नेपाली कांग्रेसले आउँदो भदौ ७ देखि १० गतेसम्म १४ औं महाधिवेशन गर्ने भनेको छ।
महाधिवेशनका लागि हिजोआज क्रियाशील सदस्यता वितरण र नवीकरणका कामहरू जारी छन्।
सप्तरी, सिरहा, धनुषा, बारा, रसुवा, बर्दिया, बाँके, रूकुम पूर्व र डोल्पाले क्रियाशील सदस्यता वितरण गरेका छैनन्।
समायोजनलगायत काम नसकेकोले केन्द्रीय कार्यालयबाट नै क्रियाशील फारम नपाएको बताएका ९ जिल्ला कार्यसमितिलाई चैत ३० गतेभित्र क्रियाशील सदस्यता वितरण कांग्रेसले निर्देशन दिएको छ।
कांग्रेसले जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिबाट क्रियाशील सदस्यताहरूको विवरण अनलाइनमार्फत् ‘इन्ट्री’ गरिरहेको छ। ६८ जिल्लाबाट क्रियाशीलको विवरण ‘इन्ट्री’ भइरहेका छन्।
महाधिवेशनका लागि पहिले क्रियाशील सदस्यताको विवरण तयार पार्नुपर्ने हुन्छ। क्रियाशील वितरणमा विवाद भए केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको केन्द्रीय क्रियाशील छानविन समितिले अध्ययन गरी निर्णय गर्छ।
जेठ १७ गतेभित्र सभापति शेरबहादुर देउवालाई क्रियाशील सदस्यताको अन्तिम सूची बुझाउनुपर्ने गरी कांग्रेसले कार्यतालिका बनाएको छ।
महाधिवेशनका लागि धमाधम काम भइरहेका बेला केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले भने राजीनामा दिएका छन्।
अधिकारीले दिएको राजीनामा गत शुक्रबारको केन्द्रीय समितिले स्वीकृतसमेत गरिदिएको छ। अधिकारी कांग्रेसको बाह्रौं र तेह्रौं महाधिवेशनमा पनि निर्वाचन समितिको जिम्मेवारीमा थिए।
१४ औं महाधिवेशन गर्ने जिम्मेवारी पनि उनैलाई दिइएको थियो। २०७५ चैतमा बसेको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन समितिको संयोजकमा अधिकारीलाई नियुक्त गरेको थियो।
उक्त समितिमा सदस्यहरू खम्बबहादुर खाती, गोपालकृष्ण घिमिरे, एकराज पोखरेल र सीताराम केसी छन्।
अधिकारीले संयोजकबाट दिएको राजीनामा स्वीकृत भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
‘उहाँले दिनुभएको राजीनामा केन्द्रीय कार्यसमितिले स्वीकृत गरेको छ। उहाँले समिति संयोजकको जिम्मेवारीमा रहेर पुर्याउनु भएको सक्रिय योगदानको सह्राहना गर्दै केन्द्रीय समिति बैठकले धन्यवाद दिएको छ,’ उनले भने।
पछिल्लो एक वर्षदेखि अधिकारी नेतृत्वको समितिले समायोजनका काममा देखिएका विवाद हल गर्दै आएको थियो।
‘समायोजनका काम सकेपछि म निर्वाचन समितिमा बस्दिनँ भनेर पहिलेदेखि नै भनेको थिएँ, त्यसैले राजीनामा दिएको हुँ,’ अधिकारीले सेतोपाटीसँग भने।
उनकाअनुसार सिन्धुपाल्चोकबाहेक अरू जिल्लामा समायोजनका काम सकिएका छन्।
‘७६ जिल्लाको समायोजन सकिएको छ। अब सिन्धुपाल्चोक मात्रै बाँकी छ। समायोजन सकिएकोले मैले राजीनामा दिएको हुँ, अरू कुनै कारण छैन,’ उनले भने।
उनले गत चैत १६ देखि लागू हुने गरी राजीनामा दिएका थिए।
जिल्लामा समायोजनका काम सकेर केन्द्रमा फाइल पठाएको लामो समय हुँदा पनि निर्वाचन समितिले विवाद नटुंग्याएको भन्दै सिन्धुपाल्चोकलगायत जिल्ला कार्यसमितिबाट निर्वाचन समितिका कामप्रति विरोध हुँदै आएको थियो।
अधिकारीले दिएको राजीनामा स्वीकृत गरे पनि कांग्रेसले निर्वाचन समिति संयोजक तोकेको छैन। केन्द्रीय समिति बैठक चैत २७ गते बोलाइएकोले सम्भवत त्यस दिन निर्वाचन समिति संयोजक तोकिने एक नेता बताउँछन्।