गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सभामुख नेत्रनाथ अधिकारीले माफी माग्नुपर्ने बताएका छन्।
प्रदेश सभा संचालनका विषयमा छलफल गर्न मंगलबार बसेको सभामुख र दलका नेताहरूको बैठकमा मुख्यमन्त्री गुरूङले उक्त माग राखेका हुन्।
प्रदेश सभाको विशेष अधिवेशन कार्यसूची अनुसार अघि नबढाई अनिश्चितकालका लागि स्थगित गरेको भन्दै मुख्यमन्त्री गुरुङ असन्तुष्ट छन्। प्रदेश सभा संचालन गर्न सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले मंगलबार दलका नेता र सभामुखबीच बैठक बस्ने सहमति गरेको थियो।
मुख्यमन्त्रीले उक्त माग राखेपछि सभामुख नेत्रनाथ अधिकारीले आफूले माफी माग्नुपर्ने कुनै आधार नभएको बताएका थिए।
‘मैले के गल्ती गरेको छु र माफी माग्न’, सभामुखको भनाई उदृत गर्दै एक नेताले भने, ‘सांसदको जीवन रक्षाको माग गर्दै निवेदन आएपछि हामी उहाँको जीवन रक्षा गर्न लाग्ने कि सभा संचालन गरेर बस्ने?’
प्रदेश सभामा टेबल भएको अविश्वास प्रस्तावमा वैशाख १५ गते मतदान गर्ने कार्यसूची थियो।
जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि सभामुख अधिकारीले बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए।
शाही सम्पर्कविहीन भएपछि जनमोर्चा सचेतक पियारी थापाले आफ्ना सांसदको जीवनरक्षा गर्न र सार्वजनिक गर्न माग गर्दै प्रदेश सभा स्थगन गर्न निवेदन दिएकी थिइन्।
कार्यसूचीमा उल्लेखित प्रक्रिया पुरा नगरी बैठक स्थगित गरेको भन्दै सत्तारुढ दल नेकपा एमालेका सांसद सभामुखप्रति असन्तुष्ट छन्।
सभा संचालन गर्न बसेको बैठकमा मुख्यमन्त्री गुरुङले कोरोना संक्रमणका कारण जारी लकडाउन खुलेपछि मात्रै बैठक संचालन गर्नुपर्ने बताएका थिए। पोखरामा मंगलबारदेखि सुरू भएको लकडाउन वैशाख ३१ गते सकिन्छ।
‘मुख्यमन्त्री ज्युले जेठ १ गते कार्यव्यवस्था समितिको बैठक बसौं र जेठ २ गते प्रदेशसभाको विशेष अधिवेशन चलाउँ भन्नुभयो’, बैठकमा सहभागी जनता समाजवादी पार्टीका नेता हरिशरण आचार्यले भने, ‘हामीले उहाँको प्रस्तावमा असहमति जनायौं।’
मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव ल्याएको नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र उक्त प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको जनमोर्चाका नेताले भने एक साताभित्र अधिवेशन बोलाउनुपर्ने बताएका थिए।
विपक्षीको प्रस्ताव एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री गुरुङले अस्विकार गरेको आचार्यले बताए।
‘त्यसो हो भने म बैठकमै आउदिनँ भनेर मुख्यमन्त्रीले भन्नुभयो’, आचार्यले सेतोपाटीलाई भने, ‘मुख्यमन्त्री र ठूलो दलका नेताले यसो भन्न हुँदैन, निकास दिनुपर्छ भनेर हामीले भन्यौं।’
मुख्यमन्त्री गुरुङ प्रदेशको अभिभावक समेत रहेको भन्दै उनले जिम्मेवारपूर्वक प्रस्तुत हुन आग्रह गरेको बताए।
‘बाबुले छोराछोरीलाई घुर्की लगाएर हुँदैन, तपाईले निकास दिनुपर्छ। अविश्वास प्रस्तावको सामना गर्छु भनेको मान्छेले सामना गर्नुपर्छ किन डराउनुहुन्छ ?’ बैठकमा मुख्यमन्त्री गुरुङलाई आचार्यले भनेका थिए।
बैठकमा प्रदेश सभा संचालनका विषयमा भने दलहरुबीच कुनै सहमति भएन। प्रदेश सभाको संचालन गर्न बुधबार दलहरूको बैठक बसेर आ–आफ्नो धारणा ल्याउने र बिहीबार कार्यव्यवस्था समितिको बैठक बस्ने सहमति भएको आचार्यले बताए।