नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखेका छन्।
यो प्रस्तावलाई माओवादी केन्द्रले समर्थन गरे पनि जनता समाजवादी पार्टीले थप समय माग गरेको छ।
शुक्रबार अपरान्ह बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले सरकार बनाउने औपचारिक प्रस्ताव माओवादी केन्द्र र जसपाका शीर्ष नेतासँग राखेका थिए।
आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, देव गुरूङ थिए भने जसपाबाट अध्यक्षहरू बाबुराम भट्टराई, महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेताहरू राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए।
कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मा थिए।
यही बैठकमा देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्ताव पहिलोपटक औपचारिक रूपमा राखेका हुन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत २० को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन अग्रसरता लिने निर्णय गरेको थियो।
पार्टीले सरकार बनाउन ढोका खोलिदिएको एक सातापछि देउवाले आज तीन दलको बैठक राखेका थिए। बैठकको सुरूमै देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्ताव राख्दै अन्य दलबाट समर्थन खोजेका थिए।
देउवाको प्रस्तावमा माओवादी केन्द्रले समर्थन जनाए पनि जसपाले पार्टीमा छलफल गर्नुपर्ने भन्दै समय माग गरेको छ।
अर्को बैठक छिटै बस्ने गरी आज आधा घण्टामै बैठक सकिएको थियो।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै जसपा अध्यक्ष महन्थ ठाकुरले कांग्रेसबाट सरकार बनाउने प्रस्ताव आएको बताए।
‘कांग्रेसबाट सरकार बनाउन पहिलोपटक प्रस्ताव आएको छ, यसबारे हामीले पार्टीमा छलफल गर्नुपर्नेछ,’ उनले भने।
पार्टीका नेताहरूलाई लगाइएका मुद्दा फिर्ता लिनेबारे प्रधानमन्त्री ओलीसँग पनि कुराकानी भइरहेको उनको भनाइ थियो।
‘मुद्दा फिर्ता लिन प्रधानमन्त्री ओलीजीसँग पनि कुरा भइरहेको छ, देउवाले पनि ती माग पूरा गर्छु भन्नुभएको छ,’ उनले भने।
कसको नेतृत्वमा सरकार बनाउने भन्नेबारे पार्टीमा छलफल हुनै बाँकी रहेको अध्यक्ष ठाकुरको भनाइ थियो। जसपामा ओलीलाई नै समर्थन गर्ने कि देउवालाई सहयोग गर्ने भन्नेबारे दुई धार देखिएको छ।
‘कांग्रेसले सरकार बनाउने हो तपाईंहरूले सहयोग गर्नुस् भनेर देउवाजीले भन्नुभएको छ,’ ठाकुरले भने, ‘यसबारे हाम्रो पार्टीमा छलफल हुन पाएको छैन, आज त यो प्रस्ताव आएको छ।’
देउवाले बोलाएको बैठकमा सहभागी हुनुअगाडि जसपाका शीर्ष नेताहरू बैठक गरेर एक ढिक्का भएर अघि बढ्ने सहमतिमा पुगेका थिए।
यो पनि:
देउवा निवास जानुअघि जसपा नेता छलफलमा
बैठकमा सहभागी रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि देउवाले सरकार बनाउने प्रस्ताव राखेको बताए।
‘कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने भनेर निर्णय गरेको छ, यसबारे यहाँहरूको धारणा के छ भनेर उहाँले धारणा माग गर्नुभएको थियो,’ उनले भने।
ओली सरकारलाई निरन्तरता दिन नसकिने देउवाको भनाइ थियो। ओलीले राज्यसत्ता कब्जा गर्न खोजिरहेको आरोप देउवाको थियो।
‘केपी ओलीको विकल्पमा नयाँ सरकार जसरी हुन्छ बन्नुपर्यो,’ श्रेष्ठले भने, ‘यो कुरा प्रष्ट छ- ओली सरकारको विकल्पमा नयाँ सरकार बन्नुपर्यो। त्यो सरकारले संविधान र लोकतन्त्र रक्षा गर्नुपर्छ।’
ओलीको विकल्पमा बन्ने सरकारलाई समर्थन हुने उनको भनाइ छ। साथै उनले ओली सरकारलाई दिएको समर्थन पार्टीले छिट्टै फिर्ता लिने पनि बताएका छन्।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले फेरि बैठक बस्ने सहमतिसाथ आज छलफल सकिएको बताए।
‘जसपाका नेताहरूले पार्टीमा छलफल गर्नुपर्छ भनेर थप समय माग गर्नुभएको छ। उहाँहरूले छलफल गरेपछि फेरि बैठक बस्छ,’ उनले भने।
बैठकमा बोलेका अधिकांश नेताहरूले ओलीलाई प्रधानमन्त्रीबाट अहिले बिदाइ गर्नुपर्ने धारणा राखेका थिए।