नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने गरी अग्रसरता लिने निर्णय गरेको छ।
सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्री बनाउन पार्टीमा उनका प्रतिस्पर्धी रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल खुलेर लागेका मात्र छैनन्, दलहरूसँग गठबन्धनका लागि कुराकानीसमेत गरिरहेका छन्।
पौडेलले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई आइतबार उनकै निवास हात्तीवन पुगेर सत्ता समीकरणबारे कुराकानी गरेका थिए।
प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउन कांग्रेसलाई माओवादी केन्द्र र जसपाको समर्थन चाहिन्छ। संसदमा बहुमत पुर्याउन १३८ सांसद चाहिन्छ, यी तीन दल मिले बहुमत पुग्छ।
जसपा अध्यक्ष ठाकुरसँग के कुराकानी भयो? यसबारे वरिष्ठ नेता पौडेलसँग सेतोपाटीका प्रशन्न पोखरेलले गरेको संक्षिप्त अन्तर्वार्ताको सम्पादित अंश:
जसपाका अध्यक्ष महन्थ ठाकुरलाई निवासमै पुगेर भेट्नुभएछ। के कुराकानी भयो?
महन्थ ठाकुरजीसँग गरेको कुराकानी सकरात्मक छ। उहाँको कुराहरू एकदमै राम्रा थिए। उहाँले कुरा ठिकै गर्नुभएको थियो। उहाँसँग बसेर हाम्रो सभापतिजीले राम्रोसँग कुरा गर्ने हो भने अब सहमति हुन्छ।
ठाकुरसँग भएका कुराकानी सभापतिलाई बिफ्रिङ गर्नुभयो होला नि!
महन्थ ठाकुरजीसँग भएका सबै कुरा मैले सभापतिजीलाई भनिदिएको छु। उहाँका कुरा पोजेटिभ छन्, तपाईंले कुरा गरेर मिलाउनुस् भनेर सभापतिजीलाई भनेको छु।
सभापतिले कुरा गर्नुभयो होला त?
उहाँले कुराकानी गर्नुपर्यो नि, पार्टी सभापति र दलको नेता उहाँ नै हो। जसपाले राखेका माग ठूलो नबनाउनुस् भनेर मैले भनेको छु।
जसपाले राखेका माग के रहेछन्?
ठूलाठूला मिल्न नसक्ने केही पनि त्यस्ता माग रहेनछन्।
यसबारे सभापति शेरबहादुर देउवा के भन्नुहुन्छ त?
सभापतिजीले पहल गर्नुपर्यो, मेरो भनाइ त्यही हो।
ठाकुरले तपाईंसँगको कुराकानीमा प्रधानमन्त्री हामीलाई दिनुपर्यो भन्नु भएको थियो रे?
छैन, छैन भन्नुभएन। उहाँले प्रधानमन्त्रीको कुरा उठाउनुभएन। उही हाम्रा साथीहरूलाई मुद्दा लागेका छन्, ती मुद्दा फिर्ताको कुरा गर्नुभयो। उहाँले धेरै ठूला एजेन्डाका कुरा पनि गर्नुभएन।
पूरा गर्न सकिने माग छन्?
छन्, छन्। किन नसकिने? केपी ओलीले पूरा गर्न सक्ने हामीले नसक्ने?
अब ठाकुरसँग सभापति देउवाले कुराकानी गर्नुहोला त?
यो कुरा सभापतिजीलाई नै सोध्नुस्, मलाई थाहा छैन।