गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अल्पमतमा परेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएको बताएका छन्।
‘उहाँलाई अल्पमतमा परेछु भन्ने बल्ल लागेछ, त्यही भएर राजीनामा आयो’, उनले सेतोपाटीसँग भने, ‘तीन दिनभित्र हामी नयाँ सरकार बनाउँछौं।’
मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छिन्।
विपक्षी दलका नेता नेपालीले संसदको विशेष अधिवेसन मुख्यमन्त्री गुरुङको राजीनामासँगै निस्कृय भएको बताए। ‘मुख्यमन्त्रीले राजीनामा दिनुभयो, अब विशेष अधिवेसन निस्कृय भयो’, उनले भने।
संसदको हिउँदे अधिवेसन चल्दाचल्दै अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरुङले बैशाख १ गते प्रदेश सभाको अधिवेसन अन्त्य गरिदिएका थिए।
बैशाख २ गते अविश्वास प्रस्ताव संसद सचिवालयमा दर्ता गरेका विपक्षी दलहरुले त्यही प्रयोजनका लागि संसदको विशेष अधिवेसन आह्वान गर्न प्रदेश प्रमुखलाई निवेदन दिएका थिए।
सोही निवेदनका आधारमा बैशाख १३ गतेदेखि संसदको विशेष अधिवेसन चलेको थियो।
विशेष अधिवेसनमा बैशाख १५ गते अविश्वास प्रस्तावमाथि छलफल गरेर मतदानमा लैजाने कार्यसूची थियो। त्यही दिन राष्ट्रिय जनमोर्चा सांसद खिमबिक्रम शाही सम्पर्कविहिन भएपछि सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए।
जनमोर्चा सचेतक पियारी थापाले आफ्ना सांसद बेपत्ता भएको भन्दै संसद बैठक रोकेर शाहीको जीवनरक्षा गर्न र सार्वजनिक गर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएकी थिइन्।
सोही निवेदनका आधारमा सभामुख अधिकारीले सदन स्थगन गरेका थिए।
कार्यसूची अनुसार सदन अघि नबढाएको भन्दै एमाले साँसदहरु आक्रोशित बनेका थिए।
स्थगित सदन सुचारु गर्न बसेको दलहरुको बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबार अविश्वास प्रस्तावमाथि मतदान अघि बढाउने निर्णय गरेको थियो।
सदनमा अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि नै मुख्यमन्त्री गुरुङले आइतबार राजीनामा बुझाएका हुन्। प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै विपक्षी दलहरु नयाँ सरकार गठनको तयारीमा जुटेका छन्।
सोमबार हुने अविश्वास प्रस्तावमा मतदान गर्न आइतबार नै विपक्षी दलका सांसदहरु पोखराको होटलमा आएर बसेका थिए।
अविश्वास प्रस्तावमा मुख्यमन्त्री प्रस्तावित नेपालीले अब आफूहरु बहुमत सांसदसहित सरकार गठन गर्नतर्फ जुटेको बताए।