कर्णाली प्रदेश सभाको सातौं अधिवेशन २०७८ वैशाख ३ गते आह्वान गर्न कर्णाली प्रदेशको मन्त्रिपरिषदले सिफारिस गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले संसद आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको हो।
यसअघि कात्तिक ९ गते प्रदेश सभाको छैटौं अधिवेशन अन्त्य भएको थियो। ७ महिनापछि सातौं अधिवेशन आह्वा गर्न लागिएको हो।
वैशाख ३ गते दिउँसो २ बजे पहिलो बैठक बस्नेछ। कर्णालीको सातौं अधिवेशनको पहिलो बैठकले धेरैको ध्यान केन्द्रित गर्ने देखिएको छ।
नेकपा विवादपछि अल्पमतमा परिरहेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उक्त बैठकबाट राजीनामा दिन्छन् वा विश्वासको मत प्राप्त गर्छन् भन्ने बारेमा धेरैको ध्यान केन्द्रित छ।
मुख्यमन्त्री शाहीले भने विश्वासको मत लिने कसरत गर्ने देखिएको छ।
मुख्यमन्त्री शाहीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माका अनुसार शाहीले विश्वासको मत लिने भनेका छन्।
‘अहिले राजीनामा दिनेभन्दा पनि विश्वासको मत लिने कुरा भएको छ,’ सल्लाहकार शर्माले सेतोपाटीसँग भने।
सर्वोच्चको फैसलापछि नेकपा एकता बन्न पुगेका एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएपछि कर्णालीमा रहेको माओवादी नेतृत्वको सरकार अल्पमतमा परेको हो।
चैत ४ गते बसेको एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। चैत ५ गतेदेखि लागू हुनेगरी समर्थन फिर्ता लिइएको हो।
नेपालको संविधानमा भएको व्यवस्था अनुसार समर्थन गरेको दलले आफ्नो समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिने प्रस्ताव गर्नुपर्दछ।
संसद सञ्चालन हुने दिन वैशाख ३ गते नै कर्णाली प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिएको ३० दिन पुग्नेछ।
नेकपा एमालेमा फरक विचार समूह बनाएर अगाडि बढेको माधव नेपाल समूहको आड लिन खोजेका मुख्यमन्त्री शाहीले पछिल्लो समय त्यो पनि गुमाएका छन्।
चैत २४ गते यो समूहमा रहेका तीन जना सरकारमा सहभागी मन्त्रीले पनि राजीनामा दिइसकेका छन्।
सुरूमा कर्णाली सरकारबाट समर्थम फिर्ता लिने निर्णयमा असहमति जनाएको यो समूहले पछिल्लो समय सहमति जनाउँदै सरकारबाट मन्त्री फिर्ता गराएको थियो।
कर्णाली प्रदेशमा नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार गठन गर्न खोजेको छ। यसका लागि एमालेले आफ्नो अभ्यास जारी राखेको छ।
नयाँ वर्षमा कर्णालीमा नयाँ सरकार गठन हुने एमाले सांसद सुशिल थापाले दाबी गरेका छन्।
‘कर्णाली प्रदेशमा नयाँ वर्षमा नयाँ सरकार बन्नेछ, वैशाख ३ गते साँझबाट नयाँ सरकार निर्माणको प्रक्रिया सुरू हुनेछ,’ सांसद थापाले फेसबुकमा लेखेका छन्।