विवेकशील साझा पार्टीले सोमबार पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा पत्रकारसँग अन्तर्क्रिया राख्यो।
प्रचार विभाग प्रमुख प्रकाशचन्द्र परियारले सुरूमै कुरा राखे। उनले सुशासन र सु-संस्कृत राजनीतिमा पार्टीले जोड दिइरहेको बताए।
त्यसपछि पार्टी संयोजक मिलन पाण्डेले पछिल्लो समय पार्टीले गरेका कामकारबाहीबारे जानकारी गराएका थिए।
महाधिवेशनका काम पूर्वनिर्धारित समयभित्रै सकिने उनले बताए। साझा र विवेकशील पार्टी एक हुँदा छ महिनाभित्र एकता महाधिवेशन गर्ने सहमति थियो। अबको दुई महिनामा महाधिवेशनका सबै काम सक्ने उनी बताउँछन्।
एमाले र कांग्रेसका दास भएर जनता बस्न नहुने र क्रान्ति गर्नुपर्ने पाण्डेले बताए। अध्यक्ष रवीन्द्र मिश्रले जनताका अपेक्षा आफूहरूले पूर्ति गर्न नसकेको पनि बताए।
‘लोकतन्त्र धर्मराएको अवस्था छ। सरकार बदलिरहेका छन् तर जनताको अवस्था उस्तै छ,’ उनले भने।
आफूहरू संविधान मान्ने पार्टी भएको उल्लेख गरेका मिश्रले संविधानअनुसार नै नयाँ सरकार बन्नुपर्ने बताए।
‘संसदीय प्रक्रियाअनुसार नै सरकार बन्नुपर्छ,’ उनले भने।
त्यसपछि पत्रकारका लागि प्रश्न सोध्न समय दिइयो।
पत्रकारहरूले पार्टी महाधिवेशन, संगठन निर्माण, नयाँ सरकार गठनबारे पार्टीका धारणालगायत प्रश्न राखेका थिए।
यसैबीच एक पत्रकारले रवीन्द्र मिश्रलाई प्रश्न सोधे- तपाईं राजावादी हो?
उनले प्रश्न राख्नुअघि भूमिका पनि बाँधेका थिए। तत्कालीन साझा पार्टीले लुम्बिनी घोषणा पत्र जारी गर्दै धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रह गर्न माग गरेको थियो। त्यो मुद्दा विवेकशीलसँग पार्टी एकतासँगै सेलाएको छ।
यो प्रश्नको जवाफ मिश्रले समय लगाएरै दिए।
उनले यस्ता हल्लाका पछि नलाग्न आग्रह गर्दै भने, ‘म बीबीसीमा कार्यरत रहँदा नेताहरूसँग अन्तर्वार्ता लिन्थेँ, त्यसबेला माओवादी नेतासँग अन्तर्वार्ता लिएको भन्दै मलाई माओवादी नजिक भनियो। यस्तै २०५६ को निर्वाचनमा एमालेले जित्नैपर्छ भनेर भू-मध्यरेखा स्तम्भमा मैले लेखेपछि त्यसबेला रवीन्द्र मिश्र एमाले रहेछ भनियो।’
मिश्रले थपे, ‘केही समयपछि रवीन्द्र मिश्र कांग्रेसी हो भन्ने हल्ला चल्यो। दोस्रो जनआन्दोलन सुरू हुँदा मैले एउटा तर्क अगाडि सारेको थिएँ- राजदरबार भत्काएर त्यसको ठाउँमा दिल्ली दरबार निर्माण नगरौं। किनभने नेपालीले नेपालीलाई हानेको चड्कन सहन सकिन्छ, नेपालीलाई विदेशीले आएर हानेको चड्कन सहन सकिँदैन भनेर तर्क गरेँ अनि म राजावादी भएँ।’
मानिसहरूले राजावादी भनिरहेका बेला आफूले साझा पार्टी खोलेपछि अर्को खालका आरोप लाग्न थालेको उनी बताउँछन्।
उनले भने, ‘जब साझा पार्टी खोलें त्यसपछि म युरोपियन दलाल भएँ। नेपाली धर्मसंस्कृति मास्न आएको एजेन्ट भएँ। म जहाँ छु, त्यहीँ छु। म जे छु, त्यही छु। मेरो स्वाभिमान धरातलबाट कत्ति पनि डगमगाएको छैन। म यस्ता किसिमका हल्लाहरूबाट विचलित हुने मानिस पनि होइन।’
उनले विभिन्न परिस्थितिमा विचार प्रस्तुत गर्दा मानिसहरूले माओवादीदेखि राजावादीसम्म भनेको उनले बताए।
‘मलाई राजावादीदेखि डलरवादीसम्म भने तर त्यस्ता कुराले मलाई खासै कुनै अन्तर पनि राख्दैन,’ उनले भने।
धर्मनिरपेक्षता र संघीयताबारे पार्टीले पहिले राखेका कुराहरू पार्टी एकतापछि अहिलेको परिवेशमा छलफल गर्दै जाने विषयका रूपमा राखिएको बताए।
‘राजनीति र कूटनीतिमा तपाईंहरूले खोजेजस्तो सधैं स्पष्ट उत्तर हुँदैन,’ उनले भने।
यसका साथै मिश्रले गाउँगाउँमा संगठन निर्माणका कामहरू भइरहेको बताएका छन्।
उनले पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा भए पनि संगठन विस्तारका लागि आफूहरू गाउँगाउँ पुगेको दाबी गर्दै भने, ‘मिडियामा हामी गाउँ पुगेका फोटा छापिदिनुस्।’
पार्टी प्रवक्ता शरदराज पाठकले सधैं राजनीतिक घटनाक्रम र नकारात्मक खबरभन्दा विकास निर्माणलगायत सकारात्मक विषयवस्तु पनि समेट्न पत्रकारहरूलाई आग्रह गरेका थिए।
विवेकशील साझाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा पनि मागेको छ।
संयोजक पाण्डेका अनुसार प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ।
‘प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ। संविधानअनुसार मिल्छ भने मध्यावधि निर्वाचन भएमा पार्टीले भाग लिन्छ,’ उनले भने।