गण्डकीमा सरकार परिवर्तनका लागि प्रतिपक्षी दलहरूले भोलि बिहीबार अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाले दिएको समर्थन फिर्ता लिएपछि विपक्षी दलहरू अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णयमा पुगेका हुन्।
सरकार परिवर्तन गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हाल सत्तारुढ नेकपा एमालेबाहेकका दलहरूसँग संवाद गरिरहेको छ।
सरकार परिवर्तन गर्न कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सहमति भइसकेको छ। अविश्वासको प्रस्ताव दर्ता गर्न यी तीन दलले राष्ट्रिय जनमोर्चाको निर्णय पर्खेका थिए।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएपछि विपक्षी दलहरू अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णयमा पुगेका हुन्। सरकार परिवर्तन गर्न भोलि नै अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता गर्ने तयारी गरको कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बताए।
‘सरकारविरूद्ध भोलि नै अविश्वासको प्रस्ताव दर्ता गर्छौं,’ उनले सेतोपाटीलाई भने, ‘प्राविधिक हिसाबले मिलेन भने पर्सीसम्म दर्ता हुन्छ।’
राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार अल्पमतमा परेको छ।
गण्डकी प्रदेश सभामा रहेका ६० जना सांसदमध्ये स्वतन्त्र सांसद दीपक मनाङेसहित एमालेका २८ जना सांसद छन्।
जनमोर्चाका तीन जना सांसदले समर्थन फिर्ता लिएपछि गुरुङ नेतृत्वको सरकार अल्पमतमा परेको हो।
यसअघि चैत २५ गते माओवादी केन्द्रका मन्त्रीद्वय हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएर सरकारबाट बाहिरिसकेका छन्। गण्डकीमा नयाँ सरकार गठन गर्नका लागि एमालेबाहेक अरु सबै दल मिल्नुपर्छ।
नयाँ सरकार गठन गर्न नेपाली कांग्रेसका सांसद कुमार खड्काको संयोजकत्वमा अन्य दलसँग वार्ता गर्न कार्यदल बनाएको छ।
कार्यदलले एमालेबाहेकको सरकार गठन गर्न दलहरूसँग सहमति गरेको संयोजक खड्काले बताए।
जनमोर्चाका अध्यक्ष केसीले विपक्षी दलले ल्याउने अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेपछि नयाँ सरकार गठन गर्न विपक्षीले थालेको प्रयासमा बहुमत पुगेको छ।
अध्यक्ष केसीले विपक्षीले बनाउन लागेको सरकारलाई समर्थन दिने र सरकारमा भने सहभागी नहुने स्पष्ट पारिसकेका छन्। नयाँ सरकार गठन हुदाँ कांग्रेस नेतृत्वमा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार गठनको प्रयास भएको कांग्रेस संसदीय दलका नेता नेपालीले बताए।
सरकारविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उक्त प्रस्ताव उपर सात दिनपछि मात्रै छलफल अघि बढ्ने संसद सचिवालयले जनाएको छ। प्रदेशसभाको बैठक भने वैशाख ५ गते बस्दैछ।
अविश्वासको प्रस्तावमा छलफलपश्चात पक्ष र विपक्षमा मतदान हुन्छ। मुख्यमन्त्री गुरुङले बहुमत कायम राख्न सकेनन् भने संसदले नयाँ सरकार गठनको घोषणा गर्ने जनाएको छ।
नयाँ सरकार गठन हुदा नेपाली कांग्रेस संसदीय दलका नेता नेपाली मुख्यमन्त्रीमा चयन हुनेछन्।
कांग्रेसले बिहीबार माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी दलसँग छलफलको तयारी गरेको छ। ‘यी तीन दलसँग छुट्टाछुट्टै र संयुक्त बैठक बसेर हामी निर्णयमा पुग्छौं,’ नेपालीले सेतोपाटीलाई भने।