किरात समुदायको आस्थाको केन्द्र खुवालुङ फुटाउने चर्चाकै बीचमा जलस्रोत विज्ञ अजय दिक्षितले सेतोपाटीसँग तीन दिनअघि भनेका थिए, ‘ढुंगो फुटाउन पनि पर्दैन, नदीको धार परिवर्तन पनि गर्न पर्दैन। ढुंगोको दायाँबायाँबाट जल यातायात चलाउन सकिन्छ।’
जलस्रोतका अध्येता दिक्षित मात्रै होइन, खुवालुङ क्षेत्रको अवलोकन गर्ने जो कोही यही कुरा भन्दै आएका छन्। कोशीमा लामो समयदेखि जल यातायात चलाइरहेका व्यवसायी, स्थानीय तहका जनप्रतिनिधि, सांसद, स्थानीयबासी र खुवालुङ संरक्षण समितिका सबैले ढुंगोलाई कुनै क्षति नपुर्याई जल यातायात चलाउन सकिने बताइरहेका छन्। तर, प्रधानमन्त्री केपी शर्मा ओली र उनकै निर्देशन पालनामा खटिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई भने ढुंगो फुटाउने जोडबल गरिरहेका छन्।
सोमबार खुवालुङ क्षेत्रको अवलोकनका लागि पुगेका प्रदेश १ का सांसदले पनि जलस्रोत विज्ञ दिक्षितकै भनाइमा समर्थन जनाए। उनीहरुको मत थियो, ‘अहिले पनि जेटबोट ढुंगाकै दायाँबायाँबाट चलिरहेको रहेछ, यतिधेरै खाली ठाउँ बाँकी रहेछ। यही ढुंगो फुटाउने अड्डी कसरी गरेको सरकारले?’ सांसदको टोलीसँग गफ गर्ने जेटबोट चालक र त्यसका सञ्चालकले अहिलेसम्म खुवालुङले आफ्नो साधनलाई अवरोध नगरेको बरू दायाँबायाँबाट चलाउन सकिने ठाउँ भएको बताएका थिए।
उनीहरूले खुवालुङलाई कुनै क्षति नपुर्याई कोशीमा जल यातायात सञ्चालनको सम्भावना उच्च रहेको भन्दै ढुंगो फुटाउने मुर्खता नगर्न सरकारलाई चेतावनी दिएका छन्। सत्तारूढ एमाले, मुख्य विपक्षी कांग्रेस, माओवादी केन्द्र लगायतदलका सात जना सांसदको टोलीले सोमबार खुवालुङ क्षेत्रको अवलोकन गरेपछि वैकल्पिक उपायहरु प्रशस्त रहेको ठहर गरेको हो। ‘हाम्रो नांगो आँखालेसमेत जल यातायातका लागि प्रशस्त विकल्पहरु देखिरहेको छ’, सांसदहरुको सामूहिक आवाज थियो, ‘सरकारले प्राविधिक अध्ययन गरेरै यसको विकल्प खोज्नसक्छ।’
सुनकोशी, अरुण र तमोरको त्रिवेणी क्षेत्रको अवलोकन, स्थानीयबासी र खुवालुङ संरक्षण समितिका पदाधिकारीहरुसँग अन्तरक्रियापछि माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले खुवालुङ संरक्षण राज्यको दायित्व भएको बताए। ‘यहाँ आएर हेर्दा जल यातायातका लागि प्रशस्त विकल्पहरु देख्न सकिन्छ’, प्रदेशका पूर्व आर्थिक मामिला मन्त्रीसमेत रहेका उनले सेतोपाटीसँग भने, ‘विकल्पहरू अघि सारेर धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न सकिन्छ। खुवालुङ संरक्षण गरेर पनि जल यातायात चलाउन सकिन्छ। यसबारे राज्य गम्भीर बन्नुपर्ने खाँचो मात्रै छ।’
खुवालुङ फुटाउने सरकारी योजना सफल हुन नदिने दृढता व्यक्त गर्दै आङ्बोले किरात समुदायको आस्थाको थलोमा धावा बोलेर होइन, संरक्षण गरेर विकास गर्न सरकारलाई सुझाव दिए।
मुख्य विपक्षी दल नेपाली कांग्रेसका सचेतक सुयर्माराज राईले ऐतिहासिक र सभ्यतासँग जोडिएको खुवालुङ संरक्षणको विकल्प नै नभएको बताए। ‘यो किरात जाति समुदायसँग मात्रै सम्बद्ध विषय होइन, यो राष्ट्रको सम्पत्ति हो’, उनले भने, ‘विकास भनेको संस्कृतिको विनास होइन, हुनुहुँदैन। विनाश नगरी पनि प्रशस्त विकल्प देख्न सकिन्छ।’ केपी ओली नेतृत्वको कम्युनिष्ट सरकार संस्कृतिमाथि प्रहार गर्न उद्यत रहेको बताउँदै उनले नेपाली कांग्रेसले यसको प्रतिवाद गर्ने चेतावनी दिए।
