नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन अग्रसरता लिने निर्णय गरे पनि पार्टी सभापति शेरबहादुर देउवाले खासै पहल गरेका थिएनन्।
बरू वरिष्ठ नेता रामचन्द्र पौडेल यसबीचमा सक्रिय रहे। उनले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरसँग कुराकानी गरेर सभापति देउवालाई ‘बिफ्रिङ’ गरेका थिए।
जसपाले उठाएका मुद्दा फिर्तालगायतका माग पूरा गर्न सकिने खालका रहेकोले देउवाले ठाकुरसँग कुराकानी गरे गठबन्धन बनाएर जान सकिने निचोडमा पौडेल पुगेका छन्। तर पौडेलले चाहेजस्तो देउवाले फटाफट अरू दलका नेतासँग भेटघाट गरेका थिएनन्।
माओवादी केन्द्रले पटकपटक नयाँ सरकार बनाउन गरेको आग्रह र एमाले प्रवेश गरेका आफ्ना सांसदलाई माओवादीले कारवाहीको डण्डा चलाउन थालेपछि देउवाले बल्ल सरकार निर्माणका लागि नयाँ गठबन्धन बनाउनेबारे पहलकदमी लिने सुर कसेका छन्।
माओवादी केन्द्रले टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी र लेखराज भट्टलाई सांसदबाट हटाएको छ। सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्रले उनीहरूलाई सांसद पदबाट मुक्त गरेको जानकारी बिहीबारको संसद बैठकमा पढेर सुनाएका थिए।
त्यसको केहीबेरमा सभापति देउवाले तीन दलको बैठक आह्वान गरेका हुन्। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार अपरान्ह ३ बजे सभापति देउवाको निवास बुढानिलकण्ठमा तीन दलको बैठक बस्दैछ।
देउवाले बैठकमापार्टीका पदाधिकारी सहभागी गराउनेछन्। माओवादी केन्द्र र जसपाबाट शीर्ष नेतालाई बोलाइएको छ। कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेता बैठकमा हुनेछन्।
आजको बैठक मुख्यगरी नयाँ गठबन्धन निर्माणमा केन्द्रीत रहने देउवानिकट कांग्रेसका एक नेता बताउँछन्।
‘कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र सरकार बनाउन अग्रसरता लिने निर्णय गरेका यतिका दिनसम्म माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेन। अर्कोतर्फ, जसपाले यसबीचमा कुनै निर्णय र छलफल गरेको हामीले थाहा पाएनौं,’ ती नेता भन्छन्, ‘माओवादी केन्द्र र जसपा के गर्दैछन्? नयाँ गठबन्धन बनाएर जाने हो कि होइन? एकै ठाउँमा बसेर यसबारे छलफल गरी निर्णय गर्न खोजेका हौं।’
कांग्रेस, माओवादी केन्द्र र जसपाले प्रधानमन्त्रीबाट ओली हट्नुपर्ने बताइरहे पनि कसरी हटाउने भन्नेबारे ठोस निर्णय गर्न सकेका छैनन्। अविश्वास प्रस्ताव आए फेस गर्ने र राजीनामा दिने प्रधानमन्त्री ओलीले बताइसकेका छन्।
‘जसपाभित्र दुई धार देखिएर पनि निर्णयमा पुग्न गाह्रो भइरहेको हो,’ ती नेता भन्छन्, ‘पहिले जसपाले संस्थागत निर्णय गर्नुपर्यो, ओली सरकार ढाल्ने कि बचाइराख्ने भनेर।’
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन किन जारी राखिरहेको हो भन्नेबारे आज देउवाले प्रचण्डलाई सोध्ने ती नेताले बताए। देउवाले नयाँ सरकार बनाउन बहुमत पुग्ने गरी दलहरूबीच विश्वासको वातावरण नबनेको बताउने गरेका छन्।
सरकार बनाउनका लागि संसदमा १३८ जना सांसद चाहिन्छ। कांग्रेसको ६१, माओवादी केन्द्रको ४८ र जसपाका ३२ सांसद एकै ठाउँमा उभिए भने सरकार बनाउन सक्छन्।
प्रधानमन्त्री ओलीको नेकपा एमालेमा १२१ सांसद छन्। उनले जसपाको साथ लिए भने सरकार टिकाउन वा नयाँ सरकार बनाउन सक्छन्। त्यस्तो अवस्था आए उनकै दलभित्रको खनाल-नेपाल समूहले के गर्छ भन्ने एकिन छैन।
‘ओली सरकार हटाउने भनेर बाहिर बाहिर भन्ने तर प्रष्ट खाका पेश नगर्ने र निर्णयमा नपुग्ने हो भने अर्थ छैन,’ कांग्रेसका ती नेता भन्छन्, ‘गठबन्धन बनाएर जाने नै हो भने अब छलफल गरी निर्णयमा पुग्नुपर्छ भनेर सभापतिजीले आज बैठक राख्नुभएको हो।’