कर्णाली प्रदेको विस्तारित मन्त्रिमण्डलमा नियुक्त मन्त्रीले आजै पद तथा गोपनीयताको सपथ लिने भएका छन्।
मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार उनीहरूलाई आजै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सपथ गराउने छन्।
प्रदेश प्रमुखलाई सपथ ग्रहण गराउनका लागि पत्र पठाउन केही समय लाग्ने र पत्र पुगेपछि आजै मन्त्रीहरूलाई सपथ खुवाउने सचिवालयले जनाएको छ। कति बजे सपथ ग्रहण गराउने भन्ने समय भने निश्चित नभएको सचिवालयले जनाएको छ।
शनिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो मन्त्रिमण्डलमा एमालेको माधवकुमार नेपाल समूहका तीन जनालाई मन्त्री बनाएका छन्। मुख्यमन्त्रीलाई विश्वासको मत दिलाउन ‘फ्लोर क्रस’ गर्ने सांसद नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई मन्त्रीमा नियुक्त गरिएको हो।
बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, थापालाई भौतिक पूर्वाधार र शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो। कृषि मन्त्री नियुक्त बुढाले यसअघि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीबाट राजीनामा दिएका थिए।
उनीसँगै सामाजिक विकास मन्त्री दल रावल र आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले पनि राजीनामा दिएका थिए।
खाली रहेका मन्त्रालयमध्ये सामाजिक विकास मन्त्रालय यसअघिका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी र आर्थिक मामिला मन्त्रालय कानुन मन्त्री नरेश भण्डारीलाई जिम्मा दिइएको छ।
शुक्रबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले आफूलाई विश्वासको मत दिन गरेको प्रस्तावमा एमालेको माधव नेपाल समूहका बुढा, थापा, शाही र ज्वालाले फ्लोर क्रस गरेका थिए। उनीहरूसँगै फ्लोर क्रस गरेकी सांसद देवी ओलीले भने पछि आफ्नो मत सच्याएकी थिइन्।
कर्णाली प्रदेशको मन्त्रिमण्डलमा एक जना नेकपा माओवादी केन्द्र नयाँ सांसदलाई पनि समावेश गर्ने विषयमा छलफल चलिरहेको छ। यसबारे अन्तिम टुंगो लाग्न बाँकी छ।