सांसदहरूको पिसिआर परीक्षण गर्न माग गर्दै गण्डकी प्रदेशसभाको विशेष अधिवेशन नेकपा एमालेका सांसदहरूले अवरोध गरेका छन्।
प्रदेश सभाको विशेष अधिवेशनको सुरूआतमै सत्तारूढ एमालेका सांसदहरूले बैठकमा उठेर संसद अवरूद्ध पारेका हुन्।
संसदमा सोमबारदेखि सरकारविरूद्ध आएको अविश्वासको प्रस्तावमाथि छलफल चलिरहेको छ।
अधिवेशनको सुरूआतमा एमाले सांसदहरू उभिएर बैठक अवरूद्ध पारेपछि सभामुख नेत्रनाथ अधिकारीले किन उठ्नुभएको हो? भनेर सोधेका थिए।
जवाफ दिँदै एमाले सांसद राजीव पहारीले सबै सांसदको पिसिआर परीक्षण नगरी सांसद चल्न नसक्ने जानकारी गराएका थिए।
कोरोना भाइरसले सांसदलाई पनि नछाड्ने भन्दै उनले संक्रमणकै कारण कोही सांसद र कर्मचारीको मृत्यु भएमा जिम्मेवारी कस्ले लिने भनेर प्रश्न गरेका थिए।
उनले प्रदेश सभाका आधा सांसदहरूले कोरोना भ्याक्सिनको दोस्रो डोज नलिएको भन्दै सबै सांसदले दोस्रो डोज लिनुपर्ने र पिसिआर परीक्षण गर्नुपर्नेमा जोड दिएका थिए।
उनले सोमबार नै एमाले संसदीय दलका मुख्य सचेतक मायानाथ अधिकारीले सभामुखलाई सबै सांसदको कोरोना परीक्षण गर्न ध्यानाकर्षण गराए पनि अस्वीकार गरेको दाबी गरेका थिए।
सभामुख अधिकारीले सर्वसम्मत बैठक बोलाएको भन्दै सांसदलाई बस्न पटक/पटक आग्रह गरेका थिए।
एमाले सांसदहरू बस्न नमानेपछि सभामुखले सत्ता पक्षकै सांसदले सदन अवरोध गरेको भन्दै बैठक २० मिनेटका लागि स्थगित गराए।
प्रदेशसभामा एमाले नेता पृथ्वीसुब्बा गुरूङ नेतृत्वको सरकारविरूद्ध विपक्षी दलहरू कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पेश गरेको अविश्वास प्रस्तावमाथि छलफल भइरहेको छ।
मुख्यमन्त्री गुरूङको सरकार टिकाउन पिसिआर परीक्षणको माग अघि सारेर सत्तारूढ सांसदले नै सदन अवरोध गरेको विपक्षीको बुझाइ छ।