सुर्खेतको सिम्ता गाउँकी ३३ वर्षीया अनिता सिंह अहिले कक्षा ११ पढ्दैछिन्। रहर हुँदा पनि पहिले उनले आफ्नो पढाइलाई निरन्तरता दिन सकिनन्।
तीन कक्षा पढ्दापढ्दै छुटेको पढाइको लय फेरि समात्न अनितालाई १७ वर्ष लाग्यो।
उनका बुवा भारतमा काम गर्थे, परिवारै उतै लगेका थिए, अनिता पनि उतैको स्कुल पढ्थिन्।
कक्षा तीन पढ्दाको कुरा हो, अनिता एकदिन खाटमा सुतिरहेका बेला एक्कासि भुइँमा खसिन्। त्यसयता उनलाई नियमित ज्वरो आइरह्यो। एक महिनासम्म पनि ज्वरो सञ्चो भएन। आमाबुवाले उनलाई विभिन्न मेडिकल र आयुर्वेदिक औषधालयहरूमा लगे।
अनिताको स्वास्थ्यमा कुनै सुधार भएन।
जचाउने क्रममा एकदिन उनलाई डाक्टरले सुई लगाउनुपर्छ तर केही न केही असर पार्न सक्छ भनेछन्।
अनिताभन्दा अघि दुईजना दाइ र दिदी बितेका थिए रे। तेस्री छोरी पनि बिरामी भएपछि उनीहरू आत्तिए। भविष्यमा के हुने हो भन्ने डरले उनका आमाबुवा सुई नलगाउने निष्कर्षमा पुगे।
अस्पतालबाट त निस्किए, उनीहरूको मन भने दोधार थियो। के थाहा, सुईले छोरीलाई सञ्चो पो भइहाल्छ कि!
'हाम्रो भाग्यमा जे लेखिएको छ भोगौंला, छोरीको भाग्य बलियो रहेछ भने सञ्चो होला भनेर गेटसम्म आएका आमाबुवा फर्किनुभएछ,' उनले भनिन्।
सुई लगाएपछि उनको शरीरको घाँटीभन्दा माथिको भाग मात्र चल्न थाल्यो। त्यसको केही समयपछि त पूरै शरीर चल्न छाडेछ। अर्कैको सहारामा उठाउने–बसाल्ने गर्नुपर्ने भयो।
अनिताका आमाबुवाले त्यसपछि पनि जडिबुटी औषधि खुवाउन थाले। उनलाई निको पार्न कहिले मठमन्दिरमा त कहिले धामी, झाँक्रीकहाँ गए।
उनलाई निको हुँदै पनि गयो। तर बाँया खुट्टा भने चल्दै चलेन।
'बुवाआमाले निकै दु:ख गर्नुभयो। मेरो शरीर अरू त ठीक भयो, यही बायाँ खुट्टामा समस्या हो,' उनले चित्त बुझाएकी छन्, 'सायद त्यो सुई गलत नसामा पर्यो होला।'
अनिताको बाँया खुट्टाको बुढी औंलादेखि माथिको नसा एकै ठाउँमा खुम्चिएर घुँडामा अड्किएको छ।
घुँडाको समस्याका कारण उनी स्कुल जान सकिनन्, तीन कक्षामै पढाइ छुट्यो।
परदेशमा दु:ख भएपछि उनका आमाबुवा अनिता र उनका बहिनीसहित गाउँ फर्किए। त्यो बेला देशमा माओवादी विद्रोह चलिरहेको थियो। उनका बुवा बाध्यताका कारण माओवादीमा लागे र भूमिगत भए।
गाउँमा पनि अनिताको घरबाट स्कुल धेरै टाढा थियो। एउटा खुट्टा नचलेर बैसाखीको भरमा हिँड्ने उनलाई स्कुल जान सहज भएन।
