बेसीसहर निवासी सहज घले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको कार्यकर्ता बनेर लामो समय हिँडेका थिए। स्थानीय निर्वाचनसम्म उनले एमालेकै झन्डा बोकेर चुनावी अभियान चलाएका थिए। जब प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकियो, उनले नेकपा एमाले परित्याग गरे।
प्रतिनिधिसभा निर्वाचनमा विवेकशील साझा पार्टीका निर्देश सिलवालको साथमा देखिए। सिलवालकै पक्षमा मत माग्दै उनी गाउँ–बस्तीसम्म पुगे। त्यतिबेला विवेकशील पार्टी र साझा पार्टी एक थिएनन्। यी दुई दलले आ–आफ्नो उम्मेदवार उठाएका थिए।
'विवेकशील पार्टीको कसैलाई हानी नगर्ने सिद्धान्त मनपर्यो,' घलेले भने, 'यो पार्टीले उठाएका मुद्दा मन परेर नै मैले एमाले परित्याग गरेँ।'
विवेकशील पार्टीमा नलाग्न उनलाई तत्कालीन एमालेका नेताहरूले सुझाएका थिए। तर उनी एमालेबाट वाक्क थिए। उल्टै एमालेकै किल्ला रहेको गाउँमा गएर विवेकशील पार्टीको पक्षमा माहौल सिर्जना गरे।
विवेकशील पार्टी र साझा पार्टीले गएको मंसिरमा फेरि एकता गरेपछि गण्डकीमा पार्टी समायोजन एवं संगठन विस्तार तीव्र पारेको छ। विवेकशील साझा पार्टीका प्रदेश संयोजक महेश भण्डारीले पार्टी एकता गरेपछि अन्य पार्टीमा लागेर असल चरित्र देखाएका र पदलोलुप नभएका व्यक्ति आफ्नो पार्टीमा सक्रिय भएको दाबी गरे।
प्रतिनिधि सभामा कास्की– २ बाट निर्वाचित रवीन्द्र अधिकारीको ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुँदा तत्कालीन साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनायो। केसीको उम्मेदवारीले कास्कीको राजनीतिमा तरंग ल्याइदियो।
पोखरा विश्वविद्यालयका उपप्रशासक पदबाट राजीनामा दिएर साझा पार्टीको राजनीतिमा होमिएकी केसी लामो समय नेपाली काँग्रेसमा आवद्ध थिइन्। झण्डै २० वर्षभन्दा लामो राजनीतिक योगदान दिएको पार्टी काँग्रेस छाडेर साझा पार्टीमा लागेकी केसीले कल्याणकारी लोकतन्त्र लगायत साझा पार्टीको उद्देश्य देखेर नै आफू आकर्षित भएको बताएकी थिइन्।
पार्टी एकता भएपछि अन्य पार्टीबाट आउने क्रम बढेको विवेकशील साझाका प्रदेश संयोजक भण्डारीले बताए।
पार्टी एकतापछि यी दुई दलले फागुन पहिलो साता गण्डकी प्रदेश समिति समायोजन गरेका थिए। प्रदेश समिति समायोजन पश्चात कास्की जिल्ला र पोखरा महानगरको समायोजन सकिएको भण्डारीले बताए। पहिले नै संगठन बनेको कास्कीसहित नवलपुर र गोरखामा समायोजन सकिएको छ भने बाग्लुङ, तनहुँ, लमजुङ लगायत यी दुवै दलको संगठन नभएको जिल्लामा पनि समितिहरू गठन भएका छन्।
विवेकशील साझा पार्टीले जिल्ला र स्थानीय तहहरूमा संगठन विस्तार गर्दा अन्य पार्टीमा २० वर्ष बढी काम गरेका राजनीतिक कार्यकर्ता आफ्नो पार्टीमा आएको संयोजक भण्डारीले बताए।
