरक्षण समितिका पदाधिकारीसँगको भेटमा मुख्यमन्त्री शेरधन राईले आफू विज्ञसहितको टोली लिएर छिट्टै खुवालुङ क्षेत्र आउने बताएको समितिका सदस्य शालिक सतासकले बताए। तर, मुख्यमन्त्री अझै पुगेका छैनन्। उनले १५ दिनभित्र पुग्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तो छ खुवालुङको कथा
किरात राई भाषामा ‘खुवा’ भनेको पानी हो भने ‘लुङ’ भनेको ढुंगा। कोसीको बीचमा भएको यो ढुंगालाई सोहीकारण खुवालुङ भनिएको हो। यसलाई पानीढुंगो पनि भन्ने गरिएको छ ।
अनुसन्धाता एवम् लेखक भोगिराज चाम्लिङका अनुसार मुन्धुमी लोककथाअनुसार किरातीका पुर्खा खुवालुङ क्षेत्रबाट बाँडिएका हुन्। ‘उहिले किराती पुर्खाले पार गर्ने बेला खुवालुङ बन्द थियो। पहिलो समूहले खुवालुङ खुलाउन जुरेली चराको भोग दियो। चराको रगत परेपछि खुवालुङ खुल्यो र पहिलो समूहले नदी पार गर्यो’, खुवालुङको ऐतिहासिक सन्दर्भ उप्काउँदै चाम्लिङ थप्छन् ‘त्यसपछि दोस्रो समूह आइपुग्यो र आफ्नै चेलीको औंला थोरै चोट पारेर खुवालुङलाई रगत पारिदियो। खुवालुङ खुल्यो। उनीहरू पनि कोसी तरेर पहाडतर्फ उक्लिए।’
एवम् रितले किराती पुर्खाका थुप्रै समूहले पटकपटक खुवालुङ पार गरेको र खुवालुङ पार गरेपछि किरातीहरू आआफ्नो बाटो लागेको चाम्लिङ बताउँछन्। सप्तकोशीका विभिन्न धार समातेर हिँड्नेहरु प्रकारान्तरले किरात समुदायका विभिन्न हाँगामा बाँडिएको उनी बताउँछन् । उनका अनुसार जसले तमोर पछ्यायो, उनीहरू अहिले लिम्बू भनेर चिनिन्छन्।
अरूण नदीको धार पहिल्याउँदै अघि बढ्नेहरु याम्फू, लोहरूङ, मेवाहाङ राई भनेर चिनिए। जुन समूहले दूधकोसी पछ्यायो, उनीहरू तिलुङ, चाम्लिङ, वाम्बुले, जेरोङ, बाहिङ/बायुङ, बान्तावा, साम्पाङ, दुमी, कोयी/कोयू, कुलुङ, खालिङ, नाछिरिङ, थुलुङ राई भनेर चिनिएको र सुनकोसी पछ्याउनेहरु कोँइच (सुनुवार), जिरेल, सुरेल, हायू, थामी भनेर चिनिएको उनी बताउँछन्। त्यस्तै खुवालुङ नतरीकन तराईमै बस्नेहरु थारू, धिमाल, मेचे, कोचे बनेर चिनिए ।
‘मुन्धुमी मिथकले खुवालुङलाई किरातीहरूको साझा थलोका रूपमा व्याख्या गरेको छ’, चाम्लिङ भन्छन्, ‘मुन्धुमअनुसार खुवालुङभन्दा मुनि दक्षिणतिरको भूभाग थारू, धिमाल, मेचे, कोचेहरूको हो, उत्तरतर्फको भूभाग किरातीहरूको । त्यसैले खुवालुङ एउटा सांस्कृतिक सिमाना पनि हो।’
खसवालुङ किरात नछुङ (धामी) हरूले धेरै संस्कार गर्ने क्रममा पुकार्ने थलो पनि हो । ‘सांस्कृतिक यात्राको थालनी नियामा भन्ने आदिम थलोबाट सुरु भएर पैतिप, जोजिला, खैबर, जम्मु, योँला, थारू–बाजी–साप्ते, वराहा–चतरा हुँदै खुवालुङ आइपुग्छ ’, चाम्लिङ थप्छन्, ‘अर्को भाषामा भन्दा किरातीहरूको आदिम बसाइँसराइको वर्णनका क्रममा उल्लेख हुने एउटा महत्वपूर्ण थलो पनि हो खुवालुङ।’