एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माध नेपालबीच संवाद आफूले गराएको गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दाबी गरेका छन्।
‘प्रधानमन्त्री र माधवजीबीचको संवादहीनता आइसब्रेक गर्ने त मै हो नि,’ मुख्यमन्त्री गुरुङले भने, ‘यो संवादबाट समाधान निकाल्न हामी सबैले प्रयत्न गर्नुपर्छ।’
गण्डकी प्रदेश सभामा विपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री काठमाडौं गएका थिए। उनले शीर्ष नेताहरूसँग छलफल गरेर बहुमत जुटाउने दाबी गरेका थिए। तर, पार्टीभित्रको विवाद मिलाउन आफूले भूमिका खेलेको सेतोपाटीलाई बताए।
‘माधव समूहमा सकारात्मक पक्षमा को को छ भनेर खोजीमा थिएँ। नयाँ पार्टीमा नजाने मान्छेको खोजीमा। अलि अघि घनश्यामजीसँग कुरा भएको थियो। उहाँ र गोकर्णजीको फोन लागेन। त्यसपछि मैले योगेशजीलाई बोलाएँ,’ उनले भने।
एमाले सचिवसमेत रहेका मुख्यमन्त्री गुरुङले अर्का सचिव योगेश भट्टराई पनि पार्टी एकताकै पक्षमा रहेको आफूले विश्वस्त सूत्रबाट थाहा पाएको बताए। उनले भने, ‘योगेशजी नयाँ पार्टीमा जाने मुडमा हुनुहुन्न भनेर मैले विश्वस्त सूत्रबाट थाहा पाए। उहाँले कमिटीको बैठकमा अब नयाँ पार्टी खोलेर जानुपर्छ भन्नेहरूका विरुद्ध आफ्नो मत राखेको मैले सूत्रबाट थाहा पाएँ। त्यो थाहा पाएपछि मैले सम्पर्क गरेर ल दुई भाइ बसौं भनें। हामी दुई भाइ दुई घण्टा छलफल गर्यौं।’
यी दुई नेताबीच वैशाख ७ गते ललितपुरको धोबीघाटमा भेटघाट भएको थियो। उक्त भेटको सुरूमै पार्टीभित्रका वादविवाद छलफल नगर्न गुरुङले भनेका थिए। यसमा सहमत भएपछि आफूले नै योगेशलाई प्रधानमन्त्री ओलीसँग भेट्न तारतम्य मिलाएको उनले बताए।
‘अब तपाईंले प्रधानमन्त्रीसँग भेट्न पर्यो। त्यहाँ (नेपाल समूह)को समस्या राख्नपर्यो। प्रधानमन्त्रीलाई पनि अलि संवेदनशील बनाउन पर्यो। हाम्रो कुरा सुन्ने ठाउँमा पुर्याउन पर्यो। मलाई प्रधानमन्त्रीले फोन गरेर भेट्नका लागि सबैलाई समय मिलाउने कुरा मिलाउँछु। हामी छुट्टियौं। त्यही रात साढे ९ बजेतिर म प्रधानमन्त्रीलाई भेट्न गएँ,’ गुरुङले भने।
प्रधानमन्त्री ओलीसँग आफूले पार्टी र सरकार सञ्चालनका बारेमा धेरै कुरा गरेको उनले बताए। उनले भने, ‘नेपाल समूहमा लागेका सकारात्मक पक्षका मान्छेहरू को-को हुन् भन्ने बुझियो। प्रतिनिधि सभा र राष्ट्रिय सभाका एमालेका सांसदहरूले नयाँ पार्टी खोले भने एमालेमै बस्ने र मान्छेहरू खोजी गरियो। यसबारे संवाद अघि बढाउन प्रधानमन्त्रीलाई अनुरोध गरें।’
त्यही भेटमा माधव नेपाललाई पनि संवादमा बोलाउने भनेर छलफल गरेको गुरुङले बताए।
‘उहाँ (माधव नेपाल) धेरै पर पुगिसक्नुभएको छ, संवाद गरेर यता ल्याउन पर्यो भनियो,’ गुरुङले भने, ‘भोलिका दिनमा जसरी पनि योगेशजीलाई पनि भेट्न मैले प्रधानमन्त्रीलाई भनें, उहाँले हुन्छ जसरी नि भोलि भेट्छु भनेर भेट्नु भयो पनि।’
भोलिपल्ट अर्थात् वैशाख ८ गते योगेश भट्टराईलाई फोन गरेर बालुवाटारबाट भेटघाटका लागि खबर आए-नआएको आफूले जानकारी लिएको गुरुङले बताए। उनले भने, ‘योगेशजीले बालुवाटारबाट बोलाएको खबर आएको बताएपछि मैले त्यहाँ (नेपाल पक्ष)का समस्या, सूचना र प्रवृत्तिका बारेमा विस्तृतमा जानकारी गराउनुहोला भनें।’