विवेकशील साझाकै संगठन विस्तार अभियानमा तनहुँ, घाँसीकुवाका रमेशप्रसाद आचार्य यसैको एउटा उदाहरण हुन्। उनले एमालेको संगठित सदस्य बनेको १९ वर्षपछि पार्टी परित्याग गरे र विवेकशील साझाको सदस्यता लिए।
तत्कालीन नेकपाको झगडा उत्कर्षमा रहेका बेला उनले पार्टी सदस्यता त्यागेको घोषणा गरेका थिए। नेकपाकै विवादका कारण प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको २ दिनपछि उनले पार्टी नै छाडिदिएका हुन्। पार्टी परित्याग गरेको घोषणासँगै उनले फेसबुकमा एमालेको संगठित सदस्यतापत्रको फोटो र स्टाटस पोष्ट गरे।
'केपी ओली, प्रचण्ड, माधव नेपालहरूको कारण अबदेखि यी हातले कम्युनिस्ट पार्टीको सदस्यता र झण्डा बोक्ने छैन। मैले बुझाउन सक्ने जतिलाई बोक्न दिने पनि छैन। कम्युनिस्ट पार्टीले बहुमत ल्याए देशको आमुल परिवर्तन हुन्छ भन्ने कुरा भ्रम मात्र रहेछ,' उनले लेखेका छन्।
एमालेको जिल्ला सदस्य र प्रवास कमिटीको उपाध्यक्ष समेत बनेका आचार्यले नेकपा र सरकारले जनताको आकांक्षा अनुसार काम नगरेका कारण आफूले पार्टी नै छाडिदिएको बताए।
'एमालेमा गुटबन्दी, धनवादी, अवसरवादी मान्छेहरू छन्। नेताहरू पनि त्यस्तै मान्छेलाई प्रश्रय दिन्छन्,' उनले भने, 'व्यक्तिगत स्वार्थका लागि काम गर्ने र योगदान गर्नेको कदर नहुने भएपछि किन बस्नुपर्यो त्यो पार्टीमा?'
आचार्यले एमाले परित्याग गरी रोजेको विवेकशील साझा पार्टी उनको राजनीतिक जीवनभन्दा कम उमेरको छ। 'समाज र देशका लागि राजनीतिमा लागेको हुँ,' उनले भने, 'अवसर र शक्तिको पछाडि लागेको भए अहिलेको एमालेमै रहन्थेँ नि।'
साझा पार्टीको सदस्य मात्र बनेका उनले पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने बताए। विवेकशील साझाले शिक्षक, कर्मचारी, वकिल पत्रकार लगायतका संगठन खारेज गर्नुपर्ने एजेन्डा उनलाई मन परेको छ।
'मैले एमालेमै हुँदा पनि यी संगठन चाहिँदैन अब भनेको थिएँ,' उनले भने।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले बहुदल आएपछि राजनीतिक नेतृत्वमा पुगेकाहरूको सम्पत्ति छानविन गर्ने र भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउने उद्घोष पनि आफूलाई मन परेको उनले बताए। पार्टी परिवर्तन गर्दा उनले काँग्रेस लगायत अन्य दल रोज्न सक्थे। तर अवसर पाउँदा उनीहरूले पनि जनताको पक्षमा काम गर्न नसकेको उनको ठहर छ।
बच्चैदेखि काँग्रेसको क्रियाशील सदस्य रहेका पोखराका देव कुँवरले पनि काँग्रेस पार्टी परित्याग गरी अहिले विवेकशील साझाको सदस्य बनेका छन्। काँग्रेस परित्याग गरी साझा पार्टीमा लाग्दा कसैले पत्याएका थिएनन्। २०४५ सालको आन्दोलनमा काँग्रेस नेता कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाजस्ता ठूला नेताहरू उनको घरमा सेल्टर बस्थे। प्रजातन्त्र स्थापना भइसकेपछि पनि काँग्रेस नेताहरू उनको घरमा जाने र व्यक्तिगत तहमा सम्बन्ध राख्ने गरेका थिए।
