गण्डकी प्रदेशमा बिहीबारदेखि राजनीतिक कोर्स बदलिएको छ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका दुई जना सांसदले हस्ताक्षर गरेर अविश्वास प्रस्ताव दर्ता गरेका छन्।
मुख्यमन्त्री गुरूङलाई दिएको समर्थन फिर्ता गरेको राष्ट्रिय जनमोर्चाले पनि प्रतिपक्षी दलहरूले ल्याएको अविश्वास प्रस्तावको समर्थन गर्ने बताएको छ। मुख्यमन्त्री गुरूङका पक्षमा अब नेकपा एमालेका २७ जना सांसदमात्रै छन्।
नयाँ बनेको गठबन्धनबाट भावी मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई अगाडि सारिएको छ। नेपाली २०७४ सालमा भएको निर्वाचनमा नवलपरासीबाट जितेका थिए।
गण्डकीमा राजनीतिक कोर्स परिवर्तन गर्न मुख्यगरी राष्ट्रिय जनमोर्चा र जसपाको निर्णय बलियो रूपमा देखा परेको छ।
जनमोर्चाका ३ र जसपाका २ सांसद छन्। कांग्रेसलाई नयाँ सरकार बनाउन माओवादी केन्द्रले साथ दिइसकेको थियो। प्रदेश सभामा बहुमत पुर्याउन जनमोर्चा र जसपा सांसद निर्णायक थिए।
मुख्यमन्त्री गुरूङको विपक्षमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपा गरी ३१ सांसद छन्। नयाँ सरकार बनाउन यो संख्या बहुमत पुग्छ। राष्ट्रिय जनमोर्चाका सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छैनन् तर उनीहरूले अविश्वास प्रस्तावमाथि मतदान गर्ने बताइरहेका छन्।
सत्ता गठबन्धनमा जोडिएको अर्को पार्टी जसपा हो। केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुन राखेको प्रस्तावमा कुनै निर्णय नदिएको जसपा प्रदेशमा भने कांग्रेस सांसदलाई मुख्यमन्त्री बनाउन खुलेको छ।
देउवाले आफ्नै निवासमा बोलाएर माओवादी केन्द्र र जसपाका शीर्ष नेतासँग कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्ताव चैत २७ गते राखे पनि पार्टीमा छलफल गर्नुपर्ने भन्दै समय मागेको जसपाले अहिलेसम्म कुनै निर्णय गरेको छैन। जसपाभित्र अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ओली सरकारलाई समर्थन गरेर जान सकिनेमा छन्।
संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव ओली सरकार ढाल्ने पक्षमा छन्। पार्टीका शीर्ष नेताहरूबीच नै कुरा नमिल्दा कसलाई समर्थन गर्ने भन्नेमा केन्द्रमा जसपा अनिर्णित भइरहेका बेला गण्डकीका सांसदले कित्ता क्लियर गरेका छन्।
गण्डकीमा तत्कालीन नयाँ शक्ति पार्टी नेपालबाट विजयी दुई जना सांसद छन्। सांसद हरिशरण आचार्य गोरखा क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भएका हुन् भने धनमाया पोखरेल लामा समानुपातिक सांसद हुन्। जनयुद्धदेखि नै उनीहरू बाबुराम भट्टराईनिकट हुन्।
भट्टराई केन्द्रमा प्रधानमन्त्रीबाट छिटो केपी शर्मा ओलीलाई बिदाइ गर्ने पक्षमा छन्। भट्टराईनिकट गण्डकीका सांसदहरूले प्रधानमन्त्री ओलीनिकट मानिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई ढाल्न भूमिका खेलेका छन्।
जसपा संसदीय दलका नेता हरिशरण आचार्यले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालिरहेको र पार्टीले त्यसविरूद्ध आवाज उठाउँदै आएको बताए।
‘प्रधानमन्त्रीले असंवैधानिक काम गर्नुभएको छ। त्यो अलोकतान्त्रिक कदमलाई समर्थन गर्न सकिँदैन भनेर पार्टीले विरोध गरिरहेकै छ,’ मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास दर्ता गरेपछि पोखरामा पत्रकारहरूसँग आचार्यले भने, ‘मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ नेतृत्वको प्रदेश सरकार त्यही घटनाक्रमको पिछलग्गु बनेको छ। हामी कुनै हालतमा यस्ता कुरा स्वीकार गर्न सक्दैनौं।’
उनले राजनीतिक कोर्स परिवर्तन गर्न मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको बताए।
‘राजनीतिक कोर्स परिवर्तन गर्न अविश्वास प्रस्ताव पेश गरिएको छ,’ उनले भने।
नयाँ बन्ने सरकारमा कुन मन्त्रालय लिनेबारे सोधिएका प्रश्नमा उनले राजनीतिक एजेन्डामा आफूहरू केन्द्रीत रहेको प्रतिक्रिया दिएका छन्।
‘हामी छलफलमै छौं, ती प्राविधिक पक्ष हुन् सहकार्यबाटै मिल्छ,’ उनले भने, ‘मुख्य कुरा राजनीतिक एजेन्डा हो।’