प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली नयाँ निर्वाचनको अडानमा कायमै रहेका छन्। उनले मुलुकको तरल राजनीतिका कारण छिटोभन्दा छिटो निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका हुन्।
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री ओलीले निर्वाचनका लागि पार्टी पङ्तीलाई तयारी अवस्थामा राख्नुपर्ने उल्खेख गरेका छन्।
प्रतिवेदनमा पार्टी गम्भीर परिस्थितिबाट गुज्रेको भन्दै केही नेताको गुटगत क्रियाकलाप र विभाजानकारी गतिविधिका कारण पार्टीलाई संकट आइलागेको उल्लेख छ।
'सही विचार, सही धार र नेतृत्वलाई समाप्त पार्ने योजना अनुसार प्रतिक्रियावादी शक्तिसँगको साँठगाँठमा प्रधानमन्त्री, मुख्यमन्त्री र यसबीचमा प्राप्त उपलब्धि उल्ट्याउने कोशिस भएका छन्,' ओलीको प्रतिवेदनमा भनिएको छ, 'यो श्रमजिवी वर्गको सरकार ढलाएर वुर्जुवा वर्गलाई हस्तान्तरण गर्ने योजना अन्तर्गतको षड्यन्त्र थियो।'
प्रतिनिधि सभाको वर्तमान संरचना सरकारलाई असहयोग गर्न र यसलाई सहज ढंगले चल्न नदिन पर्याप्त रहेको प्रधानमन्त्री ओलीको ठहर छ। उनले वैकल्पिक सरकार दिन र देश अनि जनताको हितमा काम गर्न दिन प्रतिनिधिसभा असक्षम देखिएको भन्दै यस्तो अवस्था लामो समयसम्म रहिरहनु उचित नहुने उल्लेख गरेका छन्।
ओलीले अहिलेको विरोधाभाषको विकल्प दुई वटा मात्रै रहेकोसमेत तर्क गरेका छन्।
पहिलो, संसदमा प्रतिनिधित्व गर्ने दलबीच नीतिमा आधारित दिगो समीकरण बनाउने र संसदलाई सहज ढंगले चलाउने।
दोस्रो,ताज जनादेशका लागि अगाडि बढ्ने।
'अहिले नेकपा एमालेलाई बाहिर राखेर बन्ने समीकरण दिगो हुने सम्भावना छैन र त्यसले केही व्यक्तिका सत्ता आकांक्षा पूरा गर्ने बाहेक देश र जनताको पक्षमा सकारात्मक योगदान दिने सम्भावना त झनै छैन,' उनले भनेका छन्, 'तत्काल नेकपा एमालेको नेतृत्वमा अर्को कुनै राजनीतिक निकास खोज्ने सम्भावना पनि बलियो देखिएको छैन। त्यसैले ढिलो चाडो मुलुक ताजा जनादेशतर्फ अग्रसर हुनु अनिवार्य जस्तै देखिएको छ।'
उनले प्रमुख विपक्षी दल नेपाली कांग्रेस अन्यौलबाट गुज्रिएकोसमेत आरोप लगाएका छन्। नेकपाको विभाजनका कारण निर्वाचनबाट आफू लाभान्वित हुने आँकलन गरे पनि नयाँ निर्वाचनको पक्षमा कांग्रेस उभिन नसकेको ओलीको बुझाइ छ।
'निरन्तरको प्रयास गरे पनि उसकै नेतृत्वमा नयाँ सरकार बनाउन पनि सकिरहेको छैन र तत्काल त्यस्तो सम्भावना पनि छैन।नेपाली कांग्रेसको यस्तो द्विविधा र कांग्रेसभित्र गुटैपिच्छेको भिन्नाभिन्नै मतले राजनीतिलाई थप अन्यौलग्रस्त बनाइरहेको छ,'ओलीको प्रतिवेदनमा भनिएको छ।
ओलीले नेकपा माओवादी केन्द्र प्रधानमन्त्रीबाट आफूलाई हटाउने एक शूत्रीय अभियानमा लागेको समेत आरोप लगाएका छन्।
'बाह्य शक्तिको आडमा मुलुकमा राजनीतिक अस्थिरता फैलाउने जातीय क्षेत्रीय द्वन्द्व चर्काएर राजनीतिक अभिष्ट पुरा गर्ने र प्रत्येक राजनीतिक दलहरुभित्र विभाजन ल्याउने र यसबाट आफ्नो स्वार्थसिद्ध गर्न अभ्यस्त यसका नेताहरु यी दाउपेच निष्प्रभावी हुदै गएका कारण अतालिएका छन्,' ओलीको राजनीतिक प्रतिवेदनमा भनिएको छ, 'प्रचण्डले सुरु गरेको अस्थिरताको खेलको नकारात्मक असर प्रदेश सरकारमाथि पर्न थालेको छ। हतास बन्दै गएको माओवादी केन्द्रको भूमिका आगामी दिनमा झनै विध्वंशात्मक र नकारात्मक हुने एवं विभिन्न शक्ति केन्द्रका लागि सहयोगी हुने संभावना छ।'
माओवादी भित्रको अवसरवादी र हानीकारक प्रवृत्तिको आलोचना गर्दै माओवादीभित्रको सकारात्मक पक्षलाई एकताबद्ध बनाउने प्रयासलाई भने जारी राख्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
जनता समाजावादी पार्टी पनि अन्यौलमा रहेको भन्दै प्रतिवेदनमा भनिएको छ, 'त्यसकै एक पक्ष राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढिकरणका लागि सरकारसँग रचनात्मक संवाद गर्न तयार देखिएको छ भने केही नेताहरु सरकारको विरोधको एकसुत्रीय अभियानमा केन्द्रित देखिन्छन्।'
हेर्नुहोस् प्रतिवेदनको पूर्ण पाठ