सत्तारूढ दल नेकपा एमालेका सांसदले गरेको माग अनुसार गण्डकीका सांसदको पिसिआर परीक्षण थालिएको छ।
सांसदको पिसिआर परीक्षण गर्न संसद भवन हाताभित्रै स्वाब संकलन गरेको सभामुख नेत्रनाथ अधिकारीले बताए।
‘सांसदको पिसिआर परीक्षणको रिपोर्ट भोलि बिहान १० बजेसम्म आउँछ भनेको छ’, सभामुख अधिकारीले भने, ‘पिसिआर रिपोर्ट आएपछि मात्रै संसद बैठक बस्ने निर्णय गरेका छौं।’
संसद बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ।
मंगलबार बसेको संसदको विशेष अधिवेशनको सुरूमै सत्तारूढ दल एमालेले सदन अवरोध गरेका थिए। उनीहरूले सांसदको पिसिआर परीक्षण गर्न माग गरेका थिए।
सोमबारदेखि सुरू भएको अधिवेशनमा एमालेले सुरूमै सांसदको पिसिआर परीक्षण गर्न माग गरेका थिए। उक्त मागको सुनुवाइ नभएका कारण सदन अवरोध गर्न परेको एमाले सांसद धनञ्जय दवाडीले बताए।
गण्डकी प्रदेश सभामा सोमबारदेखि प्रदेश सरकारविरूद्ध विपक्षी दलले ल्याएको अविश्वास प्रस्तावमाथि छलफल चलिरहेको छ।
उक्त छलफलमा उठेका प्रश्नको बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले जवाफ दिने र अविश्वास प्रस्तावमा मतदान गर्ने संसदको कार्यसूची थियो।
मंगलबारको बैठक सुरूमै अवरोध भएपछि अविश्वास प्रस्तावमाथि बुधबार पनि छलफल अघि बढ्ने संसद सचिवालयले जनाएको छ।
यसअघिको कार्यसूची अनुसार बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले सदनमा जवाफ दिने र अविश्वासको प्रस्ताव मतदानमा लैजाने थियो।
मंगलबार सदनमा छलफल चल्न नसकेका कारण मतदान प्रक्रिया १ दिनपछि धकेलिन सक्ने कांग्रेस संसदीय दलका नेता एवं प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बताए।
सदन अवरोध भएपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अब कुनै पनि बहानामा सदन अवरोध गर्न नपाइने सहमति भएको जानकारी दिए।
‘सदनको विशेष अधिवेशन बोलाउँदा बसेको कार्यव्यवस्था परामर्श समितिमा उहाँहरूले यी कुरा गर्नुभएन, अहिले आएर पिसिआरको नाममा उहाँहरूले लिङ्घरिङ गर्नुभयो’, नेपालीले सेतोपाटीलाई भने, ‘पिसिआर परीक्षण गर्ने कुरा ठिक भए पनि उहाँहरूको इन्टेन्सन ठिक देखिएन।’
सत्तारूढ दलले नै सदन अवरोध गर्नु लोकतन्त्र र संसदीय व्यवस्थाको विपरीत भएको उनले बताए ।