एमाले सांसद राजन राईले खुवालुङ समग्र नेपालीको साझा सम्पत्ति भएको बताउँदै नेपालको पूर्वी भागको कोशी र पश्चिमको कर्णालीबाट मानव सभ्यता विकास भएकाले खुवालुङ मानव सभ्यताको इतिहाससँग जोडिएको उल्लेख गरे। ‘विकासका लागि यस्ता अमूल्य निधिहरु नामेट गर्न पाइन्नँ’, उनले भने, ‘हामीले नांगो आँखाले हेर्दा त सम्भावना देखिन्छ सरकारले सम्पूर्ण अध्ययन गरेर विकल्प खोज्नुपर्छ। सम्पदा नामेट पार्न जबरजस्ती हुन्छ भने कसको सरकार हो, को हो भन्ने कुरा हेरेर बसिन्नँ।’
संसद्को अर्थ समिति सभापति मोहनकुमार खड्काले कोशी सभ्यता मानव सभ्यताको अमूल्य निधि भएको बताउँदै त्यही सभ्यताको ऐतिहासिक प्रमाण नष्ट गर्न खोज्ने सरकारी योजना दयालाग्दो भएको बताए। ‘यति महत्वको सम्पदा फुटाउँछु भन्ने सरकार विकास होइन, संस्कृति मास्न उद्यत रहेको देखिन्छ’, उनले भने, ‘जल यातायात चलाउन प्रशस्त विकल्प यहाँ छन्, सरकारले आँखा खोलेर हेरोस्।’ उद्योग पर्यटन वन तथा वातावरण समिति सभापति सीता थेवेले पनि अवलोकन पछि जल यातायात सञ्चालनका लागि धेरै विकल्प देखिएको बताउँदै यसलाई जोगाउँदै विकल्पहरु खोजेर संरक्षण गर्नुपर्ने बताइन्।
खुवालुङ फुटाउने वा सार्ने मुख्यमन्त्री शेरधन राईको योजनाको सर्वत्र विरोध सुरु भएको छ। खुवालुङ क्षेत्र नजिकै बस्ने किरात समुदायका सर्वसाधारणले मुख्यमन्त्री राईले आफ्नै जातीय समुदायको आस्थाको केन्द्र भत्काउने, सार्ने योजना बनाउनु दुर्भाग्यपूर्ण रहेको बताएका छन्।
‘प्रधानमन्त्री केपी ओलीलाई त यसबारे चासो भएन रे’, धनकुटा साँघुरीगढीका स्थानीयबासिन्दा रामकुमार राईले भने, ‘तर, राई समुदायकै मुख्यमन्त्रीले त यसको महत्व बुझ्नुपर्ने हो। आफैं खुवालुङ फुटाउने, सार्ने योजना बनाएको सुनियो। यो एकदमै गलत काम हो।’
सांसदहरुलाई भेट्न खुवालुङ क्षेत्रमै ओइरिएका सर्वसाधारणले आफ्नो धार्मिक आस्थाको धरोहरमा धावा बोलेर प्रधानमन्त्री ओली र मुख्यमन्त्री राईले गलत काम गरिरहेको भन्दै आक्रोश पोखेका थिए। सांसदहरु, स्थानीयबासी, खुवालुङ संरक्षण समिति लगायतले मुख्यमन्त्री राई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन पालनामा जुटेको भन्दै उनको योजनाको आलोचना गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी आमसभामार्फत घोषणा गरेको सप्तकोशीको खुवालुङ (ढुंगो) फुटाउने योजना नागरिक प्रतिरोधको बलमा रोकिएको थियो। तर, प्रदेश १ कामुख्यमन्त्री शेरधन राईले ढुंगालाई क्रेनले सारेर जस्ताको तस्तै उठाएर अन्यत्र राख्ने, ढुंगाको खास भागलाई अर्को ठाउँमा सार्ने र त्यो क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने र नदीको वहाव परिवर्तन गर्ने विकल्प अघि सारेका छन्। उनको विकल्पका दुई उपायले किरात संस्कृतिको एउटा आधारस्तम्भ ध्वस्त पार्ने भन्दै विरोध चुलिएको छ।
यी पनि हेर्नुहोस्