भाषण सकेर मञ्चतर्फ लम्केका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति शेरबहादुर देउवाले सिटमा नपुग्दै रोके। उनको कानमा केही कुरा भने। कुराकानीका क्रममा देउवा रिसाएझैं देखिन्थे।
शुक्रबार दिउँसो नयाँ बानेश्वरमा भएको निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा देउवा-पौडेल मञ्चमै आमनेसामने भएपछि कार्यक्रमका सहभागी हाँसेका थिए। हो-हल्ला भएपछि मञ्चबाट कार्यक्रम सञ्चालकले हल्ला नगर्न भन्नु परेको थियो।
‘नेताहरूबीच छलफल भएको’ कार्यक्रम सञ्चालकको भनाइ थियो।
हेर्नुस् भिडिओ:
देउवा-पौडेलबीच के कुराकानी भएको हो त?
भाषणका क्रममा पौडेलले देउवामाथि नयाँ सरकार बनाउन पहल नगरेको आरोप लगाएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन ठोस पहल नगरेपछि देउवासँग पौडेल असन्तुष्ट छन्।
पौडेलले देउवालाई ‘चुनाव-चुनाव-चुनाव भन्दै नहिँड्न’ भनेका थिए।
भाषण सकेर मञ्चको कुर्सीमा बस्न नपाउँदै देउवाले बीचमै रोकेर आफूले नयाँ सरकार बनाउन पहल गरिरहेको बताए।
‘राजीनामा माग गर्ने निर्णय चैत २० मा गरिसकियो। भरैको बैठक नयाँ गठबन्धन बनाउने पहल त हो नि!,’ देउवाले भने।
देउवाले कांग्रेस, माओवादी केन्द्र र जसपाका शीर्ष नेतालाई आज बुढानिलकण्ठस्थित निवास बोलाएका छन्। त्यही बैठकलाई लक्षित गर्दै देउवाले भरै बैठक छ भनेका हुन्।
पौडेलले उठाएका प्रश्नबाटै देउवाले भाषण सुरू गरेका थिए। ओलीले सत्ता कब्जा गर्न कोसिस गरिरहेकोले सबै मिलेर हटाउनुपर्ने उनको भनाइ थियो। संसदमा कांग्रेसको सांसद कम संख्या थोरै भएकोले केही गर्न सक्ने अवस्था नरहेको पनि उनी बताउँछन्।
पौडेलले संसदमा आफ्नो पार्टीले खेलेको भूमिकामाथि पनि प्रश्न उठाएका थिए। ‘सत्ताले संसदलाई हेपिरहेको छ। संसदको रोष्टमलाई प्रधानमन्त्रीले प्रयोग गर्न नचाहँदा प्रतिपक्षी दलले रोष्टम प्रयोग गर्यो कि गरेन? कसरी गर्यो? यसको पनि लेखाजोखा इतिहासमा हुनेछ। चुनाव मात्रै भनेर सुख पाइँदैन,’ पौडेलले भनेका छन्।
यस्तै समयमै महाधिवेशन नभएकोमा पौडेल असन्तुष्ट छन्। ‘ख्यालख्याल छैन, भोलि के हुन्छ,’ उनले भने, ‘हामीले एउटा चान्स मिस गरेकै हो, अर्को चान्स मिस गरियो भने रून पाउनु न हाँस्न पाउनु हुन्छ।’
प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव आउँदा सरकार नढालेकोले चान्स मिस गरिएको पौडेलको भनाइ छ। ओलीलाई हटाउन इमान्दार भएर पार्टीले विकल्प दिनुपर्ने पक्षमा पौडेल छन्।
तर देउवा भने सकेसम्म ओलीलाई हटाउने नभए चुनावमा जानुपर्ने बाध्यतामा रहेको बताउँछन्। एक भएर चुनावमा जाने हो भने पहिलो पार्टी भएर आउने उनको भनाइ छ।
देउवाले भदौमा जसरी पनि पार्टी महाधिवेशन गर्नुपर्ने बताए। ‘महाधिवेशन भएन भने संविधान संशोधन गर्नुपर्ने हुन्छ। त्यसका लागि दुई तिहाइ चाहिन्छ त्यो हामीसँग छैन,’ उनले भने, ‘त्यसैले महाधिवेशन तोकिएकै समयमा हुन्छ।’
नयाँ गठनबन्धन बनाउनेबारे देउवाले सांसद संख्या नपुग्ने खेलमा नलाग्ने बताए। उनले आफू प्रधानमन्त्री नहुने र जो भए पनि हुने पनि बताएका हुन्।
भिडिओ: