कर्णाली प्रदेश सदस्यबाट पदमुक्त भएका तीन जनाले ६ महिनाका लागि मन्त्रीको सपथ लिएका छन्। बुधबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले तीन जना मन्त्रीलाई सपथ खुवाएका हुन्।
वैशाख ४ गते नियुक्त भएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्री अम्मर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले बुधबार फेरि मन्त्रीको सपथ खाएका हुन्।
माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत पुर्याउन फ्लोर क्रस गरेपछि उनीहरूलाई नेकपा एमालेले सांसदबाट मुक्त गरेको थियो। वैशाख १३ गतेको प्रदेश सभा बेठकबाट उनीहरूलाई औपचारिक रूपमा पदमुक्त भएको घोषणा गरिएको थियो।
मुख्यमन्त्री शाहीले आफूलाई मुख्यमन्त्री टिकाइराख्न फ्लोर क्रस गरेकाले उनीहरूलाई मन्त्री बनाएका थिए। सांसद पद गएपछि स्वतः मन्त्री पदमुक्त भएका उनीहरूलाई मुख्यमन्त्रीले आजै फेरि नियुक्त गरेका हुन्।
उनीहरूसँग प्रकाश ज्वाला पनि पदमुक्त भइसकेका छन्। यसअघि कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री रहेका उनले चैत २४ एमाले संसदीय दलको समर्थन फिर्ताको निर्णय मानेको भन्दै पदबाट राजीनामा दिएका थिए। उनीसँगै सामाजिक विकास मन्त्री रहेका दल रावल र उद्योग मन्त्री बुढाले राजीनामा दिएका थिए।
बुढा राजीनामा दिइसकेपछि पनि सोही मन्त्रालयमा नियुक्त भए। उनले एकै मन्त्रालयको जिम्मेवारीमा सपथ ग्रहण गरेको तेस्रो पटक हो।
हाल खाली रहेका आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मा यसअघि कृषि मन्त्री रहेकी विमला केसीलाई दिइएको छ।
एमालेको माधवकुमार नेपाल समूहमा रही मुख्यमन्त्रीको पक्षमा ‘फ्लोर क्रस’ गरेका चारै जनालाई नेकपा एमालेले पार्टीबाट पनि हटाइसकेको छ।
एमालेका चार जना र माओवादी केन्द्रका एक जनाले सांसद पद गुमाएसँगै अब कर्णाली प्रदेश सभा ३५ सदस्यीय बनेको छ। जसमा एमालेका १६ जना (सभामुखसहित), कांग्रेसका ६, माओवादीका १२ जना र राप्रपाका एक जना सांसद् छन्।
नेकपा विवादका बीच माओवादीबाट सांसद् बनेका धर्मराज रेग्मीले एमाले रोजेपछि उनको पद पनि गएको थियो।