'घरबाटै मलाई स्कुल जान–आउन परे तीन घन्टा लाग्थ्यो,' उनले भनिन्, 'उतै भाडामा बस्न त हुन्थ्यो। तर माओवादीका छोरी भनेर कसैले कोठा दिन मानेनन्।'
त्यतिबेलाको समय डरमर्दो भएकाले कोठा दिनेलाई पनि समस्यै थियो।
२०६१ साल कात्तिक १७ गते अनिताको बुवा नेपाली सेनाबाट सुर्खेतको लेखफर्सामा मारिए। जेठी छोरी भएकाले घरको जिम्मेवारी अनिताको काँधमा आयो, विशेषगरी घरभित्रको काम।
'मेरा तीन बहिनी छन्। सबैले प्लस-टु पास गरिसके। शारीरिक अवस्था राम्रो भएकाले उनीहरूलाई पढ्न बाधा भएन,' उनले भनिन्, 'मलाई भने जिम्मेवारी पनि थियो।'
सशस्त्र द्वन्द्वपछि देशमा शान्ति सम्झौता भयो। तर पनि अनिताले पढ्न पाउने वातावरण बनेन।
'घरभित्रको काम बाहेक म केही गर्न सक्दिनथेँ। बाहिर गएर बहिनीहरूले नै काम गर्नुपर्ने। मैले पढ्न त स्कुल नजिक कोठा भाडा लिएर त्यसमाथि एउटी बहिनी मसँगै बस्नुपर्थ्यो,' उनले भनिन्, 'त्यसैले मिलेन।'
२०७४ साल कात्तिक १७ गते सिम्ता गाउँपालिकास्थित राकमको बागेश्वरी माध्यमिक विद्यालयमा छात्रावास बन्यो। छात्रावास खुलिसकेपछि उनलाई पढ्न पाउँछु कि भन्ने आश जाग्यो। उनले विद्यालयसँग कुरा राखिन्। उमेर ठूलो भएकाले होस्टलमा बस्न नदिने कुरा आयो।
'आफ्नो भाग्यमा नै पढाइ लेखेको छैन रहेछ' भनेर उनले चित्त बुझाउन थालिन्।
'मलाई त फेरि सानैदेखि एकदमै पढ्ने रहर थियो। ममीसँग पनि म त डाडु, पन्यु बोकेर भान्सामा जानुपरेको छ भनेर गुनासो गरिरहन्थेँ,' उनी भन्छिन्, 'अरू पढ्न गएको देख्दा मेरो मन हुरूक्कै हुन्थ्यो।'
एकदिन अचानक होस्टलमा बसेर पढ्न पाउने खबर उनले पाइन्। त्यो दिनको खुसी उनले शब्दमा वर्णन गर्न सक्दिनन्। भोलिपल्ट उनले सिधै ८ कक्षामा नाम लेखाइन्।
वर्षभरी खुब मन दिएर पढिन्। प्रथम भइन्। ९ र १० मा भने उनले सोचेजस्तो पढाइ भएन। तर स्कुलदेखि नै उनलाई पत्रकारिता पढ्ने मन थियो। तर सुर्खेतका कलेजमा प्लस-टुमा पत्रकारिता ऐच्छिक विषय मात्र भएकाले उनले रोजिनन्।
'म नियमित रेडियो सुन्छु, पाएसम्म पत्रपत्रिका पनि पढिरहन्छु। मैले प्लस-टुदेखि नै पत्रकारिता पढ्ने सोचेकी थिएँ,' उनले भनिन्, 'तर यहाँ ऐच्छिक विषय, एउटामा मात्र पढ्न पाउने रहेछ। अब स्नातक तहमा पत्रकारिता विषय नै पूर्ण रूपमा पढ्ने मन छ।'
सुर्खेतको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्नातक तहदेखि पत्रकारिता पढाइ हुन्छ। पढाइ सकेर पत्रकार बन्न चाहन्छिन् उनी, 'म द्वन्द्वपीडित परिवारको भएकाले सकेसम्म छात्रवृत्तिमा पढ्ने सोचेकी छु। मिलेन भने पनि पत्रकारिता त पढ्छु।'
