सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका कुमार चुँडालले ‘बेन्च सेटिङ’ चिन्ताको विषय भएको टिप्पणी गरेका छन्।
संसदीय सनुवाइ समितिको बैठकमा सांसदहरूले अदालतमा ‘बेन्च सेटिङ’ हुने गरेको उल्लेख गर्दै कसरी समाधान गर्ने भनेर प्रश्न राखेका थिए।
जवाफमा चुँडालले बेन्च सेटिङको कुरा सुन्दै असहज लाग्ने बताए।
‘बेन्च सेटिङको कुरा गर्दैछौँ भने त्यो बेठिक र असङ्गत कुरा हो। बेन्च सेटिङका उपचार छन्,’ चुँडालले भने, ‘बेन्च सेटिङ भनेको कि, प्रधानन्यायाधीशले बेन्च राख्दा खेरी हो। कि, मुख्य न्यायाधीशले बेन्च राख्दा खेरीको हो। जिल्लामा पहिला नै मुद्दा तोकिएको हुन्छ। त्यहाँ सेटिङ भन्ने हुन्न।’
उनले भने, ‘उच्चको मुख्य न्यायाधीशले मुद्दाहरू तोक्छन् सर्वोच्चमा प्रधानन्यायाधीशले तोक्छन्। हामी यसलाई अटोमेसन गर्नुपर्नेमा अघि बढिरहेका छौँ। अटोमेसनको सफ्टवेयर निर्माण भइराखेका छन्। प्रणालीमा गएपछि कुन कता पर्यो भन्ने हुँदैन। अटोमेसनको प्रक्रियाले तीव्रता आओस् त्यसले सुधार गर्छ।’
उनले आवश्यक परे संसदले मुद्दा अटोमेसनमा लैजाने प्रणालीबारे कानुन निर्माण गरिदिन सक्ने बताए।
‘मुख्य न्यायाधीशले तोकेको विषयको डिस्प्ले प्रधान न्यायाधीशकोमा हुन्छ। त्यहाँबाट अनुगमन भइराखेका हुन्छ,’ चुँडालले भने, ‘जहाँसम्म सर्वोच्च अदालतको सन्दर्भ छ। माननीयले उठाउनु भएको जिज्ञासाहरू छन्। साँच्चै भन्ने हो भने जुडिसियरीमा चिन्ताको विषय पनि हो। यो सन्दर्भलाई प्रधानन्यायाधीशलाई यस सन्दर्भमा (संसदीय सुनवाइमा) अहिले भएका छलफलका विषयमा यो चिन्ताको विषय यसरी उठेको छ, यसलाई दुर गर्नुपर्छ भन्छु।’
उनले जुडिसियरीमा सानोभन्दा सानो प्रश्न उठ्नु राम्रो नहुने बताए।
‘म मेरो व्यक्तिगत रूपमा साथीहरूसँगको सन्दर्भमा प्रधानन्यायाधीशलाई स्वयंमा यो चिन्ताको विषयमा प्रश्न उठ्ने अवस्था आउनु हुँदैन भन्ने कुरामा म मेरो तर्फबाट राख्छु,’ उनले भने, ‘म यो सेटिङमा हुन्नँ, विश्वास दिलाउन चाहन्छु। यो प्रश्न उठेकोमा चिन्तित हुँदै भूमिका निर्वाह गर्छु।’