नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठक आज बस्दै छ। बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
दिउँसो एक बजे संसदीय दलको बैठक तोकिएको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए।
यसअघि चैत ४ गते बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिइएको समर्थन फिर्ता लिएको घोषणा गरेको थियो। उक्त बैठकले गरेको निर्णयमा माधवकुमार नेपाल पक्षका सांसदहरूले भने सहमति जनाएका थिएनन्। उनीहरू बैठकमा सहभागीसमेत भएका थिएनन्।
आजको बैठकमा भने आफूहरू पनि सहभागी हुने नेपाल पक्षका एक सांसदले बताए। उनका अनुसार बैठकमा संसद् आह्वान, सरकारलाई दिइएको समर्थन फिर्तालगायत विषयमा छलफल हुनेछ।
‘पहिलो कुरा त संसद नै स्थगित भएको लामो समय भइसकेको छ, यसको आह्वान गर्न प्रस्ताव गर्ने विषयमा छलफल हुनेछ,’ उनले भने, ‘यसका अलावा सरकार गठनलगायतका समसामयिक परिस्थितिका विषयमा पनि हामी छलफल गर्छौं।’
शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीले तत्काल विश्वासको मत लिनु नपर्ने निर्णय गरेको थियो।
चैत ४ गते लिइएको समर्थन फिर्ताको विषयमा माधवकुमार नेपाल पक्षका सांसदहरूले जनाएको आपत्तिका आधारमा विश्वासको मत लिनु नपर्ने निर्णय माओवादी केन्द्रले गरेको हो।
कर्णाली प्रदेश सभामा नेकपा एमालेमा १९ जना सांसद (सभामुखबाहेक) ले नै मुख्यमन्त्रीलाई दिइएको समर्थन फिर्ता लिएको खण्डमा प्रदेश सरकार संकटमा पर्नेछ। त्यसपछि नयाँ सरकार निर्माणको विकल्प खोज्नु पर्नेछ।
कर्णालीमा नेकपा एमालेको मात्र सरकार बनाउन भने सम्भव छैन। कर्णाली प्रदेशको माओवादी केन्द्र संसदीय दलले एमालेमा प्रवेश गरेका एक जना सांसदलाई हटाइदिएपछि प्रदेश सभामा सांसदको संख्या ३९ भएको छ।
३९ जना सांसदमध्ये पनि सरकार गठनका लागि २० जनाको बहुमत आवश्यक पर्छ। एमालेका एक जना सांसद सभामुख भएकाले एमालेका १९ जनामात्र सांसद हुन्छन्।
प्रदेश सभामा नेपाली कांग्रेसका ६, राप्रपाका एक, माओवादी केन्द्रका १२ जना सांसद छन्।