यहाँसम्म पढ्न पनि उनले अप्ठ्याराहरू बेहोर्नुपरेको छ। अनिता पढ्ने विद्यालय पूर्ण रूपमा अपांगमैत्री छैन। विद्यालयभित्र पुगिसेकपछि पनि कक्षा कोठा प्रवेश गर्न खम्बा समातेर झुन्डिँदै उक्लनुपर्छ।
'हाम्रो स्कुलमा कक्षा कोठामा उक्लिन सजिलो छैन। होचो भुइँबाट सिधै ढलान गरेको भागसम्म उक्लिनुपर्छ,' उनले भनिन्, 'ह्विलचियर प्रयोग गर्नेका लागि त सम्भवै छैन। म जस्ता बैसाखी प्रयोग गर्नेका लागि पनि समस्या छ।'
'त्यतिबेला मलाई कसैले हेरिरहेको छ कि भन्ने लाग्छ,' उनी भन्छिन्। अर्काले कमजोर ठानेर हेरेको उनलाई मन पर्दैन। कतिपयले त यस्तो मान्छे घर नबसेर किन पढ्न आउनुपरेको होला भनेको पनि अनिताले सुनेकी छन्।
'तर मलाई त्यो कुराले फरक पार्दैन। म अरूका लागि पढ्न आएकी होइन, आफ्ना लागि पढ्दैछु,' अनिताले भनिन्, 'शिक्षा भनेको जागिर खानकै लागि लिनुपर्छ भन्ने लाग्दैनर। जीवन रूपान्तरण गर्न शिक्षा प्राप्त गर्दैछु।'
उनी कहिले कहिले आफ्ना वरिपरिका संरचना सहज भएको भए के हुन्थ्यो होला भनेर कल्पना गरी बस्छिन्।
'यदि देशमा बन्ने सबै संरचना समान पहुँचयुक्त भइदिएको भए म जस्ता अपांगता भएकालाई समस्या पर्दैनथ्यो,' उनले भनिन्। सार्वजनिक सवारीमा उस्तै समस्या हुन्छ। गाडी उक्लन, ओर्लन र बस्न समेत समस्या हुने गरेकाले सकेसम्म सार्वजनिक साधनमा एक्लै यात्रा गर्नु नपरोस् भन्ने उनी चाहन्छिन्।
'कसैलाई सहयोग मागौं भने कतिपय नबुझ्नेवाला पनि पर्नुहुन्छ,' उनले भनिन्, 'अरूलाई भन्न पनि अप्ठ्यारो लाग्छ। कतिपयले यस्तो मान्छे किन गाडी चढ्नुपरेको समेत भन्न भ्याउनुहुन्छ।'
सार्वजनिक यातायात प्रयोग गर्ने क्रममा उनको एउटा नमिठो अनुभव पनि छ।
२०७३ सालमा अनिता कोहलपुरबाट दसैं मान्न घर आउँदै थिइन्। सुर्खेत आउने गाडीमा यात्रु कोचाकोच थियो। उनी त्यही गाडीमा परिन्। दसैं बेलाका सबै गाडी भरिभराउ भएकाले विकल्प थिएन। बैसाखी टेकेर उभिइन्। लगभग आठ किलोमिटरसम्म गाडी गुड्दा उनी त्यसरी नै उभिइन्। कसैले पनि उनलाई सिट छाडेर बस्न दिएनन्।
'म यस्तो छु मलाई सिट दिनुस् भन्न पनि धक लाग्यो। पछि एकजना भाइले हजुरलाई गाह्रो भयो दिदी, बस्नुस् भनेर सिट छोडिदिनुभयो,' उनले भनिन्, 'उहाँको नाम सोध्न पाइनँ। अहिले पनि कतै गाडीमा यात्रा गर्नुपर्दा उहाँलाई सम्झिरहन्छु।'