विराटनगरस्थित कोशी कोभिड अस्पतालमा चैत २५ गतेसम्म जम्मा एक जना विरामी मात्रै उपचाररत थिए। चैत २७ देखि यो संख्या बढेर सात पुग्यो। एकै दिन थप छ जना कोरोना संक्रमित अस्पतालमा भर्ना भए।
१० दिनअघिसम्म प्रदेश १ मा जम्मा ४३ जना कोरोनाका सक्रिय संक्रमित थिए। आइतबार साँझसम्म यो संख्या बढेर १ सय २१ पुगेको छ। यीमध्ये मोरङमा सबैभन्दा धेरै ६३ जना संक्रमित छन्। विराटनगर महानगरपालिका मात्रै ५६ जना छन्। झापामा १८, सुनसरीमा २६, उदयपुरमा २, संखुवासभामा ३, पाँचथरमा १ र प्रदेश बाहिरका ८ जनामा संक्रमण देखिएको छ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयको यो तथ्यांकले देखाउँछ, प्रदेश १ मा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ। अस्पतालमा विरामी पनि थपिँदै गएका छन्। सीमावर्ती भारतीय क्षेत्रमा कोरोना संक्रमणको दर भयावह रुपमा बढिरहेका बेला नेपाली भूभागमा भने नाम मात्रैको सतर्कता छ। चिकित्सकहरु भारतबाट निगरानी बेगरै भित्रिएकाहरुले संक्रमणको अर्को लहर ल्याएको बताइरहेका छन्। तर, सरकारी सुस्तता भने यति उच्च छ कि नाकाहरुमा हेल्थ डेस्कसमेत राख्न सकेको छैन।
एकातिर सरकारी अवस्था यस्तो छ भने अर्कातिर भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गर्नेहरुको लर्को ठूलो छ। ‘नाकाहरुमा भने जसरी निगरानी भएन, जसका कारण कोरोना संक्रमण फेरि बढ्न थाल्यो’, विराटनगरका चिकित्सक डा. बालकृष्ण साहले सेतोपाटीसँग भने ‘अहिले कन्ट्याक्ट ट्रेसिङ पनि सम्भव छैन। त्यसैले नाकामै पर्याप्त सावधानी जरूरी छ। त्यो देखिएको छैन।’
प्रदेश १ सरकारले विराटनगरसहितआसपासको क्षेत्रमा कोरोना संक्रमण पुनः देखिन थालेपछि बन्द रहेको कोभिड अस्पताललाई पुनः सञ्चालनमा ल्याएको छ। संक्रमितको संख्या शुन्यमा झरेपछि अस्पतालमा कार्यरत करारका कर्मचारीलाई सरकारले विदा गरेको थियो। तर, अस्पताल सुचारु गर्ने, नाकामा भने कडाइ नगर्ने भएपछि जोखिम उच्च भएको चिकित्सक बताउँछन्।
भारतसँग जोडिएको सीमा बन्द रहे पनि चोर बाटो भएर दैनिक हजारौंको संख्यामा ओहरदोहर हुने गरेकाले विराटनगरमा संक्रमणको दर बढेको स्वास्थ्यकर्मीहरु बताउँछन्। ‘जब भारतमा संक्रमण दर ह्वात्तै बढ्यो, यता पनि संख्या थपिन थालेको हो’, कोशी कोभिड अस्पतालका एक जना चिकित्सक भन्छन्, ‘तर, सरकारले रोगको मुख्य स्रोत नाकामा सजगता नदेखाउने, अस्पताल मात्रै चलाउन खोज्दा समस्या भएको छ।’
