प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउने प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामा पठाउने कि धरौटीमा छोड्ने भन्नेबारे सर्वोच्चका दुई न्यायाधीशको राय बाझिएको छ।
उनको मुद्दामा दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको राय बाझिएको हो।
न्यायाधीश खतिवडाले ३ करोड धरौटी मागेर तारेखमा छोड्ने आदेश गरेका छन् भने न्यायाधीश भट्टराईले भने थुनामा पठाउनु पर्ने आदेश गरेका छन्।
'लगभग समानस्थितिका प्रतिवादी मीनबहादुर गुरूङलाई यही मुद्दामा धरौटी लिई तारिखमा राख्ने विशेष अदालतबाट आदेश भएको समेत देखियो,' न्यायाधीश खतिवडाको इजलासले भनेको छ, 'विवादको प्रकृति, जग्गामा यी प्रतिवादीले हकप्राप्त गरेको गरिएका, लगभग समानस्तरका प्रतिवादीबाट धरौटी जमानत लिने गरी भएको अवस्था तथा अभियोग दाबीको स्थिति समेतका समयमा तत्काल प्रमाणका रोहमा विचार गर्दा निजलाई मुद्दामा पूर्पक्षका लगि थुनामा राख्नु मनासिव देखिएन। निजलाई तीन करोड धरौटी दिए थुनामुक्त गर्नु।'
बालुवाटार जग्गा प्रकरणका मुख्य पात्र भएकाले ढकाललाई थुनामै राख्न पर्ने राय न्यायाधीश भट्टराईको छ।
'राजधानीको मुटुमा रहेका सरकारी सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरी फाइदा लिने प्रसंगमा मिसिलबाट प्रमुख पात्र देखिएका यी निवेदकलाई अन्य प्रतिवादीहरूसँग तुलना गर्न नमिल्ने भई विषयवस्तुको गम्भीरता र निजउपर लागेको अभियोग समेतलाई दृष्टिगत गर्दा यी निवेदक शोभकान्त ढकाललाई थुनामा राखी पुर्पक्ष गर्ने गरी भएको आदेश परिवर्तन गर्नु परेन।'
अब उनको निवेदनमाथि तीन न्यायाधीशको इजलासले फैसला गर्नेछ।
विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामा पठाएको थियो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ढकालविरूद्ध ३९ करोड २८ लाख बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
ललिता निवास जग्गा प्रकरणमै ढकालकी पत्नी उमाकुमारी विशेष अदालतबाट धरौटीमा रिहा भएकी थिइन्।
प्रधानमन्त्री निवास बालुवाटार परिसरसँगैको १४ रोपनी सरकारी जग्गा अझै ‘भू-माफिया' शोभाकान्त ढकाल र अधिवक्ता राम सुवेदीको नाममा रहेको पाइएको थियो। अहिलेको बजार मूल्यअनुसार उक्त १४ रोपनी जग्गा झन्डै दुई अर्ब रुपैयाँ पर्छ।
उनीहरूले आफ्ना नाममा ल्याएका कैंयन रोपनी जग्गा अरूलाई बेचे पनि १४ रोपनी उनीहरूकै नाममा देखिएको थियो।
छानबिन समितिका एक सदस्यका अनुसार ढकाल र सुवेदीले अपचलन गरी आफ्ना नाममा ल्याएको सबैभन्दा धेरै जग्गा भाटभटेनी सुपरमार्केट, त्यसका सञ्चालक मीनबहादुर गुरूङ र उनका परिवारलाई बेचेका थिए।
त्यस्तै, मीनबहादुरका आफ्नै भाइ पहलमान गुरूङकी पत्नी सरलाको नाममा चार रोपनी जग्गा देखिन्थ्यो। भाटभटेनी सुपरमार्केटकै नाममा तीन रोपनी थियो।
ढकाल र सुवेदीका श्रीमती उमा ढकाल र माधवी सुवेदीका नाममा रहेको कित्ता नम्बर ३०९ र ३०१५ को आठ आना जग्गा एमाले नेता विष्णु पौडेलका छोरा नवीन पौडेलका नाममा पास भएको देखिन्छ।
प्रधानमन्त्री निवास परिसर बालुवाटारभित्र आफ्नो जग्गा रहेको दाबी गर्दै ढकाल र सुवेदीले सरकारबाट परिसरबाहिर अर्को जग्गा सट्टापट्टा लिएका थिए।
सम्बन्धित समाचार :
विष्णु पौडेलका छोरा अख्तियारका साक्षी!
बालुवाटार जग्गा प्रकरण : चार पूर्वमन्त्रीदेखि भाटभटेनीका सञ्चालकसम्मलाई भ्रष्टाचार मुद्दा
राम सुवेदीलाई ५३, शोभाकान्त ढकाललाई ३९ करोडको भ्रष्टाचार मुद्दा, अरूलाई कति ?
नेकपा महासचिव विष्णु पौडेलका छोरा र सर्वोच्चका न्यायाधीश रेग्मीले गरे बालुवाटारको जग्गा फिर्ता
बालुवाटारको जग्गा व्यक्तिका नाममा पुर्याएको भन्दै विजय गच्छदार र दीप बस्न्यातलाई भ्रष्टाचार मुद्दा