गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा बुझाएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर मन्त्रीद्धयले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा बुझाएका हुन्। चुमान आन्तरिक मामिला तथा कानुन मन्त्री थिए भने थापा कृषिमन्त्री थिए।
राजीनामा पत्र बुझाउँदै माओवादी केन्द्रका गण्डकी प्रदेश सभा संसदीय दलका नेता समेत रहेका चुमानले फेरि सहकार्यको बाटो खुलोस् भनेका थिए। ‘हामीले भन्दा पनि माथिबाटै निर्णय भएर राजीनामा बुझाएका हौं’, मन्त्री चुमानले राजीनामा पत्र बुझाउँदै भने, ‘हामी अझै पनि सहकार्य गरेर नै अघि बढ्ने वातावरण बनोस्।’
राजीनामा पत्र बुझाउन पुगेका मन्त्री चुमानले संघीयताको अभ्यास सरकार संचालनमा मात्र नभई पार्टी संचालनमा पनि राम्रो नभएको बताए। ‘गण्डकी प्रदेशमा यहींको संसदीय दलले सरकारमा रहने कि नरहने भनेर निर्णय गर्न पाउनुपर्ने हो, तर माथिबाट लादियो,’ उनले भनेका थिए।
जवाफमा मुख्यमन्त्री गुरूङले प्रदेश सरकारमा रहँदा राम्रो सहकार्य भएको भन्दै माओवादी पार्टीबाट मन्त्री बनेका चुमान र थापा दुबै जनाले राम्रो काम गरेको बताए। ‘तपाईहरुले राम्रो काम गर्नुभएको थियो’, मुख्यमन्त्रीको भनाई उदृत गर्दै सचिवालय सदस्यले भने, ‘बरु एमालेकै मन्त्रीसँग बेलाबखत रिसाउनुपरेको थियो, तपाइहरुसँग त्यस्तो कहिल्यै भएन।’
गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरिए पनि संसदको अंकगणितमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बहुमतमै देखिएका छन्। माओवादी सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता गरिसकेको छैन।
प्रदेश सभामा रहेको ६० जना सांसद मध्ये एमालेको मात्रै २८ जना सांसद छन्। ३ जना सांसद रहेको राष्ट्रिय जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन यथावत राख्दासम्म प्रदेश सरकार बहुमतमै रहन्छ। अहिलेसम्म जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई एमालेकै १ जना सांसदबाट खतरा देखिएको छ। एमालेभित्रको अन्तरद्वन्द्वमा माधव नेपाल पक्षमा रहेका सांसद इन्द्रलाल सापकोटाले कता समर्थन गर्छन् भन्नेमा मुख्यमन्त्री गुरुङको सरकार अल्पमतमा पर्ने वा नपर्ने निर्धारण गर्छ। सांसद सापकोटाले भने त्यसबारे सोच्ने समय नआएको बताए।
‘अहिल्यै सरकार ढाल्नुपर्छ भनेर सोच्नु ‘अर्ली इलेक्सन’मा जानुपर्छ भने जस्तै हो, हामीले त्यतातर्फ सोचेका छैनौं।’
यता, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने सबै परिस्थितिको सामना गर्न आफु तयार रहेको बताए। ‘अविश्वासको प्रस्ताव जुनसुकै बेला आउन सक्छ भनेर म जानकार नै छु’, उनले सेतोपाटीलाई प्रतिक्रिया दिए, ‘राजनीति हो, सबै परिस्थितिको सामना गर्छु।’