अहिले पनि काँग्रेस महामन्त्री शशांक कोइरालासँग सम्पर्क/भेटघाट भइराख्छ। कोइरालाले पार्टीमा फर्कन आग्रह गरिरहेको उनले बताए। तर अहिलेकै अवस्थामा काँग्रेसमा फर्कन सम्भव नभएको भन्दै उनले भने, 'बरू नर्कतिर जान्छु तर काँग्रेसमा फर्कन्नँ।'
उनले काँग्रेस परित्याग गर्नुका तीन कारण छन्।
विपी कोइरालाले भनेको प्रजातान्त्रिक समाजवाद तत्कालीन अवस्थामा ठीक भए पनि अहिलेको अवस्थामा प्रजातन्त्र र समाजवादसँगै हिँड्न नसक्ने उनको पहिलो ठहर छ। दोस्रो, पार्टीको पदाधिकारी निवार्चित नभई केन्द्रीय कमिटी मात्र निर्वाचित गर्ने र केन्द्रीय कमिटीबाट सभापतिको निर्वाचन गरी सभापतिले नै पदाधिकारी मनोनयन गर्ने व्यवस्था राख्नुपर्ने उनको मत थियो।
'संसदीय व्यवस्थामा जसरी संसदबाट प्रधानमन्त्री निर्वाचित हुन्छ। प्रधानमन्त्रीले मन्त्री चयन गर्छ, संसदीय व्यवस्था रक्षक पार्टी पनि त्यसरी नै चलाउँ भन्ने मेरो मान्यता थियो,' उनले भने। उनले काँग्रेस छाड्नुको तेस्रो कारण भने नेतृत्वको चरित्र, स्वभाव र शैलीसँग गम्भीर असहमति भएको बताए।
'अहिलेको हालतबाट काँग्रेस सुध्रिन्छ जस्तो लाग्दैन, सुध्रियो भने त ठिकै छ,' उनले भने, 'काँग्रेस लोकतान्त्रिक पार्टी बन्न सकेको दिन फर्कन पनि सकिन्छ।'
साझा पार्टीले भनेको लोककल्याणकारी राज्य व्यवस्था नै अहिलेको उत्तम प्रजातान्त्रिक राजनीतिक कार्यक्रम भएकाले आफू यता आकर्षित बनेको उनले बताए।
'आगामी दिनमा यो पार्टीले के गर्छ भन्न सकिँदैन,' उनले भने, 'अहिलेका कार्यक्रम र विचार हेर्दा साझा पार्टी मेरै लागि खोल्देको हो जस्तो लाग्छ।'
आफू लोकतन्त्रमा विश्वास गर्ने भन्दै साझा बाहेक अन्य पार्टी प्रवेशका लागि उपयुक्त नभएको बताए।
'कम्युनिस्टसँग के लोकतन्त्रको कुरै भएन, राप्रपाको के कुरा गर्नु,' उनले भने, 'बहुदल ल्याउनु, गणतन्त्र ल्याउनु मात्र मूल कुरा होइन, प्रजातान्त्रिक व्यवस्थालाई कसरी अगाडि बढाउने भन्ने कुरा नै मूल कुरा हो।'
नेपाली काँग्रेस र नेकपा एमाले लगायत ठूला दलमा लागेका इमानदार कार्यकर्ता अहिले निराश बनेको साझा पार्टीका प्रदेश संयोजक भण्डारीले बताए।
'काँग्रेसमा लागेर कम्युनिस्ट हुन नसकेका र कम्युनिस्ट पार्टीमा लागेर काँग्रेसमा प्रवेश गर्न नसक्ने कार्यकर्ता हाम्रो पार्टीमा आकर्षित छन्,' भण्डारीले भने, 'विवेकशील साझा पार्टीमा आवद्ध हुनुभएका कसैले पनि मलाई यो पद चाहिन्छ भनेर बार्गेनिङ गर्नुभएको छैन।'