उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिममा जनताले अहिलेको प्रदेश सरकार फाल्न चाहेको बताएका छन्।
एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज समेत रहेका भट्टले धनगढीमा पत्रकारसँग कुरा गर्दै प्रदेशको सरकार फाल्ने विषयमा नेतृत्व तहमा छलफल भइहरेको बताए।
‘जनताले प्रदेश सरकारको गति देखेर फाल्न चाहेका छन्,’ उनले भने।
प्रदेशको उच्च नेतृत्व धनगढीमा रहेका बेला वर्तमान प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा एमालेमा कुरा सुरू भएको हो।
पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य झपट बोहराले अहिलेको अवस्थामा कसरी सरकारको समर्थन फिर्ता लिने विषयमा टुंगोमा पुगिन्छ, त्यही अनुसारले अगाडी बढ्ने बताए।
‘सरकारले आफैं राजीनामा दिँदैन होला, अविश्वासको प्रावधान ल्याउने कि? समर्थन फिर्ता लिने भनेर छलफल हुँदैछ,’ उनले भने।
मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकार फाले एमालेबाट को बन्छ भन्ने चर्चा पनि सुरू भएको छ। वर्तमान राजनीतिक परिस्थितिमा पूर्वमन्त्री रहेका पठानसिंह बोहराको सम्भावना बलियो मानिएको छ।
‘पात्रको रुपमा यही हुने भन्ने निश्चित छैन। म मुख्यमन्त्रीको दौडमा पनि छैन तर पार्टीले दिए ठिक छ, म जिम्मेवारी लिन्छु,’ बोहराले भने।
अहिले सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ जना सांसद छन्। माओवादी केन्द्रबाट जितेका झपट बोहरा पनि एमालेमा आएका छन्।
एमालेले सरकार गठनका लागि कांग्रेस, जसपा वा अरु विकल्पमा पनि छलफल भइहरेको जनाएको छ।