गण्डकी प्रदेश सरकारविरूद्धको अविश्वासको प्रस्तावमाथि सोमबारदेखि प्रदेश सभाको विशेष अधिवेशनमा छलफल चलिरहेको छ।
अविश्वासको प्रस्ताव ल्याउने तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरू सोमबारदेखि नै लेकसाइडको रिसोर्टमा बसेका छन्।
कांग्रेस र माओवादीका सांसदहरू लेकसाइडको कुटी रिसोर्टमा बसेको एक सांसदले जानकारी दिए।
जनता समाजवादी पार्टीका २ जना सांसद भने लेकसाइडकै अर्को रिसोर्टमा बसेका छन्। अविश्वास प्रस्तावमाथिको छलफल र मतदानसम्म अरू गतिविधि हुन नदिन एकै ठाउँमा बस्ने व्यवस्था मिलाएको नेताहरूले बताएका छन्।
अविश्वास प्रस्तावमा मुख्यमन्त्री प्रस्तावित कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बैठक बसेर छलफल गर्न एकै ठाउँमा बस्नुपरेको बताए।
‘विभिन्न सवाल आउँछ, सरसल्लाह गर्नुपर्यो नि’, नेपालीले सेतोपाटीलाई भने, ‘साथीहरू बाहिरबाट आउनुपर्ने भएकाले पनि एकै ठाउँमा बस्नुपरेको हो।’
आफू भने उक्त रिसोर्टमा बास नबसेको नेपालीले दाबी गरे।
कांग्रेस सांसद सँगसँगै बसेको माओवादी केन्द्रले पनि छलफलकै लागि एकै ठाउँमा बस्नुपरेको बताएको छ।
माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले घर टाढा रहेका सांसदलाई बस्ने व्यवस्था मिलाएको बताए।
‘अविश्वासको प्रस्ताव राख्ने पक्षहरू एकै ठाउँमा बसेर छलफल गर्नुपर्ने हुन्छ’, उनले भने, ‘पटक पटक भेटघाट गरिराख्नुपर्यो, घर टाढा भएकाले साथीहरू बास बस्नुपर्यो।’
अविश्वास प्रस्तावमा मतदान गरेपछि यसरी बस्न नपर्ने उनको भनाइ छ।
यता, छुट्टै होटलमा बसेका जनता समाजवादी पार्टीका नेता हरिशरण आचार्यले कांग्रेस र माओवादी सँगै बसे पनि आफूहरू छुट्टै बसेको बताए।
‘प्राविधिक कारणले हामी उहाँहरूसँगै बस्न सकेनौं’, आचार्यले सेतोपाटीलाई भने, ‘संसदमा अरू गतिविधि रोक्न र राजनीतिक वैचारिक छलफल गर्न नजिकै बसेका छौं।’
गण्डकी प्रदेश सभामा टेबुल भएको अविश्वास प्रस्तावमा यी तीन दलका २८ जना सांसदले हस्ताक्षर गरेका छन्।
प्रदेशसभामा कांग्रेसका १५, माओवादी केन्द्रका १२ र जनता समाजवादी पार्टीको २ जना सांसद छन्।
यता, सत्तारूढ नेकपा एमालेका २७ जना सांसद छन् भने स्वतन्त्र सांसद दीपक मनाङे १ जना छन्।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने निर्णय गरेको राष्ट्रिय जनमोर्चा भने रिसोर्टमा बास बस्न पुगेका छैनन्।
जनमोर्चा नै अहिलेको सत्ता टिकाउने वा अविश्वास प्रस्ताव पास गराउने निर्णायक शक्ति हो। प्रदेशसभामा जनमोर्चाको ३ जना सांसद छन्।
जसपा नेता आचार्यले जनमोर्चाका सांसदलाई पनि रिसोर्टमा बोलाएको तर नआएको जानकारी दिए।
‘उहाँहरूलाई पनि बोलाएका हौं, सँगै बसेर एक ढिक्का भएर जाऔं भनेको हो तर उहाँहरू हामी आफैं बस्छौं भन्नुभयो’, आचार्यले भने।
यता, जनमोर्चाका संसदीय दलका नेता एवं केन्द्रीय सदस्य कृष्ण थापाले आफूहरूलाई रिसोर्टमा बस्न नबोलाएको दाबी गरे।
‘हामीलाई बोलाएको पनि छैनौं’, थापाले भने, ‘बोलाए पनि जानेवाला छैनौं।’
उनले यसरी रिसोर्टमा गएर एकै ठाउँमा बसेको विपक्षी दलका सांसदहरूलाई भेडा, बाख्रा र भैंसीको संज्ञा दिए।
उनले भने, हामी भेडा, बाख्रा र भैंसी होइनौं। जो जो भेडा, बाख्रा र भैंसी जस्ता छन्, त्यसरी बस्छन् ।’