पछिल्लोपटक थप गरेको समयमा पनि नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको काम नसक्ने भएको छ।
गत चैत २० गते केन्द्रीय समिति बैठकले क्रियाशील बाँड्न बाँकी रहेको ९ जिल्लामा १० दिनभित्र बाँडिसक्न निर्देशन दिएको थियो।
तर सिन्धुपाल्चोकमा, सप्तरी, बारा, धनुषा र सर्लाहीमा क्रियाशील सदस्यताका काम नै आजसम्म पनि भएको छैन।
केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका सदस्य प्रदीप पौडेलका अनुसार अधिकांश जिल्लामा समायोजनबारे विवाद छ।
क्रियाशील बाँड्न थप गरिएको समय चार दिन बाँकी रहँदा ५ जिल्लामा क्रियाशील सदस्यता वितरण सुरू भएको छैन।
वितरण थालिएका जिल्लामा पनि धमाधम काम अगाडि बढेको छैन।
क्रियाशील सदस्यता वितरणका काम कार्यतालिकाअनुसार अघि नबढ्ने देखेपछि केन्द्रीय क्रियाशील सदस्यता छानविन समिति सदस्यहरू नै विभिन्न जिल्ला पुगेका छन्।
मकवानपुरले क्रियाशील सदस्यता इन्ट्री सुरू गरे पनि यहाँका दुइटा क्षेत्रमा विवाद देखिएको छ।
‘विवाद हल गरी समयमै क्रियाशीलका काम थाल्ने ताकेता गर्न हामी हेटौंडा आएका छौं,’ पौडेलले सेतोपाटीसँग भने।
उक्त समितिका सदस्यहरू आनन्द ढुंगाना र जीवन परियार प्रदेश नम्बर १ का विभिन्न जिल्ला पुगेर विवाद समाधानका पहल गरिरहेका छन्। बागमती र गण्डकीमा पौडेल र श्याम घिमिरे खटिएका छन्।
कल्याण गुरूङ र योगेन्द्र चौधरी लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशअन्तर्गत विवाद देखिएका जिल्ला पुगेर समयमै क्रियाशीलको काम गर्न ताकेका गरिरहेका छन्।
‘विवाद देखिएका जिल्ला पुगेर हामीले समयमै काम गर्न भनेका छौं,’ उनले भने, ‘७२ जिल्लामा क्रियाशील सदस्यता बाँड्ने र विवरण इन्ट्री गर्ने काम भइरहेको छ।’
कांग्रेसले जिल्ला र प्रतिनिधि सभा क्षेत्रबाट सफ्टवेयरमा क्रियाशीलको विवरण इन्ट्री गरिरहेको छ।
५ जिल्लामा क्रियाशील वितरण गर्ने काम नै सुरू नभएकोले महाधिवेशन कार्यतालिका फेरि प्रभावित हुने देखिएको छ। भदौ ७ देखि १० गतेसम्म १४ औं महाधिवेशन गर्ने गरी कांग्रेसले कार्यतालिका बनाएको छ।
पौडेलका अनुसार थप गरिएको समयमा पनि क्रियाशील सदस्यता वितरण तथा नवीकरणका सबै काम पूरा हुँदैनन्।
‘चैत ३० गतेसम्म बागमतीका सबै जिल्लाबाट क्रियाशीलको विवरण इन्ट्री हुन्छ। गण्डकी प्रदेशको सबै विवरण इन्ट्री भइसक्यो,’ उनले भने, ‘प्रदेश नम्बर २ र ५ मा केही समस्या देखिएका छन्। अन्यत्र छिटै क्रियाशीलका काम सकिन्छन्।’
प्रदेश नम्बर २ र ५ मा मुख्यगरी समायोजनका विवाद छ।
विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र सुनिल थापासँग आएका राप्रपाका नेता तथा कार्यकर्ता कांग्रेसमा समायोजन गर्न र समायोजन सके पनि कार्यान्वयनमा ल्याउन समस्या देखिएका छन्।
आन्तरिक विवाद देखिँदा कांग्रेसले तोकिएको समयभित्र सबै जिल्लामा क्रियाशील सदस्यता वितरण गर्न नसकेको हो।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार दिउँसोसम्म ५ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्यको विवरण इन्ट्री भइसकेको छ।
‘क्रियाशील सदस्यता वितरण र नवीकरणका काम धमाधम भइरहेका छन्। साँढे ५ लाख क्रियाशीलको विवरण केन्द्रमा प्राप्त भइसकेको छ,’ उनले भने।
पौडेलका अनुसार क्रियाशील सदस्यता वितरण ढिलो भइरहेका जिल्लाहरूमा केन्द्रीय छानविन समितिका सदस्यहरूलाई पठाइएको छ। कांग्रेसले भदौमा हुने महाधिवेशनका लागि १० लाखभन्दा बढी क्रियाशील सदस्य तयार पार्ने बताएको छ।