सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुँडालको नाम संसदीय सनुवाइबाट अनुमोदन भएको छ।
सुनुवाई समितिले उनीहरूको क्षमता र योग्यता पुग्ने उल्लेख गर्दै सर्वसम्मतले अनुमोदन गरेको हो।
प्रधानन्यायाधीशको नेतृत्वमा रहने न्यायपरिषद बैठकले गत फागुन २८ गते सर्वोच्चको न्यायाधीश पदका लागि उनीहरू सिफारिस गरेको थियो।
संसदीय सुनुवाई समितिमा दुई जनाविरुद्ध सात वटा उजुरी परेका थिए।
तर, समितिले उजुरीका बाबजुद दुबैको नाम अनुमोदन गरेको हो। सुनुवाई समितिमा सांसदहरूले दुबै जनालाई अदालतभित्र हुने भनिएको ‘सेटिङ’बारे प्रश्न गरेका थिए।
सुवेदीविरूद्ध सर्वोच्च अदालतमा समेत योग्यतासम्बन्धी प्रश्न उठेको थियो। तर, सर्वोच्च अदालतले सुवेदीको योग्यता पुग्ने फैसला गरेको थियो।