नेकपा एमालेको कर्णाली प्रदेश सभा दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्न ‘फ्लोर क्रस’ गर्ने चार जना सांसदलाई पदमुक्त गरिएको पत्र प्रदेश सभा सचिवालयलाई बुझाएको छ। आइतबार संसदीय दलले प्रदेश सभा सचिवालयमा पत्र बुझाएको हो।
सल्यान निर्वाचन क्षेत्र नमबर १ (ख) बाट निर्वाचित प्रकाश ज्वाला, दैलेख १ (ख) बाट निर्वाचित अम्मर थापा, कालिकोट १ (क) बाट निर्वाचित कुर्मराज शाही र डोल्पा १ (क) बाट निर्वाचित नन्दसिंह बुढालाई संसदीय दलले पदबाट हटाएको हो।
वैशाख ३ गतेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहीले आफूलाई विश्वासको मत दिन पेश गरेको प्रस्तावमा उनीहरूले समर्थन गरेका थिए।
सोही दिन बसेको एमाले संसदीय दलको बैठकले थापा, शाही र बुढालाई पार्टीबाट निष्कासन गरेको थियो। संसदीय दलको सिफारिसअनुसार ज्वालालाई कारबाही गर्न एमाले कर्णाली प्रदेश समितिले केन्द्रीय समितिलाई सिफारिस गरेको थियो।
वैशाख १० गते बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले बैठकले चारै जनालाई सांसदबाट पदमुक्त गर्ने निर्णय गरेको थियो।
चैत ५ गतेदेखि लागु हुनेगरी एमालेको कर्णाली प्रदेश सभा दलले माओवादी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको थियो।
संसदीय दलको ह्वीपलाई उल्लंघन गरी मुख्यमन्त्रीको पक्षमा मतदान गरेकाले उनीहरूलाई हटाइएको जानकारी प्रदेश सभालाई दिइएको पत्रमा उल्लेख छ।
मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका चार जनामध्ये तीन जनालाई मुख्यमन्त्री शाहीले मन्त्री बनाएका छन्। बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरिएको छ। उनले चैत २४ गते सोही मन्त्रालयबाट राजीनामा दिएका थिए।
यस्तै शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र थापालाई भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरिएको छ।
बुढासँगै प्रकाश ज्वालाले आर्थिक मामिला तथा योजना मन्त्रालय र दल रावलले सामाजिक विकास मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिएका थिए। हाल खाली रहेका यी दुई मन्त्रालयको जिम्मेवारी यसअघि कृषि मन्त्री रहेकी विमला केसीलाई दिइएको छ।
कर्णाली प्रदेश सभा सचिवालयले अबको १५ दिनभित्र उनीहरूलाई सांसदबाट हटाएकोबारे संसद्लाई जानकारी गराउनेछ। सो जानकारी गराएको दिनदेखि स्वतः उनीहरूको पद जान्छ।
यी चारजना सांसद् हटेपछि कर्णाली प्रदेश सभा ३५ सदस्यीय हुनेछ। यसअघि माओवादी केन्द्रको तर्फबाट दैलेखबाट प्रदेश सभामा निर्वाचित धर्मराज रेग्मीले नेकपा विवादको बीचमा एमाले प्रवेश गरेपछि उनलाई सांसदबाट पदमुक्त गरिएको थियो।
अब कर्णाली प्रदेश सभामा माओवादी केन्द्रका १२ जना, एमालेका १६ जना (सभामुखसहित), नेपाली कांग्रेसका ६ जना र राप्रपाका एक जना सांसद् हुने छन्।