गण्डकी सरकारविरूद्ध विपक्षी दलले ल्याएको अविश्वास प्रस्तावमा सोमबारदेखि प्रदेश सभामा बहस चलेको छ।
अविश्वासको प्रस्तावमा प्रस्तावित मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश सभाको विशेष अधिवेसनमा अविश्वास प्रस्ताव टेबल गरका थिए।
अविश्वास प्रस्ताव टेबल गर्दै नेपालीले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै उक्त कदमलाई प्रदेश सरकारले समर्थन गर्नु गलत भएको बताए।
नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीलाई श्रद्धाञ्जली दिँदै नेपालीले गण्डकीका जनताको भावनाविपरीत मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ संघीय सरकारको मतियार बनेको आरोप लगाउँदै त्यही कारण अविश्वास प्रस्ताव ल्याउन परेको जिकिर गरे।
प्रदेश सरकार गठन भइसकेपछि पनि केही काम नभएको समेत उनले दाबी गरे।
‘प्रदेश सरकार गठन भएको ३ वर्षमा कुनै पनि उल्लेखनीय काम हुन सकेको छैन। सरकारलाई विगतमा पनि सचेत गराउँदै आएको हो। पार्टी फुटेपछि विश्वासको मत लिनु पर्नेमा त्यो पनि नलिएको र अहिले सरकार अल्पमतमा रहेका कारण अविश्वास प्रस्ताव दर्ता गरेका हौं,’ उनले भने।
अविश्वासको मत आउने देखेपछि हठात् संसदको हिउँदे अधिवेशन अन्त्य गरेर मुख्यमन्त्री गुरूङले संसद छल्न खोजेकोसमेत उनले आरोप लगाए।
बैठकमा बोल्दै एमाले सांसद रोशन गाहा मगरले सत्ता लोलुपका कारण विपक्षीले अविश्वासको प्रस्ताव ल्याएको आरोप लगाए। जनताको समृद्धि देख्न नसक्नेले अविश्वास प्रस्ताव ल्याएको भन्दै उनले आफूहरू जनताको मनबाट निर्वाचित जनप्रतिनिधि भएको दाबी गरे।
बैठकमा जवाफ फर्काएँदै माओवादी केन्द्रका सांसद दीपक कोइरालाले सत्ताका लागि मात्रै अविश्वास प्रस्ताव ल्याएको भन्ने भ्रम फैलाउन खोजेको आरोप लगाए। संसदमा एउटै दलको बहुमत नहुँदा बहुमत जुटाउनेहरूले सरकार बनाउने भन्दै यो स्वभाविक प्रक्रिया भएको उनले बताए।
‘पछिल्लो राजनीतिक घटनाक्रममा दृष्टिकोण मिल्नेहरूको सरकार बनाउन लागेका हौं’, कोइरालाले भने, ‘अविश्वासको प्रस्ताव पास नहुने अवस्थामा पेश नै हुन्थेन।’
सत्तामा सात दिन भए पनि टाँसिन संसदको हिउँदे अधिवेशन अन्त्य गरेको भन्दै कोइरालाले ६ गते टेबल हुनु पर्ने अविश्वास प्रस्ताव सत्तारूढ पार्टीको सत्तालिप्साकै कारण १३ गते टेबुल हुनु परेको बताए।
कोइरालालाई जवाफ फर्काउँदै एमाले सांसद धनञ्जय दवाडीले पालुङटारमा भैंसीले झम्टियो भनेर पारि साइलीटारमा अर्को भैंसी चुट्ने काम गरेको टिप्पणी गरे। प्रधानमन्त्री केपी ओलीले चालेको कदमको बदला मुख्यमन्त्री गुरूङसित लिन खोजेको भन्दै उनले यो संघीयता र लोकतन्त्रविरूद्धको कदम भएको टिप्पणी गरे।
माओवादी सांसद कोइरालाको भनाइलाई संकेत गर्दै दवाडीले भने- उग्रपन्थी र दक्षिणपन्थीहरूको मोर्चा एउटै हुन्छ। तपाईंको म्याउ मोटर चढ्नका लागि हो। झण्डा हल्लाउनका लागि हो।’
दवाडीले विपक्षमा रहेका चार दलले बनाएको गठबन्धन अपवित्र भएको समेत बताए। उनले उक्त गठनबन्धन लामो समय जान नसक्ने ठोकुवा गरे।
‘निल्न न निलिस कान्छा हँसिया, भोलि विहान चाल पाउलास्,’ उनले व्यंग्य गरे।
अविश्वासको प्रस्तावमा छलफल मंगलबार पनि जारी रहनेछ। बुधबार मुख्यमन्त्री गुरुङले जवाफ दिएपछि अविश्वासको प्रस्ताव मतदानबाट टुङ्ग्याउने संसदको तयारी छ।
प्रदेश सरकारविरूद्ध विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उक्त प्रस्ताव आउने छनक पाएपछि अघिल्लो दिन वैशाख १ गते राती १२ बजे संसदको हिउँदे अधिवेशन अन्त्य भएको थियो।
सरकारले प्रदेश सभाको अधिवेशन अन्त्य गरिदिएपछि विपक्षी दलले प्रदेश सभाको विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन दिएका थिए। सोही निवेदनका आधारमा सोमबारदेखि विशेष अधिवेशन सुरू भएको हो।
गण्डकी प्रदेश सभामा सत्तारूढ एमालेका २७ जना सांसद छन्। एमालेलाई स्वतन्त्र सांसद दीपक मनाङेको पनि समर्थन कायम छ। नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ जना सांसद छन्।
मुख्यमन्त्री गुरूङविरूद्ध एमाले बाहेकका अन्य चार दल उभिएकाले उनीहरूकै पक्षमा बहुमत पुग्ने देखिन्छ। ६० सदस्यीय प्रदेश सभामा विपक्षी गठबन्धनको ३१ मत पुग्छ। बुधबार हुने मतदानमा अन्य कुनै गतिविधि नभए कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री निर्वाचित हुनेछन्।