भारतमा कोरोना संक्रमितको संख्या बढेकै बेला सीमा नाकाबाट चेकजाँच बेगर नै नेपाल प्रवेश गर्नेको संख्या बढेको छ। स्वास्थ्यकर्मीहरुका अनुसार नाकामा परीक्षण नगरी भित्रनेहरुका कारण कोरोना संक्रमणको जोखिम उच्च भएको छ। लामो र खुला साँधको जुनसुकै क्षेत्रबाट पनि सहजै नेपाल भित्रनेहरुका कारण संक्रमणको जोखिम उच्च भएको हो। मुख्य नाकाबाट भन्दा चोरबाटो हुँदै आउनेहरुको संख्या उच्च छ। उनीहरु निगरानी बेगर नै नेपाल प्रवेश गरिरहेका छन्।
विराटनगरसँग सीमा जोडिएको रानी नाकाबाट आवतजावत ठप्प छ। तर, मोरङको ६३ किलोमिटरमा रहेको २६ वटा सीमा नाकादेखि नेपाल प्रवेश गर्नेको दिनहुँ लर्को छ। यसअघि भारतबाट आउनेलाई सीमा नाकामा ज्वरो परीक्षण तथा नाम, ठेगाना टिपेर प्रवेश दिने गरेको भएपनि अहिले खुलेआम आवतजावत हुने गरेको छ। केही नाकामा शंकास्पदको एन्टिजिन परीक्षण गर्न थालिए पनि कतिपय नाकामा हेल्थ डेक्ससमेत छैन।
कोभिड जोखिम व्यवस्थापन समितिले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेकमा भारततर्फ नजान आग्रह गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला बताउँछन्। ‘सीमा नाकाहरूमा हेल्थ डेक्स राख्न हामीले स्थानीय तहलाई भनिसकेका छौं,’ प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘केही दिन भित्रमा स्वास्थ्यकर्मीसहितको हेल्थ डेक्स रहनेछ। त्यसपछि स्वास्थ्य परीक्षण गरेर आवतजावत गरिनेछ।’ उनको भनाइले पनि सरकारी तयारी सुस्त रहेको देखाउँछ।
विराटनगर–१६ स्थित भारततर्फ आउजाउ गर्ने विराटनगर जुट मिलको दक्षिण गेटमा काँडा राखेर छेकबार लगाई प्रहरी खटाइएको छ। दरैयातर्फ जाने सडकमा र दरैयास्थित चोर बाटोमा पनि सुरक्षाकर्मीले बाँसको छेकबार लगाएका छन्। तर,सीमावर्ती भारतीय बजार जोगबनीमा किनमेल गर्न र भारततर्फ आउजाउ गर्नेहरूले खुला सीमाको फाइदा उठाउँदै जताततै दशगजा क्षेत्रबाट सीमा वारपार गरिरहेका छन्।
नाकामा निगरानी बढाउन प्राथमिकता दिनुपर्ने स्वास्थ्यकर्मीको सु्झावलाई सरकारले ध्यानै दिएको छैन। प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईको अभिव्यक्तिले पनि त्यही देखाउँछ।
उनले सार्वजनिक रुपमै संक्रमण रोकथामका लागि आवश्यक सतर्कता अपनाउने दाबी गरेकी छन्। तर, नाकाबारे केही बोलेकी छैनन्। ‘कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्र पुनः सञ्चालनमा ल्याउने र प्रदेशभरिका विगतका कोरोना उपचारमा संलग्न अस्पतालहरूलाई तयारी अवस्थामा रहन अनुरोध छ,’ उनले भनिन्, ‘प्रदेशस्थित १४ वटै जिल्लामा १० शय्यासम्मका कोभिड आइसोलेसन वार्ड तयार गरी संक्रमितको उपचारको व्यवस्थापनका लागि निर्देशन दिएका छौैं।’
चिकित्सकहरु सरकारले उपचार प्रबन्धसहित अन्य सबै विकल्पमा उत्तिकै ध्यान दिनुपर्ने बताउँछन्। ‘त्यसो नगर्ने हो भने उपचार गरेर धान्ने अवस्था हुन्न,’ कोशी अस्पतालका चिकित्सक भन्छन् ‘सरकारले सबै विकल्पमा तयार हुनुपर्छ।’