योगेश भट्टराईसँग छलफलपश्चात आफूले पनि माधव नेपालसँग कुराकानी थाल्न प्रधानमन्त्रीलाई आग्रह गरेको मुख्यमन्त्री गुरुङले दाबी गरे। ओली र नेपालबीचको संवादहीनता ‘आइसब्रेक’ यसरी गरेको भन्दै उनले थपे, ‘उहाँहरू (ओली र नेपाल)लाई जुटाइदिने मान्छे पनि भएन। नेपालजीलाई तपाईं नै फोन गरेर प्रस्ताव गर्नुस्, मैले राख्न भन्दा तपाईंले नै प्रस्ताव गर्दा उपयुक्त हुन्छ भनेर प्रधानमन्त्रीलाई भनेपछि त्यहीँबाट माधव नेपाललाई फोन गरेर भेट्ने प्रपञ्च मिलाउनुभयो। यसरी उहाँहरूबीचको संवादहीनता तोडियो।’
सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादीबीचको एकता भंग गरेर पूर्ववत् पार्टीमा फर्केपछि अध्यक्ष ओली र नेता नेपालबीच एक पटक मात्र भेटघाट भएको थियो। संवादहीनतासँगै उनीहरूले आ–आफ्नो गतिविधि अघि बढाएका थिए।
मुख्यमन्त्री गुरुङले संवादहीनता तोडिनु नै ‘गुड न्युज’ भन्दै यसलाई परिणाममुखी बनाउन सबैले जिम्मेवार भूमिका खेल्नुपर्ने बताए। ‘यसमा सबैभन्दा ठूलो जिम्मेवारी प्रधानमन्त्रीज्यूकै छ,’ उनले भने, ‘माधव कमरेडको पनि त्यति नै ठूलो जिम्मेवारी छ।’
बालुवाटारले माधव र झलनाथबिनाको एमालेको परिकल्पना नगरेको भन्दै पार्टीको पक्षमा आउनेलाई जिम्मेवारी दिँदै जाने बतनाए। पार्टी एकतावद्ध हुँदा जिम्मेवारी हेरफेर हुन सक्ने उनले बताए।
नेता गुरुङले माधव नेपाल समूह पार्टी बैठकमा नआउँदा काम रोक्न भने नसकिने स्पष्ट पारे।
‘साथीहरू आउनुहोला र काम गरौंला भनेर पर्खने कुरा हुँदैन,’ उनले भने, ‘आजको निर्णय भोलि चेञ्ज हुन पनि सक्छ, यसलाई ठूलो बाधाका रुपमा लिनु भएन।’
योगेश भट्टराईसँग छलफल गर्दा माधव नेपाल पक्षले फागुन २८ गतेको निर्णयले अप्ठ्यारो पारेको जानकारी आफूले पाएको उनले बताए। उक्त बैठकबाट प्रधानमन्त्रीले काम गर्न सजिलो हुने गरी निर्णय लिएको मुख्यमन्त्रीको भनाइ छ। उनले भने, ‘त्यो निर्णयबाट प्रधानमन्त्रीले आफूलाई काम गर्न सजिलो बनाएको पक्कै पनि होला। त्यो जरुरी पनि छ। असजिलो ठाउँमा बसेर काम गर्दा धेरै दु:ख पाउनुभयो उहाँले।’
एमालेको महाधिवेशनबाट निर्वाचित सबै कमिटीको कार्यकाल डेढ वर्षअघि नै सकिएको भन्दै अब महाधिवेशन आयोजक कमिटी बनाएरै जानुपर्ने उनको तर्क छ। एमालेको ओली पक्षले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीका रुपमा रुपान्तरण गरेको छ।
आयोजक कमिटीले चुनावको तयारी र महाधिवेशन दुबै गराउन सक्ने पनि उनले बताए। साबिकको नेकपाबाट एमालेमा बसेका माओवादी नेताहरूलाई निश्चित जिम्मेवारी र सम्मान गर्नुपर्ने स्थिति रहेको भन्दै उनले माधव नेपाल पक्ष पनि महाधिवेशन आयोजक कमिटीमै आएर काम गर्नुपर्ने बताए।
माधव नेपाल समूहले देशव्यापी समानान्तर संगठन बनाएर नयाँ पार्टी खोल्ने आधार तयार गरेको आरोप लगाउँदै उनले आफ्नो गल्ती महसुस गरेर एकअर्कालाई स्वीकार गर्नुपर्ने बताए।
पार्टी एकतावद्ध बनाउँदा ओली पक्ष र नेपाल पक्ष भन्न नहुनेसमेत उनले बताए।
अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच बुधबार र बिहीबार भएको संवाद सकारात्मक हुन नसकेकोतर्फ संकेत गर्दै मुख्यमन्त्री गुरुङले एक-दुई दिनमै एकतावाद्ध हुन नसक्ने बताए।